किसान र बजारका सेतु
चर्चित रेस्टुरेन्ट। चेन होटेल व्यवसाय ठीकठाकै चलेको थियो। रेस्टुरेन्टका मुख्य परिकल्पनाकार ध्रुव न्यौपाने (४०) मा कृषि व्यवसाय गर्ने ‘भूत’ चढ्यो। परिवारमा कुरा राखे। ठीक छ र छैनमा कुरा मिलेन। फेरि कुरा गरे, सहमति आएन। उनले पटकपटक दोहोर्याए। उनको कुरा सुन्ने कोही भएन।
पछि उनले एकल निर्णय गरे, गाउँको कृषि उत्पादन सहर ल्याएर बेच्छु। पूर्वदेखि पश्चिम नेपालका पहाडी गाउँ चहारेर कृषिको सम्भावना देखेका उनी होटेल र कृषि सँगसँगै लैजाने योजनामा थिए। महिना दिन लगाएर अध्ययन गरे। जता हेर्यो, उतै अवसर। हिम्मतिला ध्रुवको मनमा लड्डु फुटिरहेका थिए, जसलाई पूरा गर्न होटेलको जिम्मेवारीबाट बाहिरिए।
गुल्मीको छत्रकोटमा हुर्किएका उनी जेटीए पढ्न टीकापुर कैलाली पुगेका थिए। पैसा तिरेर पढ्ने हैसियत थिएन। २०५८ मा डाक्टर बन्ने अवसरको छात्रवृत्ति त्यागे। पशु डाक्टर बन्ने सपना त्यागेर होटेल व्यवसायमा प्रवेश गरेका उनी फेरि कृषिमै फर्किए। होटेल व्यवसायजस्तै कृषिमा जम्नु कम्ता चुनौती थिएन। त्यसको सामना पहिलो गाँसमै गर्नुपर्यो। उनी गुल्मीको बलेटक्सार पुगे। उनी हुर्किंदाको सानो सहर। जहाँबाटै उनले भविष्यको आधार बनाउँदै थिए। उनी कृषि पसल चलाउन जग्गा खोज्दै बलेटक्सार के पुगेका थिए, फेरि पुरानै आरोप आयो। ‘ध्रुव त बौलाएछ कि क्या हो, होटेल छाडेर तरकारी बेच्छु भन्दै आएको छ,’ गाउँलेका गाइँगुइँ सुने। तर रफ्तार छाडेनन्।
माटोमै खेलेर हुर्किएका उनलाई किसानी नौलो थिएन। तर अरूको उत्पादन उठाएर तेस्रो पक्षलाई बेच्नु चुनौती थियो। कृषिबाटै विरक्तिएका धेरै सहर झरिरहेका थिए, तर उनी निस्किए सहरबाट गाउँ। नयाँ व्यवसायलाई पुरानै नाम दिए, पैंचो पसल। जुन गाउँमै प्रचलनमा छ। किसानहरू नबेच्ने तर पैंचो दिने पक्षमा दिए। सुरुमा बलेटक्सारमा पसल खोले। सहरमा पाइने वस्तुहरू पुर्याए। बुटवलमा ट्रस्ट बनाएर तरकारी बेच्न थाले।
३५ करोडको पुँजी पुगेको पैंचोको कारोबार दुई क्विन्टल कागती बिक्री गर्दै २०७१ बाट सुरु भएको थियो। ध्रुवले बसमा कागती बोकेर बुटवल झरे। खोसाखोस भयो। उत्साही हँुदै बलेटक्सार पुगे। अन्य तरकारीजन्य वस्तु पनि कैयौं पटक आफू चढ्ने बोलेरोमा ल्याए। बुटवल आउनासाथ उपभोक्ताहरू ती सामान किन्न लाइन लागेर बस्थे।
‘बसे पनि सहर, गाउँकै खाने रहर’ सुरुआतकै व्यापारले यो कुरा बुझे, त्यही कम्पनीको नारा जुराए। दुई क्विन्टल कागतीबाट सुरु भएको व्यापार टनमा पुग्यो। सयको कारोबार करोडमा छ। उनी अहिले वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको तरकारी गाउँबाट ल्याउँछन्। ध्रुव अहिले एक्लै छैनन्। उनीसँग ३५ जनाको समूह छ। पैंचो बलेटक्सार मात्रै होइन, देशभर पुगेको छ। हरियो तरकारी नपुग्ने स्थानमा उनले प्रशोधित वस्तु पुर्याएका छन्। पहाडकै कच्चा पदार्थबाट बनेका पैंचोका अचार, सस, जामलगायत वस्तु तारे होटेलको किचेनमा सजिएको छ।
चुनौतीका चाङ
उनी कृषि उपज किन्न जब गाउँ पुगे, आरोप लाग्यो— यो डलर खान गाउँ आयो। कतिले राजनीति गर्न पनि आयो भने। उनी कसैलाई प्रतिक्रिया दिँदैनथे। आफ्नै काममा रम्थे। केही समयमै उनलाई किसानले विश्वास गरे। उनको पैंचो पसलमा पाँच ग्राम सामान बेच्नेहरू पनि आउन थाले। ‘जसले पैंचोको विरोध गर्थे, उनीहरू नै हामीसँग जोडिए। अहिले त घरघडेरी जोडेका छन्’, उनी भन्छन्।
पैंचोले तरकारी किन्ने मात्रै गरेको होइन, किसानलाई कसरी खेती गर्ने भन्ने कुरा सिकायो। बारीमा बिरुवा रोप्नासाथ उत्पादित वस्तु किन्ने ग्यारेन्टी गर्यो। यसले किसानहरू हौसिए। किसानको चिन्ता नै त्यही थियो। जब पंैचोले सबै तरकारी किन्छ भन्ने भयो, गुल्मीको छत्रकोटका बाँझो बारी फोर्न थालियो। पैंचोले किसानलाई जेटीएको सहयोग दियो। मल, बीउ, विषादी प्रयोगको पाठशाला नै चलायो। सरकारी निकायले गर्नुपर्ने काम पैंचोले नै गर्यो।
स्थापनाको चार वर्षमा १२ हजार घरपरिवार पैंचोसँग जोडिएका छन्। पूर्ण व्यावसायिक किसानको संख्या एक सयभन्दा बढी पुगेको छ। कृषि उपज बेचेरै घरघडेरी जोड्ने किसान देख्दा धु्रव आफै दंग पर्छन्। ‘उत्पादित सामान किनिदिने हो भने किसानले बाँझो फोर्छन् भन्ने त्यहीँ पुगेर देखेँ, जुन मेरो लक्ष्य थियो’, उनी भन्छन् ‘हामीले सुरु गरेको क्षेत्र नमुना कृषि जोनका रूपमा विकास भएको छ।’ पैंचोले फेरि नयाँ अभियान चलाउँदै १० हजार किसानलाई व्यवसायमा जोड्दै छ। आफ्नै लगानीमा १२ जना जेटीए किसानको बारीमा खटिएका छन्। अहिले गुल्मी मात्रै होइन, जुम्ला, रोल्पा, रुकुम, प्युठान, अर्घाखाचीसमेत पैंचोका कच्चापदार्थ किन्ने जिल्ला हुन्।
ध्रुव आफैं डोको पसलबाट माथि उठेका व्यक्ति भएकाले उनले किसानका समस्या सहजै केलाए। उत्पादित वस्तु कसरी बेच्ने रणनीति बनाए। प्रशोधन उद्योग खोले। रिडीमा रहेको उद्योगले पहाडी कच्चापदार्थबाटै अचार, जाम, ससलगायतका सामान बन्छ। भारतीय कच्चा पदार्थबाट उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्दै बिक्री गरिराखेका छन्।
सफलताका सूत्र
ध्रुवसँग अचम्मको शक्ति छ, जसले व्यवसायमा सफलता दिन्छ। उनमा घमन्ड छैन। बारीमा कोदालो खन्न मात्रै होइन, गाडीको टायर फेर्ने काम पनि आफैं गर्छन्। तरकारीका बोरा बोक्नेदेखि उद्योगका सामान ट्रकमा अपलोडमा समेत सघाउँछन्। मजदुरकै हैसियतमा काम गर्छन्। कर्मचारीलाई शोषण गर्नु हुँदैन भन्ने उनले बुझेका छन्। ‘उनीहरू कामदार होइनन्, पार्टनर हुन् भन्ने बुझ्नुपर्छ’, उनी भन्छन्, 'सिद्धार्थमा पनि कर्मचारीलाई पार्टनर बनाएर काम गर्दा सफलता मिल्यो, पैंचोमा पनि त्यसै गरिरहेको छु।’
धेरै मान्छेहरू कर्मचारीलाई व्यवसाय सिकाउन हुँदैन, उस्तै खोल्छन् भनेर डराउँछन्। तर उनी ठीक उल्टो सोच्छन्। कर्मचारी पनि सक्षम हुनुपर्छ, अर्को व्यवसाय होइन पार्टनर बनाउनुपर्छ। गुणस्तर र सेवाले नै उपभोक्ताको मन जितिन्छ भन्नेमा प्रतिबद्ध छन् उनी।
उनको अर्को सफलताको सूत्र नेटवर्क व्यवसाय हो। उनले होटेलमा जस्तै पैंचोको पनि नेटवर्क बनाए। जसले उत्पादित वस्तु बिक्रीमा सजिलो भयो। अहिले पैंचोको नेटवर्क प्रदेश नम्बर १ बाहेक सबै प्रदेशमा पुगेको छ।
किसानका भगवान् सुरुमा त उनलाई किसान ठगेको आरोप लाग्यो। आरोप गर्नेहरू नै अहिले उनलाई भगवान् मान्छन्। खेतीपाती गरेर छोराछोरी पढाउन नसक्नेहरूले सीप सिके। खेती गरे। लाखौं कमाए। छत्रकोटका भीरपाखा पैंचोकै कारण हराभरा भए। पैंचो पसलको बलेटक्सार संकलन केन्द्रले किसानले उत्पादन गरेका जुनसुकै उपज पनि खरिद गर्छ। भुटुक, गिठो, अमला, सिस्नो, तामा, भुइँकटहर, रूख कटहर, सागपात, अमिलो खरिद हुन्छ। त्यसैले गुल्मीका झन्डै १२ हजार किसान व्यावसायिक खेतीमा लागेका छन्।
कृषिसँगै होटेल पनि
होटेलबाट छुट्टिएपछि खुलेर पैंचोमा लागे। पैंचो पसलले स्वरूप लियो। फेरि अर्को होटेल चेनमा जोडिए उनी, होटेल पौवा। होटेल पौवाले समेत चेन निर्माण गरिरहेको छ। जुम्लादेखि भैरहवासम्म पौवा विस्तार भएको छ। आठ स्थानका होटेलमा २५ करोडभन्दा बढी लगानी भएको छ।
मुलुकमा कृषि, हाइड्रो र पर्यटनमा प्रशस्त सम्भावना रहेको धु्रव बताउँछन्। ‘हाइड्रोमा जान पुँजी छैन’, उनी भन्छन्, ‘कृषि र पर्यटनमा देशकै नमुना व्यवसाय बनाउने सोच छ।’ उनी कृषिलाई व्यावसायिक बनाउनुपर्छ भन्ने अभियानमा छन्। सरकारी निकायका ढोका ढकढक्याएका छन्। तैपनि सुनिएको छैन। उनी आफैंले गरेको व्यवसायलाई उदाहरणका रूपमा देखाउँछन्। चाहन्छन्, सरकारले पनि यतिसम्म गरोस्। मेहनत, इमानदारी र लगावले नै पढ्ने फिस बुझाउन नसक्ने हैसियतबाट करोडपति बनेका हुन् ध्रुव, जो कृषि क्षेत्रमा अनेकौं धु्रव बनाउने सोचसहित अघि बढेका छन्।