मुक्तिनाथमा न एम्बुलेन्स, न सूचना केन्द्र
जोमसोम : मुक्तिनाथ दर्शनका लागि यतिबेला हिमाल पारीको जिल्ला मुस्ताङमा देश विदेशबाट भक्तजन ओइरिएका छन्। त्यहाँको वातावरणमा घुलमिल नभइ गाडीमार्फत एकै दिन मुक्तिनाथ पुग्दा लेक लागेर तीर्थयात्री बिरामी हुने समस्या बढ्दो छ। तर त्यहाँको हावापानी र मौसमका विषयमा जानकारीका लागि जोमसोममा भरपर्दो सूचना केन्द्र छैन।
लेक लागेर ढले पनि आपत्कालीन उद्धार गर्न मुक्तिनाथमा एम्बुलेन्स सुविधा छैन। गत वैशाख ५ गते मुक्तिनाथ दर्शन गरेर फर्कंदै गर्दा लेक लागेर स्याङजा आँधिखोला गाउँपालिका–५ की ७५ वर्षीय कलावती पनेरु र वालिङ नगरपालिका–११ की ५० वर्षीय तीला पौडेलले ज्यान गुमाइन्। लेक लागेर श्वासप्रश्वासमा जटील समस्या देखिए पनि एम्बुलेन्स अभावले उनीहरूलाई समयमै अस्पताल पुर्याउन सकिएन। दर्शनार्थीलाई जोमसोममा मुक्तिनाथको वातावरण बारे जानकारी दिन सके पनि बिरामी पर्ने संभावना कम हुन्छ।
मुक्तिनाथ जोमसोमबाट २१ किलोमिटरको दूरीमा छ। तीन हजार आठ सय मिटर भन्दामाथि रहेको मुक्तिनाथमा बाहिरबाट एक्कासी पुग्दा लेक र ठण्डी लाग्ने जोखिम हुन्छ। अक्सिजन अभावले स्याँस्याँ हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुख सुक्ने, शरीर शिथिल हुने, वाकवाकी लाग्ने, गोडा थर्थरी काँप्ने जस्ता समस्या आउने संभावना रहन्छ।
बिरामीलाई कुनै उपायबाट मुस्ताङ जिल्ला अस्पताल पुर्याए पनि पर्याप्त चिकित्सकीय सुविधा छैन। लेक नलाग्ने उपाय सुझाउन जोमसोममा भरपर्दो सूचना केन्द्र नहुँदा दर्शनार्थी बिरामी हुने गरेका छन्। पोखराबाट जहाज, गाडी वा मोटरसाइकलमा एकै दिनमा मुक्तिनाथ पुग्न सकिन्छ।
गाडी ‘रिजर्भ’ गरी आउने भक्तजन एकै दिनमा मुक्तिनाथ पुगेर बास बस्न जोमसोम फर्कने गर्छन्। मुक्तिनाथ दर्शनका लागि अहिले भारतीय भक्तजनको भिड छ। आन्तरिक र वाह्य धार्मिक पर्यटक गरी एकै दिनमा सयौंको संख्यामा मुक्तिनाथ पुग्छन्। विदेशी पर्यटकलाई लेक लाग्नबाट बच्न लसुन, अदुवा, कपुर जस्ता सामान्य घरेलु जडिबुटी प्रयोगको ज्ञानसमेत छैन। मुक्तिनाथमा आपत्कालीन अवस्थामा अक्सिजनका सिलिण्डर रहे पनि पर्याप्त छैन। पर्यटकका लागि भनेर जोमसोममा अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट (एक्याप) को एउटा कार्यालय छ। तर प्रभावकारी छैन। एक्यापले यातायातबाट जोमसोम उत्रने विदेशी पर्यटकका लागि मात्र सूचना उपलब्ध गराउँछ। त्यै पनि प्रायः अंग्रेजी भाषामा मात्र।
मुक्तिनाथ दर्शनका लागि विशेषगरी हिन्दू र बुद्ध धर्मवालम्बी पुग्ने गर्दछन्। एक्यापमा दोभाषे नहुँदा नेपाली र भारतीय दर्शनार्थीलाई भाषिक समस्यासमेत छ। बाह्रगाउँ मुक्तिनाथ गाउँपालिकाका कार्यकारी अधिकृत दीपक रेग्मी एकै दिन मुक्तिनाथ पुग्ने भक्तजनमा बिरामी हुने समस्या बढी देखिएको बताउँछन्। ‘नौ सय मिटरबाट एकैपल्ट ३ हजार ८०० मिटरमा उक्लनु कठिन कुरा हो। हामी कहाँ एम्बुलेन्स नभएको कुरा सत्य हो। एम्बुलेन्स नहुँदा छिटो उद्धारमा समस्यै छ’, रेग्मीले अन्नपूर्णसँग भने, ‘अति जरुरी छ। माग गरेर पठाएका छौं।’
रेग्मी पनि जोमसोममा भरपर्दो सूचना केन्द्र राखिए जोखिम कम हुनेमा सहमत छन्। जिल्ला सरकारी वकिल कार्यालय मुस्ताङका नायबसुब्बा भरत मैनालीले वसन्त ऋतुमा पात झर्ने र हरियालीको अभावमा अक्सिजन कम हुने बताए। ‘जोखिमबाट बच्न सूचना केन्द्र र आपत्कालीन उद्धारका साधनको अभाव छ’, मैनालीले भने। मुक्तिनाथको सडक छेउमा टाँगिएका सूचना बोर्ड पनि पुराना भइसकेका छन्। गाडीबाट झरेपछि साढे तीन सय रुपैयाँ तिरेर घोडा चढ्ने सुविधा भए पनि मन्दिर चढ्न २०–२५ मिनेट उकालो अनिवार्य हिँड्नै पर्छ। धेरै भक्तजन यही उकालोमा लेक लाग्ने समस्याबाट पीडित छन्। घोडामा जान पाइए पनि फर्कन नपाइने नियम छ। आपत्कालीन अवस्थामा कतिपय धनाड्य व्यक्तिले मुक्तिनाथमै हेलिकप्टर झिकाउँछन्। हेलिकप्टर सुविधा आम भक्तजनको बुता बाहिर छ।