१० जनाको ज्यान लिने हुम्लाको फ्लू नियन्त्रण हुँदै

१० जनाको ज्यान लिने हुम्लाको फ्लू नियन्त्रण हुँदै

 

सुर्खेतः तीन सातामा १० जनाको ज्यान जानेगरी हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउन थालेको छ। संक्रमण सुरु भएको तीन सातापछि चिकित्सकहरु पुगे पनि उपचारमा विशेष ध्यान दिँदा दुई दिनमै फ्लू नियन्त्रणमा आउन थालेको चिकित्सकले बताएका छन्।

आइतबार पुगेका चिकित्सकहरुले शिविर संचालन गरेर बिरामीहरुको जाँच सुरु गरेका थिए। शनिबारसम्म नौ जनाको मृत्यु भएकोमा पुनः आइतबार राती थप एक जनाको मृत्यु भएको थियो। पहिल्यैदेखि शिरियस भएका बिरामीको ज्यान गए पनि अब गम्भीर प्रकृतिका बिरामीहरु नभएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

सोमबार बिहान आठ बजेदेखि संचालन गरिएको शिविरमा आउने अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो र झाडापखालाको संक्रण देखिएको चिकित्सक डा. के एन पौडेलले जानकारी दिए। 

चिकित्सकहरुले एक्कासी पुरै गाउँपालिका नै चपेटामा आएपछि स्वाइन फ्लुको शंकासमेत गरेका छन्। ‘हामीले स्वाइन फ्लु हो कि भन्ने आशंका गरेका छौं, आइतबार र सोमबार त्यस्ता गम्भीर बिरामी आएका छैनन्’ उनले भने, ‘हेलिकप्टर नआएकाले पनि परीक्षणका लागि नमूना पठाउन सकेका छैनौं, आज संकास्पद व्यक्तिको खकार संकलन गरी परीक्षणका लागि सुर्खेत पठाएपछि मात्रै कुन रोगको संक्रमण हो थाहा हुन्छ।’ तर शिविरमा आउने बिरामीहरुको अवस्था हेर्दा फ्लुको संक्रमण बिस्तारै नियन्त्रणमा आउन थालेको उनको भनाइ छ। 
    
तीन समूहमा बिरामी खोज्दै
    
भौगोलिक दुरीका हिसावले एकै ठाउँमा बोलाएर उपचार गर्न नसक्ने भएपछि चिकित्सकको तीन टोली बनाएर उपचार सुरु गरिएको छ। प्रदेश अस्पताल सुर्खेत र मुगुबाट गएका चिकित्सकसहित स्वाथ्यकर्मीहरुले तीन समूह विभाजन गरी छुट्टाछुट्टै ठाउँमा शिविर संचालन गरी बिरामीको जाँच गरिरहेको डा. पौडेलले जानकारी दिए।
    
सबैभन्दा बढी प्रभावित रहेको वडा नम्बर १ को भैसामाझमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा डा. केएन पौडेल र केशव अधिकारीको टोली खटिएको छ। यस्तै डा. टेकराज भट्टराइको टोलीले वडा नम्बर ४ र ५ को बीचमा पर्ने गोठेलबाडामा शिविर संचालन गरिएको स्वास्थ्य चौकी ताँजाकोटका अहेब मोतिलाल जैशीले जानकारी दिए। वडा नम्बर २ को महिला स्वास्थ्य चौकीमै शिविर संचालन गरेर बिरामीको परिक्षण गरिएको छ। 
    
अहेब जैशीका अनुसार बिरामी मात्रै नभएर गाउँभरिका अन्य मानिसहरु पनि उपचारका लागि शिविरमा आइरहेका छन्। बिहान ८ बजदेखि उपचार सुरु गरेपछि साँझ सात बजेसम्म गाउँलेहरुको भीड लागेको देखिन्छ। ‘स्वास्थ्य संस्थामा भनेजस्तो औषधी पाइँदैन, सदरमुकाममा उपचारका लागि जानमात्र तीनदिन लाग्छ,’ अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘पहिलो पटक गाउँमा विशेषज्ञ डाक्टर देखेपछि गाउँका सबै मानिस उपचारका लागि आएका छन्, डाक्टरहरुलाई गाउँलेले खुशीका साथ धन्यवादसमेत दिइरहेका छन्।’ 
    
ताजाँकोटका नागरिकलाई सामान्य उपचारका लागि सदरमुकाम जानु परेमा कम्तिमा ४० हजारसम्म खर्च हुने गरेको छ। ठूलो रोग लागेमा लाखौं खर्च गरेर सुर्खेत तथा नेपालगन्ज जानुको विकल्प नभएका नागरिकलाई पहिलो पटक गाउँमै विशेषज्ञ डाक्टर पुगेपछि बिरामी बाहेकका नागरिक पनि उपचारका लागि भीड लागेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए। 
    
पटक–पटक झाडापखालाले लिन्छ ज्यान

ताजाँकोटमा एकै पटक भाइरल प्रकोपबाट यति धेरैको ज्यान गएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटक–पटक विभिन्न प्रकोपका कारण दर्जनौंले ज्यान गुमाएका छन्। स्थानीय नरजित खड्काका अनुसार गाउँमा पटक–पटक झाडापखालाको प्रकोप देखिने गरेको छ। विसं २०४८ सालमा झाडापखालाको प्रकोप फैलिँदा एक महिनामा २७ जनाको मृत्यु भएको उनले बताए। 
    
‘२८ वर्ष अगाडि गाउँमा झाडापखाला लाग्दा महिनामै २७ जना मरे, जडीबुटी गर्नुको उपाय थिएन’ उनले भने, ‘बिरामी नपरेका मानिसहरु पनि मर्ने डरले गाउँ नै छाडेर भाग्नुपरेको थियो।’ यस्तै, २०६४ सालमा पुनः झाडापखालाको संक्रमण फैलिएपछि एक सातामै सात जनाको ज्यान गयो। पछि केन्द्र सरकारको पहलमा हेलिकप्टरमार्फत चिकित्सक र औषधी ल्याएपछि मात्रै रोग नियन्त्रणमा आएको थियो। 

‘सुरुमा रोग लाग्दा सामान्य नै मान्छौं, तर पछि ठूलो रुप लिएपछि चिकित्सक आउनेबलासम्म धेरैको मृत्यु भइसकेको हुन्छ’ उनले थपे, ‘गाउँमा राम्रो औषधी नै पाइँदैन, सदरमुकामबाट आउन तीन दिन लाग्छ। उपचार नपाएर हामी दुर्गमका मानिसले ज्यान गुमाउनुपर्छ।’ 

यस्तै गाउँमा खोनपानी अभाव छ। ताँजाकोटमा अधिकांश गाउँमा एउटा मात्रै खानेपानीका धारा छ। खानेपानीको अभाव हुँदा अधिकांशले खोलाको पानीले नै प्यास मेटाउने गरेको खड्काको भनाइ छ। खोलाको दुषित पानी खाँदा पटक–पटक झाडापखालाको संक्रमण देखिने गरेको छ। 
    
न चामल बचे न बिरामी नै 
    
शैक्षिक चेतनाको अभावमा ताँजाकोटका अधिकांशले अहिले पनि उपचारको लागि धामी झाँक्री नै गुहार्ने गरेका छन्। विगतमा प्रकोप हुँदा धामी गुहार्दा दर्जनौंको ज्यान गएको अनुभव भए पनि गाउँमा सुविधासम्पन्न अस्पताल नहुँदा धामीकै शरणमा पुग्ने गरेका छन्।  
    
चैत्र २६ गतेबाट मान्छे मर्न सुरु भए पनि रोगको पहिचान नहुँदा अधिकांश स्थानीयहरु उपचारका लागि धामीकै शरणमा पुगे। लामो समयसम्म धामी झाँक्री गराउने र स्वास्थ्य चौकीमा सामान्य उपचार मात्रै गराउँदा शनिबारसम्म नौ जनाको ज्यान गएको अर्का स्थानीय तारा खत्रीले बताए। 

‘अस्पतालमा नाम लेखाएर सिटामोल बाहेक अरु केही पाइँदैन’ उनले भने, ‘त्यसपछि हामी सबै धामी झाँक्री नै गर्न लाग्यौं, धेरै समयपछि प्रकोप बढेपछि मात्रै गाउँपालिकालाई जानकारी गराएका थियौं।’ 

मौसमी फ्लुको संक्रमण फैलिएपछि हरेक दिन गाउँमा धामी बसाउने र हेराउने काम भएको उनको भनाइ छ। ‘सुर्खेतबाट डाक्टर नआउँदासम्म हामीले प्रत्येक राती घरमा धमेलो(धामी) बसालेर हेराउने काम ग¥यौं’ उनले थपे, ‘दैनिक धामी बसाल्दा चामल चढाउनुपर्छ, न त हाम्रो चामल नै बच्यो। न बिरामी नै बचाउन सकियो।’ सुविधासम्पन्न अस्पताल नहुनु र सदरमुकामसम्म पहुँच नभएपछि धामी बसाउनुको विकल्प नभएको उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.