गद्दीत्याग गर्दै जापानी राजा
एजेन्सी : जापानी राजा आकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गर्दै छन्। ८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।
आकिहितोले राजगद्दी त्याग भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन्। अर्थात् मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ। मे १ बाट जापानमा नयाँ शाही युगको सुरुवात हुँदैछ।
यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ। सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका थिए। सुगाले हस्तलिखित वर्णमालाको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम 'रेईवा' सार्वजनिक गरेका छन्। हाल जापानमा 'हेइसी' युग चलिरहेको छ।तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ।
जापानमा सम्राट अनुसार युगको नामांकरण गरिन्छ।प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नका लागि देशबासीको नाममा सम्बोधन गर्नेछन्। आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताएका छन्।जापानमा गरिएका मत सर्वेक्षणले अधिकांश जापानीले सम्राटको गद्दी त्याग्ने मनसायको समर्थन गरेका थिए।त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो।
सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दी सम्हाल्न लागेका नारुहितो जापानका १२६ औं सम्राट हुनेछन्। उनी गद्दीनसीन भएपछि जापान 'रेईवा' युगमा प्रवेश गर्नेछ। युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन्।
नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन्। त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन्।