प्रधानमन्त्रीको समृद्धि गफ र नारामै सीमित : देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देखाउन मिल्ने गरी सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबारबाट सुरु भएको संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै नेता देउवाले प्रधानमन्त्रीको समृद्धि गफ र नारामै सीमित भएको आरोप लगाए ।
प्रधानमन्त्री काम गरेर देखाउने ऐतिहासिक अवसरबाट चुकेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको दाबी छ । ‘सरकारले १४ महिनामा जनतामा आशा जोगाउने एउटा पनि काम गरेको छैन’, देउवाले भने, ‘जताततै निराशामात्र छ । प्रधानमन्त्रीले घोषणा गरेको समृद्धि गफ र नारामै सीमित भएको छ ।’
उनले कुहिरोभित्र हराएको कागको नियतिबाट बाहिर निक्लिएर सही बाटोमा हिँड्न सरकारलाई सुझाव दिए । सरकार एकपछि अर्काे भ्रष्टाचार काण्डमा फस्दै गएको उनको आरोप छ । बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गर्दा पनि सरकार कारबाही विपरित ढाकछोप गर्न लागेको उनको दाबी छ ।
‘निर्मला बलात्कारपछि हत्या प्रकरण, सुनकाण्ड, वाइडबडी अनियमिता हुँदै बालुवाटारको जग्गा भूमाफियाको कब्जामा पुगेको छ’, उनले भने, ‘तर, सरकार घटनाको ढाकछोप गर्दैछ, यसले जनताको धैर्यताको सीमा टुट्न थालेको छ । अबका वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस् । मेरो शुभकामना छ ।’
सभापति देउवाले संविधानविपरीत प्रधानमन्त्रीले अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्दै कांग्रेसले सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिए ।
‘आमनागरिकको लामो बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीको संरचनालाई भत्काउन सरकार उद्धत छ,’ उनले संसदमा भने, ‘संविधानप्रतिको तपाईंको आस्था विगतको योगदानबाट होइन, वर्तमानको व्यवहारबाट देखाउनुस् ।’
‘जनता निराश होइन खुसी’
सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने सरकार निरकुंश बन्दै गएको प्रतिपक्षीको आरोपको खण्डन गरे । उनले निरकुंशताविरुद्ध लडेर यहाँसम्म आइपुगेको भन्दै निरकुंशतामा जान नसकिने तर्क गरे । ‘कसैले चाहेर पनि निरकुंशता आउन नसक्ने व्यवस्था संविधानमा गरेका छौं’, संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले भने, ‘सरकार र प्रतिपक्ष मिलेर अहिलेको व्यवस्था बचाउन अगाडि बढौं ।’
सरकारका कामले जनतामा निराशा छाएको भन्ने प्रमुख प्रतिपक्षी दलका नेता देउवाको आरोपको पनि उनले खण्डन गरे । ‘सबैले अब जनताले अधिकारका लागि लड्नुपर्दैन भनिरहेका छन्’, उनले प्रश्न गरे, ‘यस्तो बेला जनता निराश छन् भन्नु कत्तिको जायज होला ?’
त्यसैगरी संघीय समाजवादी फोरमका संसदीय दलका उपनेता राजेन्द्र श्रेष्ठले संविधान संशोधन नभए सरकारसँगको सहकार्य टुट्न सक्ने चेतावनी दिए । उनले सरकारमा सहभागी हुने बेला गरिएको सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
‘हामी जुन बेला सरकारमा सामेल भएका थियौं, संविधान संशोधनसम्बन्धी दुई बुँदे सहमति गरेका थियौं, आजसम्म कुनै कदम चालिएन’, उनले भने, संविधान संशोधनको कुरा वेवास्ता गरिन्छ, सरकार तत्पर हुन्न भने सहकार्य टु्ट, यसतर्फ सरकारले समयमै ध्यान दिओस् ।’