लागूऔषधसहित महिला पक्राउ
विराटनगर : सशस्त्र प्रहरीले लागूऔषधसहित एक महिलालाई बुधबार विराटनगरबाट पक्राउ गरेको छ । भारतबाट झोलामा राखेर लागूऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले पक्राउ गरेको हो ।
सशस्त्रका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार सिंहलाई विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट पक्राउ गरिएको हो ।
सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले सिंहको झोला चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो । डीएसपी रन्जितका अनुसार महिलाको झोलाबाट लागूऔषध डाईजापाम ३ सय, एभिल ३ सय, लुपिजेसिक ३ सय गरेर जम्मा ९ सय एम्पुल र नाईट्रोसन १ सय ट्याब्लेट बरामद गरेको छ।
बरामद लागूऔषधसहित पक्राउ गरिएकी महिलालाई आवश्यक अनुसन्धान र कारवाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको डीएसपी रन्जितले बताए ।
पक्राउ परेकी महिलाले विगत केही समयदेखि भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने भरियाको काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘लागूऔषध कारोवारीको भरियाका रुपमा महिलाले विगतदेखि नै काम गर्दै आएको पाइयो,’ एक प्रहरी अधिकारीले भने, ‘भारतका व्यापारीको कनेक्सन रहेका नेपालका सम्पर्क व्यक्तिसम्म लागूऔषध पुर्याइदिने काम गर्दै आएको खुलेको छ ।’ भरियामार्फत भित्र्याइने लागूऔषध नेपाल ल्याएपछि विभिन्न सहर र पहाडी जिल्लासम्म पुर्याउने गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले महिलामाथि थालिएको अनुसन्धान र प्राप्त सूचनाका आधारमा नेपालमा लागूऔषधको कारोवार गर्ने गिरोहको खोजी थालिएको जनाएको छ ।