२० हजारले भरे स्नातकोत्तरमा प्राइभेट फारम
काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट फाराम भरेर पढ्ने विद्यार्थी बढेका छन्। यस वर्ष अन्तिम भनेर परीक्षा नियन्त्रण कार्यालयले फाराम भर्ने सूचना जारी गरेपछि विद्यार्थी आकर्षण बढेको हो।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यो वर्ष २० हजार भन्दा धेरै परीक्षार्थीले फाराम भरेका छन्। ‘उपत्यका बाहिरबाट संकलन भएको सम्पूर्ण फाराम आइसकेको छैन। आएपछि यकिन तथ्यांक भन्न सकिएला। तर प्रारम्भिक जानकारी अनुसार २० हजार भन्दा धेरैले फाराम भरेका छन् ।’
परीक्षा नियन्त्रण कार्यालयले प्राइभेटतर्फ स्नातकोत्तर तह प्रथम वर्षका लागि चैत दोस्रो साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरेको थियो।
सोमबार फाराम भर्ने अन्तिम मिति थियो। स्नातकोत्तर तहमा यस कार्यक्रम अन्तर्गत राजनीति शास्त्र र जन प्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) विषयमा मात्र परीक्षा दिन पाउँछन्।
अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए। क्याम्पस नगइ घरैमा बसेर पढेपछि परीक्षामा मात्र सहभागी हुन चाहने विद्यार्थीहरू यस्ता कार्यक्रमबाट लाभान्वित हुने गरेका छन्।
विशेषगरि सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा लागेका कर्मचारी, सेना, प्रहरी लगायतका सेवामा लागेकाहरुका लागि यो कार्यक्रम लोकिप्रय छ।
त्रिविले अहिले स्नातकोत्तर तहमा अधिकांश विषयमा सेमेष्टर प्रणाली लागू गरिसकेको छ। तर सेमेस्टर प्रणालीमा विद्यार्थीहरू नियमित रुपमा क्याम्पस हाजिर हुनुपर्छ। क्याम्पस हाजिर हुन नसक्नेको लागि यस्तो परीक्षा प्रणाली लोकप्रिय छ।
त्रिविले यसै वर्षदेखि यो कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको थियो। तर तत्काल बन्द नगर्न विद्यार्थीले दवाव दिएपछि त्रिविले परीक्षा फाराम खुलाएको हो।