कस्ता छन् जापानका नयाँ सम्राट नारुहितो
एजेन्सी
युवराज्ञी मासाकोसहित युवराज नारुहितो अध्ययनशील, गम्भीर, परिश्रमी मानिन्छन्। युवराज नारुहितोसँग प्रेमविवाह गर्नुअघि युवराज्ञी मासाको कूटनीतिज्ञ थिइन्।
गद्दी त्याग्ने निर्णयको विरोध
अधिकांश जापानीले गद्दी त्याग्ने सम्राट अकिहितोको चाहनाप्रति सहानुभूति देखाए। तर प्रधानमन्त्री सिन्जो आबेको कन्जरभेटिभ पार्टीलगायत परम्परावादीले सम्राटको निर्णयको विरोध गरे।
केहीले त सम्राटको गद्दी त्यागले नयाँ र पुराना अर्थात् पिता अकिहितो र युवराज नारुहितोबीच नै असझदारी उत्पन्न हुनसक्नेसम्म पनि अनुमान गरे।
यति मात्र नभएर पुरुष मात्र राजा हुने परम्परा रहेको जापानमा महिला राजगद्दीमा बस्ने हुन् कि भन्ने सोचले नै परम्परावादी आतंकित भए। युवराज नारुहितोकी एउटी छोरी आइको मात्र छन्।
अर्कोतिर युवराज नारुहितोको छोरी मात्र भएकाले राजगद्दीको उत्तराधिकारी महिलामा पनि जानुपर्छ भन्ने सुधारवादी आवाज पनि उठ्यो। तर परम्परावादीले त्यस्ता सुधारवादी स्वरहरू बहिष्कार गरे।
बाटो खुल्यो
निकै जना विज्ञसँग छलफल गरेपछि जापानी संसद्ले सन् २०१७ जुनमा एउटा विशेष ऐन पारित ग¥यो। ऐनले सम्राट अकिहितोलाई राजगद्दी त्याग्ने बाटो खोलेको थियो। जापानको इतिहासमा २ सय वर्षयता कुनै सम्राटले गद्दी त्याग्न लागेको यो पहिलो घटना थियो।
हुन त यो विशेष कानुन सम्राट अकिहितोका लागि मात्र लागू हुन्छ। तर शोधकर्ता, सरकारी अधिकारी र कानुनविद् यो कानुनले जापानी इतिहासमा नजिर स्थापना गरेको बताउँछन्।
अकिहितोभन्दा पहिले सन् १८१७ मा तत्कालीन सम्राट कोकाकुले युवराजलाई गद्दी हस्तानतरण गरेका थिए । उनले सन् १७८० देखि १८१७ सम्म राज्य गरे।
‘जोको’ र ‘जोकोगो’
गद्दी त्यागेपछि अकिहितोलाई ‘जोको’ भनिनेछ, जसको अर्थ ‘अवकाशप्राप्त सम्राट’ हुन्छ। त्यस्तै मिचिकोलाई ‘जोकोगो’ पुकारिनेछ, जसको अर्थ हुन्छ ‘अवकाशप्राप्त साम्राज्ञी’।
गद्दी त्यागपछि सम्राट अकिहितो र साम्राज्ञी मिचिकोले अहिले बसिरहेको राजप्रासाद छाड्ने छन्। उनीहरू तोगु दरबार नजाउन्जेल अर्को दरबारमा बस्नेछन्। अकिहितो–मिचिको सम्राट हुनुअघि तोगु दरबारमा बस्थे। अहिले भने उनीहरूका लागि दरबारको मर्मत भइरहेको छ।
सम्राट अकिहितोको मुटुको शल्यक्रिया भइसकेको छ। उनको प्रोस्टेट क्यान्सरको पनि उपचार भइसकेको छ। त्यसपछि नै उनले कमजोर स्वास्थ्यका कारण राजकीय काम कर्तव्य पूरा गर्न कठिन हुने भन्दै गद्दी त्याग्ने मनसाय प्रकट गरेका थिए।
नारुहितो कस्ता छन् ?
५९ बर्से युवराज नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो सम्राट हुनेछन्। यतिमात्र होइन उनी पहिलो सम्राट हुनेछन् जो पूर्णतया आफ्ना अभिभावक (आमबुवा) को काखमा मात्र हुर्किए।
उनी औपचारिक तवरबाट कुनै पनि विश्वविद्यालयमा अध्ययन गरी स्नातक हुने पनि पहिलो सम्राट बन्नेछन्। यसका साथै उनी पहिलो जापानी सम्राट हुनेछन्, जसले विदेशमा उच्च शिक्षा हासिल गरेको छ।
जापानी इतिहासमा करिब २ सय वर्षयता कुनै सम्राटले गद्दी त्यागेको यो पहिलो अवसर हो र नारुहितो त्यसयता गद्दी त्यागपछि पिता जीवितै हुँदा राजगद्दी सम्हाल्ने पहिलो सम्राट बन्नेछन्। उनका पिता सम्राट अकिहितोले अप्रिल ३० मा गद्दी त्यागेपछि मे १ मा उनी सम्राट बन्नेछन्।
‘जब म आगामी दिन सम्झन्छु अनि म राजकीय भारले थिचिएको अनुभव गर्छु’, युवराज नारुहितोले गत फेब्रअरीमा जन्मदिन मनाउँदा पत्रकारमाझ भनेका थिए।
बटुवासँग सेल्फी
युवराज नारुहितो अवकाश लिन लागेका सम्राट अकिहितोका ३ सन्तानमध्ये जेठा हुन्। जापानी राजपरम्पराअनुसार उनी धाईआमा, नर्स र शिक्षकहरूको छत्रछायाँमा हुर्किएनन्।
उनलाई साम्राज्ञी मिचिको आफैंले हुर्काइन्। साम्राज्ञी मिचिको राजपरिवार सर्वसाधारणसँग नजिकिन सामान्य जापानीले जस्तै नारुहितोका लागि आफैं खाजा बनाएर स्कुल पठाउने गर्थिन्।
मध्यकालीन युरोपेली जल यातायात विषयको विद्यार्थीका रूपमा युवराज नारुहितोले अक्सफोर्ड विश्वविद्यालयमा २ वर्ष अध्ययन गरेका छन्। उनले अक्सफोर्डमा पढ्दाको समय जीवनकै सबैभन्दा रमाइला क्षण भनेर बताउने गरेका छन्।
युवराज नारुहितो मिजासिला र मिलनसार रहेको प्रमाण केही वर्षअघि डेनमार्क भ्रमणका क्रममा दिएका थिए। उनले बटुवाहरूसँग सेल्फी खिचाएका थिए।
परिवारप्रति समर्पित
युवराज नारुहितो आफ्नो परिवार र पत्नी मासाकोप्रति अत्यन्त समर्पित छन्। उनले राजदरबारको परम्परा तोडेर कूटनीतिज्ञ मासाको ओवादासँग प्रेम विवाह गरे। अहिले मासाको ५५ वर्षकी भइन्। उनले मासाकोलाई पहिलोपल्ट एउटा कन्सर्टमा देखेका थिए।
तर मासाकोले उनका सुरुवाती प्रेम प्रस्ताव धेरैपल्ट अस्वीकार गरिन्। त्यसपछि मात्र उनीहरूबीच निकै वर्ष प्रेम सम्बन्ध रह्यो । जुन अन्ततः दरबारले स्वीकार गरेपछि दाम्पत्यमा परिणत भयो।
नारुहितो–मासाको बिहेको करिब एक दशकपछि सन् २००३ को अन्त्यतिर मासाको सार्वजनिक कार्यक्रममा देखिन छाडिन् वा सर्वसाधारणको नजरबाट ‘लोप’ भइन्।
यसलाई परम्परागत औपचारिक शाही कर्तव्यको बोझ र उनका आकांक्षा तथा व्यक्तिगत जीवनबीच तादाम्यता गर्न नसक्दा उब्जेको ‘एडजस्टमेन्ट डिस्अर्डर’का रूपमा व्याख्या गरियो। यसलाई राजगद्दीको पुरुष उत्तराधिकारी जन्माउन दरबारले उनीमाथि दिएको दबाबको परिणाम वा विरोध भनेर पनि अथ्र्याउने गरिन्छ। तर पछिल्लो समय भने सार्वजनिक कार्यक्रममा उनको उपस्थिति बढेको छ।
युवराज नारुहितोले समेत कुनै बेला पत्नीको प्रतिरक्षा गर्दै युवराज्ञी मासाको आफ्नो व्यक्तित्व र करियर त्यागेर दरबारिया परम्परा र चालचलनमा अभ्यस्त हुने प्रयासबाट थाकिसकेको बताएका थिए। उनको भनाइबाट जापानीहरू आश्चर्यचकित भएका थिए।
युवराज नारुहितोको यस्तो ठाडो सार्वजनिक अभिव्यक्तिमा भाइ अकिसिनोले उनलाई झपारेका थिए भने सम्राट अकिहितोले यस्तो गुनासो दरबारबाहिर छताछुल्ल पारेकोमा दुःखमनाउ गरेका थिए।
युवराज नारुहितो आधुनिक कालमा आफूपछि पुरुष उत्तराधिकारी नभएका पनि पहिलो सम्राट हुनेछन्। उनकी एउटी छोरी आइको अर्थात् प्रिन्सेस तोसी छिन्। आइको १७ वर्षकी भइन्।
प्रकृतिप्रेमी
वातावरणका मुद्दा उठाउने युवराज नारुहितोले कैयौं अन्तर्राष्ट्रिय सम्मेलनमा स्वच्छ र सफा खानेपानीको उपलब्धताबारे कुरा उठाएका छन्। उनले सन् २०१५ संयुक्त राष्ट्र संघसँग सम्बन्धित सल्लाहकार समितिमा जल र सरसफाइबारे सुझाव दिएका थिए।
उनले जलवायु परिवर्तनका मुद्दामा काम गर्न सक्ने संकेत दिएका छन्। युवराज्ञी मासाकोले दुव्र्यवहारमा परेका, कठिन स्थितिमा जीवनयापन गरिरहेका र विपन्न जापानी बालबालिकाबारे बारम्बार चासो देखाउनुका साथै चिन्ता व्यक्त गर्दै आएकी छन्।
‘जब म मेरो भविष्य (साम्राज्ञी भएपछि) बारे सोच्छु, म बुझ्दिनँ म कसरी उपयोगी हुन सक्छु’, युवराज्ञी मासाकोले सन् २०१८ मा आफ्नो जन्मदिनमा भनेकी थिइन्, ‘यतिका वर्ष सम्राट साम्राज्ञीका मौसुफमा रहेपछि भविष्यमा पनि उहाँहरूको मार्ग निर्देशनमा म युवराजलाई सहयोग गर्नुका साथै राष्ट्रको सुख समृद्धिका लागि काम गर्नेछु।’