पञ्चाबमाथि हैदराबादको सहज जित, चलेन गेलको ब्याट
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)को सोमबार रातिको खेलमा सनराइजर्स हैदराबादले किंग्स इलाभेन पञ्जावलाई ४५ रनले पराजित गरेको छ। जितसँगै हैदराबाले प्लेअफका लागि सम्भावना बलियो बनाएको छ ।
हैदराबादको घरेलु मैदान रावीज गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पञ्जाबले टस जितेर घरेलु टोली हैदराबादलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । पहिले ब्याटिङ गरेको हैदराबाले २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनायो । २१३ रनको लक्ष्य पाएको पञ्जाबले २० ओभर ८ विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो।
पञ्जावका लागि केएल राहुलले सर्वाधिक ७९ रन बनाए। यसअघिका खेलमा निरन्तर उत्कृष्ट इनिङ खेलिरहेका क्रिस गेल यस खेलमा जम्न सकेनन । ३ बलमा ४ रन बनाएर आउट भए । राहुलपछि मयन्क अग्रवालले २७ र निकोलास पुरनले २१ रनको योगदान गरे । कप्तान रविचन्द्रन आश्विन विना रन आउट भए।
यसअघि हैदराबादका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ८१ रन बनाए। आईपीएलको यस सिजनमा सर्वाधिक रन बनाएका वार्नरले १२ खेलबाट ६९२ रन बनाएका छन् । आइपीएलको जारी सिजनमा वार्नरको यो अन्तिम खेल हो। उनी विश्वकप क्रिकेटको तयारीका लागि अष्ट्रेलिया फर्कदैछन्। वार्नरपछि मनिष पाण्डेयले ३६, रिद्धिमान साहले २८, मोहमद नाबीले २०, कप्तान केन विलियमसनले १४ रन जोडे ।
जितपछि १२ खेलबाट १२ अंक बनाएको हैदराबाद अंक तालिकाको चौथौ स्थानमा छ । सुरुका खेलमा लगातार जित निकालेको पञ्जाबका लागि पछिल्ला खेलमा लगातार हार व्यहोर्दा प्लेपअफमा पुग्न कठीन देखिएको छ ।