संकीर्णतामा लोकतन्त्र फस्टाउँदैन
आधुनिक संसारमा राजनीतिको उत्कृष्ट पद्धति लोकतन्त्र मानिएको छ । जसमा विधिभित्र रहेर भरपूर स्वतन्त्रताको उपभोग गर्न पाइन्छ । यति हुँदाहुँदै पनि भोकले छटपटिएका पेट र चिसोले कठ्यांग्रिएका शरीरको बन्दोबस्त नहुँदासम्म यसले पूर्णता पाउँदैन । जबसम्म नागरिकको न्यूनतम आवश्यकता पूर्ति हुने बाटो बन्द हुन्छ तबसम्म विकास र समृद्धि नारामा मात्र सीमित हुन्छ । जुन अहिले नेपाली समाजले भोग्दै आएको छ । घरको मूल व्यक्ति सही हुँदा ऐश्वर्य प्राप्त भई सम्पन्नता हात लाग्छ । अभिभावक खराब भए कलह निम्तिन गई परिवार नै छिन्नभिन्न हुन्छ । त्यसैगरी मुलुकको प्रगतिमा पनि कुशल नेतृत्व र सही व्यवस्थापनको आवश्यकता पर्छ । प्रणाली लोकतान्त्रिक भएर मात्र हुँदैन । सक्षम नेतृत्वको अभावमा कैयन् मुलुक विनाशको दलदलमा भासिएको उदाहरण विश्व राजनीतिले देखाएको छ ।
लोकतन्त्र अनुशासन र नैतिकतामा टिकेको हुन्छ । अनुशासनविना लोकतन्त्रको अर्थ रहँदैन । स्कन्दपुराणले भनेको छ, ‘ऐश्वर्य र विद्याजति पाए पनि नम्रता भएन भने मानिस पतनतर्फ उन्मुख हुन्छ ।’ यहाँ राजनीतिमा अनुशासन हरायो । शालीन एवम् संस्कारयुक्त अभिव्यक्ति कुशल शासकको परिचय हो । यसतर्फ राज्य सञ्चालकहरूको ध्यान पुगेन । मुख्य व्यक्तिमा त्याग, निष्ठा र सेवाभाव हुनुपर्छ । हिजो निष्ठाको शिक्षा पाएका पात्रहरू आज धन र पदमा निर्लिप्त भए । लोकतन्त्र पुनः प्राप्तिसँगै मालिक बन्ने होड तीव्र रूपमा पालियो । शाही शासनका बेला टंक ढकालहरू जनआवाज बन्द गर्न उफ्री उफ्री चिच्याउँथे । अहिले गोकुल बास्कोटा प्रवृत्तिको उग्रता थेगिनसक्नु छ । भाग खोसिन्छ जस्तो गरी नागरिक होच्याउन उद्यत् छन् उनीहरू । काममा सिन्को पनि नभाँच्ने रचनात्मक विरोधका स्वर पनि सुन्न नसक्ने यो कस्तो लोकतान्त्रिक चरित्र हो ?
यहाँ आर्थिक मुद्दा ज्यूँका त्यूँ छन् । मुखले समृद्धि भने पनि यथार्थमा जनताले थाहा पाउने गरी कुनै काम हुन सकेन । राष्ट्रियताको प्रश्न कति कमजोर बनाइयो भने विदेशीले प्रश्न गर्दा हाम्रो पहिचान यही हो भन्ने ठाउँ छैन । हिन्दु देश भनेर चिनिन्थ्यो । त्यसलाई पनि सिध्याइयो । राष्ट्रिय पोसाक हटाइयो । धर्म मासियो । चालीस लाखभन्दा बढी युवा मलेसियाको गर्मीमा रगत–पसिना बगाउन विवश छन् । यता शासकहरू भने विगत १२ वर्षदेखि आँखा चिम्लेर उपलब्धिको रटान रट्न तल्लीन छन् ।
जनताको स्तर हिजोभन्दा आज खस्किएको छ । रेमिट्यान्स नभित्रिने हो भने मुलुक चल्न सक्दैन । केही नेता र आसेपासेलाई उपलब्धि भयो होला ! आम नेपालीलाई न उपलब्धि थाहा छ न अनुभूति नै गर्न पाएका छन् । जुन दिन सहजसँग जीवन निर्वाह गर्ने अवसर प्राप्त हुन्छ, तब मात्र नागरिकले उपलब्धिको सान्दर्भिकता ठान्नेछन् । अन्यथा पसिनाको कमाइमा जथाभावी कर असुल्दै कार्यकर्ता पोस्ने प्रवृत्तिलाई उपलब्धि मान्न सकिँदैन ।
नेतृत्व सबल र सक्षम हुँदा मात्र राजनीति अनुशासित र मर्यादित बन्छ ।
हिजो जनतामा एकता थियो । विखण्डनको आवाज थिएन । आज जेजेमा उपलब्धि ठानियो त्यहींबाट विखण्डनका खोपिल्टा देखा परे । नेतृत्वको अकर्मण्यताले मुलुकको अखण्डतामा समेत हेलचेक्र्याइँ भएको छ । राजनीतिप्रति युवाहरूको आकर्षण घट्दो छ । लोकतन्त्रमा यस्तो हुन शुभ मानिँदैन । जनताको दिनचर्या सुधार्न यो सरकार पनि सफल भएन । उसले आशा मात्र देखायो । भरोसाको एउटा पनि ठाउँ राखेन । सरकार कामभन्दा बढी प्रचारमा लाग्यो । हल्ला गर्नुभन्दा पहिला काम हुनुपर्छ । विगत ३० वर्षदेखि उपत्यकावासीले मेलम्चीको बाटो हेरे, तर मेलम्ची आएन ।
गएको दुई वर्षदेखि पानी ल्याइने नाममा काठमाडौंका सडक फुटाएर अस्तव्यस्त पारियो । जथाभावी खाल्डो खन्दा नागरिकले सास्ती खेप्नुपरेको छ । दुईतिहाइको सरकारले मेलम्चीको पानी ल्याउला भन्ने जनअपेक्षा थियो । उसले पनि म्याद मात्र थमायो । अहिलेसम्म न मेलम्ची आयो न भत्काइएका बाटाघाटा सम्याउने काम भयो । भगवान् कृष्णले महाभारतमा भन्नु भएजस्तै ‘जस्तो राजा उस्तै कारिन्दा’ देखा परे यहाँ । अर्थात् शासकले जे गर्छन् उसका वरिपरिकाले त्यही सिक्छन् । उनीहरूको दम्भको प्रतिफल जनताले कष्टकर जीवन गुजार्नुपर्छ । अहिले मुलुकमा यही तथ्य चरित्रार्थ भएको छ । सरकारले अरू केही नगरे पनि सडकका खाल्डाखुल्डी मात्र पुरिदिए निर्वाचनमा खसाएको मतपत्रको सार्थकता हुने थियो ।
सुसंस्कृत एवम् सक्षम नेतृत्व हुँदा मुलुकले समृद्धि हासिल गर्छ । यहाँ त्यसो हुन सकेन । दक्षता र क्षमताको अवमूल्यन गरियो । दल र नेताका आसेपासेमा राजनीतिलाई सीमित बनाइयो । जसले गर्दा चौतर्फ लथालिंग छ । घर हुनेले लाजै नमानी घर भाडा लिन्छन् । दोहोरो–तेहेरो इन्धन खर्च बुझेका छन् । वाइडबडीदेखि पर्खाल सारेर बालुवाटार कब्जा गर्नेसम्मको गतिविधि राजनीतिकै आडमा भएको छ । यी त केही दृष्टान्त मात्र हुन् । राजनीतिमा अनुशासन र नैतिकता नहुँदाको परिणति यस्तै हुन्छ ।
लोकतन्त्रका नाममा राजनीतिक नेतृत्व छाडा भयो । कार्यकर्ता नवमण्डलेमा रूपान्तरण भए । अगुवाहरूको चालचलन र आनीबानीमा राष्ट्रको भविष्य गाँसिएको हुन्छ । त्यसप्रति यहाँको नेतृत्वले सिक्ने चेष्टासम्म गरेन । ईश्वरको रचनामध्ये मानिस सर्व श्रेष्ठ प्राणी हो । राम्रो–नराम्रो छुट्ट्याउने सामथ्र्य मानिसमा मात्र हुन्छ । स्वार्थ र लोभमा गाँजिएको हुँदा राजनीतिले निकास पाउन सकेन ।
कल्पनाले क्षणिक भए पनि दिमागमा मीठो तस्बिर सजाउँछ तर त्यसको शक्ति बलवान् हुँदैन । त्यो केवल कल्पनामा मात्र सीमित रहन्छ । नेताहरूले सपना सजाउनुभन्दा यथार्थमा आउन सक्नुपर्छ । जे काम गर्नु छ सर्वप्रथम त्यसको नक्सा कोरिनुपर्छ । काम फत्ते गर्न दृढ संकल्पित हुनुपर्छ । उदाहरणका लागि एउटा घर बनाउने व्यक्तिले मानभित्र अठोट लिई लागिपर्दा छोटो समयमै घर निर्माण गर्छ । घरका नाममा महलको कल्पनामा तरंगियो भने उसको घरको सपनासमेत तुहिन्छ । त्यस्तोमा उसको न घर बन्छ न कल्पनाको महल ठडिन्छ । आज नेपाली शासकहरू यसरी नै कल्पनाको घोडा दौडाउन अभ्यस्त भए । यथार्थमा त्यस्तो सोच र प्रवृत्तिले मुलुकलाई समृद्धिभन्दा दुर्गतितिर धकेल्छ ।
यसबाट पार पाउन नेतृत्व स्वच्छ र सफा हुनुपर्छ । जनभावनाअनुसार अघि बढ्न शासकहरू तयार हुनुपर्छ । नेतृत्व सबल र सक्षम हुँदा मात्र राजनीति अनुशासित र मर्यादित बन्छ । यही धरातलीय यथार्थ आत्मसात गर्दै अघि बढ्ने प्रेरणा शासकहरूले प्राप्त गरून् ।