स्वर्णधारी महेश्वर

स्वर्णधारी महेश्वर

विश्व च्याम्पियनसिपअघि व्यक्तिगत खर्चमा थाइल्यान्ड पुगेका महेश्वरले जब स्वर्ण पदक जिते, त्यसपछि उनीमाथि सबैको ध्यान खिचियो। उनको लक्ष्य छ— मिस्टर युनिभर्स।


२०७५ सालमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ठूलो पदक दिलाउने मुख्य पात्र हुन्, महेश्वर महर्जन। थाइल्यान्डको चाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। १२ देशका खेलाडीलाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाएका महेश्वरले फाइनलमा भारतका जयप्रकाशलाई पराजित गरेका थिए।

नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिलेसम्मकै ठूलो उपलब्धि हो। विश्व शारीरिक सुगठनमा नेपालले यसअघि रजत पदक मात्र जितेको थियो। सन् २०१७ मा मंगोलियमा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत जितेका थिए।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्णधारी खेलाडी हुन्। यसअघि महेश्वरले भुटानमा भएको ५०औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ३५ वर्षीय महेश्वर ११औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन्।

विश्व च्याम्पियनसिपमा नेपाललाई दुर्लभ स्वर्ण जिताउने क्रममा महेश्वरको समूहमा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उज्वेकिस्तानका पाँच बडीबिल्डर फाइनल राउन्डमा पुगेका थिए। विश्व च्याम्पियन महेश्वर नेपालको सर्वाधिक लोकप्रिय प्रतियोगिता धर्म श्रीको पनि १३औं संस्करणका विजेता हुन्। उनले गतवर्ष ७५ केजी समूहमै धर्म श्री जितेका थिए।

शरीरिक सुगठनअन्तर्गत ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ। त्यसैले पनि एक प्रकारको ‘ह्यान्डसम प्रतियोगिता’ हो। महेश्वरले एसियन च्याम्पियसिपमा स्वर्ण जितेको आधारमा विश्व च्याम्पियनसिपको ढोका खोलेका थिए।

सामान्य किसान परिवारमा जन्मिएका हुन्, महेश्वर। काठमाडौं ताहाचलका स्थानीय उनी २२ वर्षदेखि शारीरिक सुगठनमा छन्। महेश्वर सानोमा ख्याउटे थिए। कक्षा ९ मा पढ्दा नरदेवीको युनिभर्सल जिमबाट उनले शारीरिक व्यायाम सुरु गरे। तर उनी जिमखाना गएको उनकी आमालाई पटक्कै मन परेको थिएन। महेश्वरले सन् १९९७ देखि जिम गर्न थाले।

जिमकै क्रममा उनले सन् २००५ मा पहिलो पटक धर्म श्रीमा भाग लिए र पाँचौं भए। लगत्तै उनी मिस्टर हिमालयमा दोस्रो भए। विस्तारै उनको पाइला राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा अघि बढ्यो। उनले भाग लिएको २५ वटा प्रतियोगिता १८ वटा स्वर्ण पदक जितेका छन्।

सन २०११ मा भियतनाममा आयोजित ४७औं एसियन च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो। त्यसमा उनी सातौं भएका थिए। खेलाडीका रूपमा रहन आर्थिक अवस्थाले नधानेपछि महेश्वर केही समय रोजगारीका लागि साउदी अरब र दुबई हानिए। साउदीमा डेढ वर्ष फिटनेस जिममा काम गरेका उनले दुबईमा पनि असिस्टेन्ट फिटनेस म्यानेजरका रूपमा साढे तीन वर्ष काम गरे। हाल उनले साथीहरूसँग मिलेर आफैँ जिम सेन्टर सञ्चालन गरेका छन्। उनको आर्थिक स्रोत पनि अहिले जिम सेन्टर नै भएको छ। जितसँगै महेश्वर कम्प्युटर डिजाइनको काम पनि गर्छन्। उनले अहिलेसम्म कमाएको पैसा सबै खेलमा लगाएका छन्।

विश्व च्याम्पियन बन्नुका पछाडि महेश्वरको मेहनत र आर्थिक लगानीको कहानी पनि ठूलो छ। ‘बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन। यसमा खानपानमा नियन्त्रणदेखि धेरै कुरा मिलाउनुपर्छ। विश्व च्याम्पियनसिप जानु ६ महिना अघिदेखि नुनसमेत बारेको थिएँ। नुनले तौल बढाउने र डिहाइड्रेसन गराउँछ। भात र चिल्लो पिरो पनि बार्नुपर्ने हुन्छ,’ महेश्वर भन्छन्।
शारीरिक सुगठनमा सफलता पाउन सानो लगानीले नपुग्ने पनि महेश्वरले बताए। विश्व च्याम्पियनसिप अघि दैनिक आठ घण्टा जिम, ३० वटा अन्डा (सेतो भाग मात्र) र एक किलो कुखुराको ब्रेस्ट उनको खान्की थियो।
 
उपेक्षित खेल

नेपालमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन जस्ता खेलको जति चर्चा छ। त्यसको तुलनामा शारीरिक सुगठन खेल उपेक्षित छ। जिमखानाकै रूपमा सीमित यो खेललाई सरकारले लगानी र खेलाडीको प्रवद्र्धनमा खासै चासो दिएको छैन। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन खेलाडी स्वयंले आफ्नै लगानी गरेर जानुपर्दछ। महेश्वर पनि आफ्नै लगानीमा विश्व च्याम्पियन बनेर फर्किएका हुन्। महेश्वरले विश्व च्याम्पियनसिपको तयारी र सहभागिताका लागि मात्र व्यक्तिगत १५ लाख रुपैयाँ खर्चिएका थिए।
 
लक्ष्य मिस्टर युनिभर्स

विश्व च्याम्पियनसिपअघि व्यक्तिगत खर्चमा थाइल्यान्ड पुगेका महेश्वरले जब स्वर्ण पदक जिते, त्यसपछि उनीमाथि सबैको ध्यान खिचियो। एउटा जिमखानामा सीमित खेलाडी एकाएक सेलेब्रिटी भए। स्वर्ण जितेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा उत्रिनासाथ उनलाई भव्य स्वागत गरियो। सरकारले उनलाई पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्‍यो। नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रूपमा तीन लाख रुपैयाँसहित सम्मान गरे। अन्य संघसंस्था पनि महेश्वरलाई सम्मान गर्न तँछाडमछाड गरेर लागे।

विभिन्न संस्थाबाट पाएको सम्मानले उनलाई अझै केही गर्ने भोक जगाएको छ। ‘देशको नाम उँचो बनाउन पाउँदा निकै खुसी छु। सबैको साथ र सहयोगले यहाँसम्म पुग्न सफल भएको छु। मैले विश्व च्याम्पियनसिप पुग्न धेरै परि श्रम र पैसा खर्च गरेँ। सबैको साथ भयो भने अबको लक्ष्य मिस्टर युनिभर्समा नेपाललाई पदक दिलाउनु हो,’ महेश्वरले भने।

मिस्टर युनिभर्स हरेक वर्ष हुन्छ। तर, त्यसका लागि लामो तयारी र लगानी गर्नुपर्छ। ‘तौल मिलाउनेदेखि धेरै कुराको व्यवस्थापन गर्न दुईदेखि तीन वर्ष लाग्छ। अनि मात्र युनिभर्समा भाग लिन सकिन्छ’, उनी भन्छन्। सहयोग पाए भने उनले सन् २०२० अथवा २०२१ मा युनिभर्स जाने योजना बनाएका छन्।

व्यक्तिगत प्रयासले मात्र युनिभर्समा जान सम्भव छैन। त्यसको तयारीदेखि सहभागिताका लागि ६० लाख रुपैयाँ खर्च हुने अनुमान महेश्वरले गरे। त्यसैले उनी सरकार र सम्बन्धित निकायबाट सहयोगको आशामा छन्। मिस्टर युनिभर्समा अहिलेसम्म नेपाली बडी बिल्डरले पदक जित्नु त धेरै परको कुरा, भाग लिने मौका नै पाएका छैनन्। महेश्वर अहिले यही मौकाको व्यापक पर्खाइमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.