समाज बुझाउने कि सामाजिक शिक्षा रटाउने
भनिन्छ– जो व्यक्ति आफ्नो समाज बुझेको हुन्छ उसको स्वीकार्य घेरा निकै फराकिलो हुन्छ, जसमा विविधतासहितको समवेशिता सहजै अटेको हुन्छ। आफ्नो समाज बुझ्न नसक्नेले समाज वा देशलाई माया गर्न सक्दैन। त्यसैले हरेक देशका शिक्षामा समाज बुझाउने विषय समेटिएको हुन्छ, जसको महत्त्व विद्यालय स्तरको शिक्षामा झनै बढी भेटिन्छ किनकि, यो जीवनको जग हाल्ने बेला हो।
हरेक देशले उसको शिक्षा नीतिमा देश प्रेम बढाउने सोच राखेको हुन्छ। किनकि, देश प्रेम नभएसम्म देश विकास सम्भव छैन। विद्यालय तहका विषयमा समेत सामाजिक शिक्षा रहेको छ, जुन अनिवार्य पनि बनाइएको छ। तर समाज बुझाउन उक्त विषय रटाएर वा त्यसका आँकडा कण्ठ गराएर हुन्न, समाज डुलाउनु पर्छ। जब आफ्नो देशका समाज डुल्छन् अनि अनेक समाजका भौगोलिक अवस्थिति, सांस्कृतिक विशिष्टता र विविधता देख्छन् अनि मात्रै समाजका चुनौती र अवसर खोतल्न सक्छन् अनि हरेक समाजसँग माया बस्छ, जुन देश प्रेमको पहिलो आधार हो।
यहाँ ठीक उल्टो गरिँदै छ। अचेल नाम चलेका प्रायः विद्यालयले विद्यार्थीलाई देशबाहिर घुमाउन लैजाने प्रचलन बढ्दो छ। दसैं बिदा, जाडो बिदा जस्ता समयमा आयोजना गरिने यस्ता भ्रमणले एकातिर स्कुले नानीबाबू आफ्नो परम्परा र संस्कृतिमा प्रत्यक्ष सहभागी हुनबाट वञ्चित हुन्छन् भने अर्कोतिर यसले समाजमा अदृश्य रूपले भ्रष्टाचार गर्ने वातावरणलाई प्रोत्साहित गर्छ।
लगभग ६० हजारदेखि लाखौंसम्म रकम जोहो गर्न सहज हुन्न एक साधारण परिवारका लागि। विद्यालयका लागि खासै फरक नपर्ला एउटा विद्यार्थी सहभागी हुनु वा नहुनुले। तर, एउटा परिवारका लागि निकै पीडादायी हुन सक्छ। आर्थिक अभावका कारण भ्रमणमा सहभागी गराउन नपाउँदा त्यो बच्चाको अनुभूति के रहला ? के यस्ता भ्रमणको उद्देश्य पैसाको महत्त्व बुझाउनु हो ? साथै सहजरूपले आफ्नो परिवारको आवश्कता पूरा गर्न नसक्दा समाजमा आर्थिक भ्रष्टाचारका लागि हौसिने आधार निर्माण हुन्न भन्न सकिन्न।
अर्को कुरा, एकातिर सरकार इन्टरनेटका विभिन्न साइट बन्द गर्ने घोषणा गर्छ। यसको उद्देश्य बालमस्तिष्कमा सेक्सप्रतिको गलत बुझाइ र प्रभाव नपरोस् अनि लैंगिक हिंसा पनि घट्न मद्दत पुगोस् भन्ने हो। तर, प्रत्येक वर्ष विद्यालयले विद्यार्थीलाई बैंकक, थाइल्यान्डजस्ता विभिन्न मुलुक घुम्न पठाउँछन्, जहाँबाट फर्केका विद्यार्थीहरू कति भाटमा कति खुला रूपले सेक्स गर्न सकिन्छ भन्ने सुनेर आउँछन्। जबकि तिनको उमेर नै जिज्ञासा र कूतुहलताले भरिएको हुन्छ। त्यसैले यस्ता भ्रमणको प्रभाव पछिसम्म के पर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। यस्ता भ्रमणमा देखिएका ठूला–ठूला भवन, सडक, मानवनिर्मित विकास संरचनाले सानै बेलादेखि बिदेसिने लालसा जन्माउँछ। विद्यार्थीकै खर्च–भारमा घुम्न पाउने शिक्षक, ट्राभल एजेन्सी तथा विद्यालयलाई फाइदा पुगे पनि विद्यार्थीलाई के सिक्ला ? आफ्नो समाजका बारेमा बुझ्ला ? अहिले लगभग १२ कक्षासम्मको पढाइ सकिनासाथ देशबाहिर पढ्न जाने क्रम तीव्र छ। विद्यालयले गराउने यस्ता विदेश भ्रमण त्यतिबेला घुम्न सकिन्न र ?
सामाजिक शिक्षा भनेको रटाएर होइन, समाज बुझाएर बुझाउने विषय हो।
विद्यालयस्तरका बालबालिकालाई आफ्नै देशको भगौलिक सुन्दरता र विभिन्नता देखाउन जरुरी छ ताकि उसले हाम्रो देशमा बस्ने नागरिकको फरक परिवेश, पहिचान र अवस्था हेर्न सकोस्। तराईका विद्यार्थीहरू पहाडी समाज र पहाडी विद्यार्थीलाई तराई समाज घुमाएर भौगोलिक विकटता, निकटता र सामाजिक समस्या, कुप्रथा अनि विभेद बुझाउन सकिन्छ ताकि भोलि नीतिनिर्माण तहमा पुग्ने यो पुस्ताले आफ्नो माटोसुहाउँदो आवश्यकताअनुसार योजना बनाउन र कार्यान्वयन गर्न सकोस्। कतैबाट साभार गरिएको वा प्रभाव परेको नभई आफ्नै कार्ययोजनाअनुसार विकास निर्माणका कार्य गर्न सकियोस्। यति मात्रै होइन, नेपाली–नेपालीबीचको सम्बन्धको संवेदनशीलता बुझ्दै र घनिष्टता जोगाउँदै अपनत्वको जगमा देश निर्माण गर्ने आधार तयार गर्न सकिन्छ।
एउटा विद्यार्थीले पसलमा किन्ने चामलको पछाडि किसानको मेहनत र पसिना देख्दैन, पैसा दिन्छ अनि चामल किन्छ। त्यो चामलको बोरा पसलसम्म आइपुग्ने प्रक्रिया उसलाई थाहा हुँदैन। त्यो सम्पूर्ण प्रक्रियाका पछाडि एक किसानको योगदान र संघर्ष उसले महसुस गर्न सक्दैन। यो पर्दापछाडिको वास्तविक चित्र देखाउने नै शिक्षा हो, जसमा राष्ट्रिय शिक्षा नीति, एक विद्यालय र शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ। एक किसानको मेहनत र दुःखको अनुभव गर्न उसले समाज डुल्नुपर्छ। ताकि भोलिका दिनमा चाहे नीति निर्माण तहमा बसून् वा वित्तीय क्षेत्रलाई अँगालून् वा राजनीतिमा लागून्, उसले किसानको हितका लागि किन र कसरी सोच्ने भन्ने कुरा स्पष्ट हुन्छ ?
विश्व इतिहास हेर्ने हो भने आर्थिक र सामाजिक रूपान्तरणमा फट्को मारेका देश बनाउनेहरू देशलाई माया गर्नेहरू रहेका भेटिन्छन्। चाहे औपचारिक शिक्षा होस् वा अनौपचारिक, यसको मुख्य उद्देश्य भनेको संवेदनशील बनाउने, सही दृष्टिकोण निर्माणमा सघाउने तथा अवसर र चुनौती सम्हाल्ने क्षमताको विकास गराउने रहेको हुन्छ। त्यसैअनुरूप विषयवस्तुको छनोट र पढाउने शैली अपनाइन्छ। विद्यालयस्तरको पाठ्यपुस्तकमा सामाजिक शिक्षाको मुख्य उद्देश्य पनि त्यही हो।
समाज बुझाउने, सामाजिक परिवर्तनलाई बुझ्न सक्ने दृष्टिकोण निर्माणमा सघाउने अनि उपलब्ध अवसर र चुनौतीको पहिचान र उपयोग गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खेल्न सक्ने बनाउने। त्यसैले हामीले सामाजिक विषय मात्र तथ्य र तथ्यांकको सम्मि श्रण होइन भनी बुझ्नु जरुरी छ। कसैको जीवनी पढाउनुको उद्देश्य त्यस व्यक्तिसँग सम्बन्धित तिथिमिति रटाउने नभएर उक्त समाजको इतिहास बुझाउनु रहेको हुन्छ। अर्थात् कस्तो सामाजिक परिवेशमा कस्तो व्यक्तिको जन्म हुन्छ अथवा समाजीकरणको प्रभाव व्यक्तिको व्यक्तित्व र घटनाक्रममाथि कसरी परेको हुन्छ त्यो बुझाउने हो नि। त्यसैले सामाजिक शिक्षा भनेको रटाएर होइन, समाज बुझाएर बुझाउने विषय हो।
शैक्षिक भ्रमणहरूको असाध्यै महत्त्व हुन्छ। किनकि, एउटा भ्रमणले दसवटा किताबबराबरको ज्ञान दिन्छ तर भ्रमणको ठाउँ, उद्देश्य र परिवेशले निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अहिलेका पुस्ता त्यसै पनि धेरै जिज्ञासु छन् र साथै तर्कपूर्ण पनि छन्, जसलाई चुपचाप जे लेखेको छ त्यही मात्रै बुझ भन्नु राम्रो होइन। विभिन्न स्रोतबाट जानकारी पाउन सकिने यस युगमा विद्यालय तहमा सामाजिक शिक्षा रटाएर होइन नेपालका विविध समाज डुलाएर बुझाउन जरुरी छ
झा समाजशास्त्री हुन्।