त्रिशूलीमा बगेर बालक वेपत्ता
नुवाकोट : त्रिशूली नदीले बगाएर चार दिनदेखि नुवाकोटका एक बालक वेपत्ता भएका छन्।शनिबारदेखि बेपत्ता भएका बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
किस्पाङ गाउँपालिकाको भाल्चे घर भई तीन वर्षदेखि नुवाकोटको विदुर नगरपालिका-४ सिमचौरमा बस्दै आएका राजेन्द्र तामाङका साढे तीन वर्षीय छोरा आले तामाङ डेरादेखि एकसय मिटर पश्चिम दूरीको त्रिशूली नदीमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उनको खोजीमा स्थानीयवासी, बाकका आफन्त प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएपनि नदीमा वहाव बढेपछि फेला पार्न नसकिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
आफन्तसँगै त्रिशूली नदीमा पुगेका आले त्रिशूली नदीमा पस्ने वित्तिकै डुबेका थिए।उनका बावुले सदरमुकाम विदुरमा ज्याला मजदुरी गर्दै आएका छन्।