हिंसा भोग्न विवश महिला पात्र
वैदेशिक रोजगारले सरकारलाई दाम दिए पनि नेपालका अधिकांश परिवारलाई बदनामी, मानसिक यातना र पीडा दिएको छ।
हालसालै केही पत्रपत्रिका र सञ्चारमाध्यममा महिलाविरुद्ध चरम हिंसा भएका वारदाताबारे समाचार सम्प्रेषण भएको पाइन्छ। कपिलवस्तुका वसन्त परियारले आफ्नो पत्नीलाई बन्चरोले टाउकोमा प्रहार गरी मारे। सँगै सुतेका छोरा र छोरीले आफहरू आमाको शरीरबाट बगेको रगतको आहालमा डुबेपछि मात्र थाहा पाए। मृतकका परिवार काठमाडौंतिर इँटाभट्टामा काम गरेर गुजारा चलाउँदा रहेछन्। आमा मरेपछि जेठो रोगी छोरो, कान्छो नाबालक र सानी छोरी बिचल्लीमा परे। तिनको पढाइ–लेखाइ बन्द भयो।
एक साताअघि ललितपुरको गोदामचौर— १ गोदावरीमा इँटाभट्टामा काम गर्ने ४१ वर्षीय महिलाका पतिले पत्नीको हत्या मात्र गरेन, शिर छेदन गरी टाउको बोकी वडाभरि घुम्यो। घटनापछि पाँच वर्षको छोरा र १८ महिनाको छोरीको जिम्मेवारी बोक्ने कोही भएन। फागुन १० गते हालै कपिलवस्तुकै अनिता पौडेलको गोली हानी हत्या भयो। यो हत्या सम्पत्ति विवादमा उनका पति र परिवारको मिलेमतोमा कन्ट्याक किलरको प्रयोगमा भएको थियो। अनिताले दुःखसुख गरी पालेका दुई सन्तान पनि टुहुरा भए। आमाको एक्लो प्रयासमा हुर्केका सन्तानको संसारमा कोही रहेन। चितवनकी माया आले मगर १४ वर्षको छोरा र १२ वर्षको छोरी लिएर एकै दिन एउटै पासोमा झुन्डिएर मरे। हालै केराबारी मोरङकी रोजिता दाहाल पतिको घरबाट निस्केर तमोर नदीमा जलसमाधि लिन पुगिन्। पथरीकी रीना बस्नेतको आत्महत्या हो वा हत्या र भवितव्य हो भन्ने आजसम्म यकिन हुन सकेको छैन। यी सबै प्रतिनिधि घटना हुन्। नेपालमा योभन्दा धेरै महिलाविरुद्धका हिंसाका वारदात भइरहेकै छन्।
हामी जतिजति भौतिक रूपमा भोगविलासतर्पm अघि बढ्दै छौं, उतिउति महिलाविरुद्धका हिंसाका घटना बढ्दै छन्। यस्ता वारदातका वीभत्स घटनाले पत्रपत्रिका रंगिन थालेका छन्। उपरोक्त सत्यतथ्य घटना विश्लेषण गर्दा इँटाभट्टामा काम गर्ने मृतक महिलाद्वयको हत्याको कारण गरिबी, निरक्षरता अनि रक्सी उन्माद नै हो। यो वारदातले घरको खम्बा मानिएकी आमालाई आफ्ना सन्तानबाट वियोग गरायो। जसरी मृतक महिलाको कमाइमा परिवार संगठित भएर सामूहिक रूपमै दुःख गरी बसेको थियो, त्यो टुट्यो। महिलाका सन्तान टुहुरा भए।
ती सन्ताननिम्ति जमिनबाट उठेर आकाश छुने कल्पना अब वास्तविकतामा परिणत हुने सम्भावना नै रहेन। किनकि, सन्तानको भविष्यको चिन्ता गर्ने आमा नै यो संसारमा छैनन्। कान्छो छोरा सुजन भन्छ– मैले मेरो र रोगी दाजुको गुजारानिम्ति भट्टामै काम गर्नुपर्छ। बहिनीलाई कसैले पाल्न लाँदै छन्।
कपिलवस्तुकै अनिता पौडेलको कथाव्यथा अर्कै छ। विवाह भएका पतिलाई उनीविरुद्ध दाजु र आमाजुले उकासे। परिणामतः पति भारततर्फ लागे। दोस्रो बिहे पनि भएको रहेछ। उनी काम गरेर दुई सन्तान पालिरहेकी थिइन्। अदालतमा अंश सम्पत्तिको दाबी गरी मुद्दा हालिन्। त्यही सम्पत्ति लिनबाट वञ्चित गर्न पति र उनका परिवारले हत्यारा भाडामा लिएर मार्न लगाए। पतिसँग भेटाएर मिलापत्र गराइदिने झूटा वचन दिइयो। उनले पनि विश्वास गरिन्। तर अन्ततः परिबन्दमा पारी राति उनको हत्या गरियो। उनका दुई सन्तान टुहुरा भए। ती सन्तानका निम्ति आमा एउटा दिवास्वप्नसम्म बन्न पुगिन्। चितवनकी मायाको घटना झन् दुःखदायी छ। उनले आपूm मात्र होइन, दुई सन्तानको पनि आफूले जस्तै प्राण हरण गरिन्। उनको मृत्युको परिस्थिति हेर्दा लाग्छ, उनलाई त्यो समाज र त्यो परिवारप्रति कति ठूलो वितृष्णा रहेछ ? जसको परिणाम उनी संसारबाटै पलायन हुन बाध्य भइन्। उसलाई सायद लाग्यो, जुन ठाउँमा मेरो चरित्र हत्या गर्ने प्रयास भयो, मलाई थाना चौकीमा पुर्याइन्छ भने त्यहाँ मेरा सन्तानको के सुरक्षा ?
यो अन्यायपूर्ण समाजमा दुःखकष्ट भोग्न र भोकभोकै मर्न म आफ्ना प्रिय सन्तान किन छाडौं। म नरहेपछि मेरा सन्तानको के गति ? तथापि मायाको घटना पनि यथार्थ र तथ्यसत्य के हो विचाराधीन नै छ। तथापि हिंसा त हिंसा नै हो। अनितामाथि भएको वारदात हाम्रो पुरानो मान्यताको प्रतिफल हो। महिलासँग अंश माग्ने, मुद्दा गर्ने र पौंठेजोरी खोज्ने औकात कसले दियो भन्ने मान्यता अहिले पनि विद्यमान छ। अनितालाई मार्ने योजना बनाउनेले ती दुई नाबालकको के दशा होला भन्ने विचारै गरेनन्। बालअधिकारमाथि आघात पर्नेछ। अभिभावकबाट न्यानो माया पाउने अधिकारबाट वञ्चित भएका बालबालिकाप्रति उनीहरूले विचार गरेनन्।
नेपालगन्जकी स्वस्तिका लिम्बूको घटना हत्या वा आत्महत्या जे पनि हुन सक्छ तर मृत्युको मुखसम्म पुग्ने कारण थियो, अपरिपक्क उमेरमा बिहे गर्नु। क्षणभरको मायापिरतीबाट प्रभावित भएर जोडी त बने तर त्यो कायम हुन नसकी वियोगमा परिणत भयो। आजभोलि छोटो समयमा आकर्षित भई बिहेबारी भएका केटाकेटीको सम्बन्ध लामो समयसम्म टिक्न नसकेर सम्बन्ध–विच्छेद भएका छन्। पथरीकी रिना बस्नेत र केराबारीकी रजिता दाहालको मृत्यु वैदेशिक रोजगारले निम्त्याएको विकृति हो। रिना १० वर्षको छोराकी आमा हुन्। वैदेशिक रोजगारले सरकारलाई दाम दिए पनि नेपालका अधिकांश परिवारलाई बदनामी, मानसिक यातना र पीडा दिएको छ। माथि उल्लिखित घटना र वारदात कतिपय न्यायको रोहमा छन् भने कतिपय प्रहरी अनुसन्धानमा विचाराधीन छन्। यस्ता विवादमा हत्या हो कि आत्महत्या या भवितव्य हो, अहिल्यै किटान गरी बोलिहाल्न मिल्दैन। यी विवाद न्याय प्राप्तिका रोहमा विचाराधीन छन्।
अधिकांश मुद्दामा आम जनताले थाना, चौकी, अड्डा–अदालत घेर्ने परिपाटी आएको छ। अन्य मुलुकमा वारदात हुन्छ, प्रहरीले अनुसन्धान गर्छ र न्यायालयले पे्रषित प्रमाणको परीक्षण सुरुदेखि अन्त्यसम्म गरी फैसला गर्ने गर्छन्। न्यायालयले दिएको फैसलालाई आम जनता वा वादी÷प्रतिवादी पक्षले शिरोधर गर्छन्। त्यहाँ शंका÷उपशंकाको कुनै विवाद रहँदैन। बरु अदालतले प्रहरी अनुसन्धान अधिकारीले खोजी गरेका बखत सरोकारवाला उपस्थिति भई बयान वा बकपत्र गर्ने गर्छन्। सही तथ्य जे हो त्यसैको पुष्टि गर्ने प्रयास गर्छन्। हामीकहाँ कोही कसैको कसैसँग विश्वास छैन। सबैले सबैलाई अविश्वास गर्छ। तसर्थ, चाहे प्रहरी, प्रशासन वा अदालत होस्, कामकारबाहीमा पारदर्शी हुन जरुरी छ। भनसुन र दबाब आदिलाई कुनै सर्तमा स्वीकार गर्नु हुन्न। यसरी मुद्दा दर्ता गर्ने, अनुसन्धान गर्ने र फैसला गर्ने निकायप्रति अविश्वास गरी बस्नेलाई विश्वास गराउनेतर्फ परिणत गर्न आवश्यक छ।
समाजमा महिला वर्ग प्रताडित भई समाज नै हिंसामय भएको अवस्थामा न त्यो समाज सुखी हुन्छ न त राष्ट्र नै सुखी हुन्छ।
नेपालमा २०७४ सालमा मुलुकी ऐन अपराधसहितको घोषणापछि ज्यानसम्बन्धी कसुरको महलमा दफा १८५ राख्ने काम गरियो। ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ भन्ने प्रावधान राखिएको छ। अब यसको प्रयोग कसरी हुन्छ सो हेर्न बाँकी छ। वास्तवमा आत्महत्या विनादबाब वा विनातनाव हुँदैन। झन् महिला त अनेक प्रताडना भोगीभोगी बाँच्न गाह्रो भएपछि मात्र आत्महत्या गर्छन्। पीडकले जानीबुझी पीडा दिन्छ। मर्न विवश गराउँछ पीडकको पीडाले। तर, पीडक त्यसरी मार्न पाएकोमा सफलता हासिल भएको सम्झी दंग परी रमाएर बाँचेको हुन्छ। यो अन्याय हो तर यस दफाको गहन छलफल र व्याख्या गरेर मात्र प्रयोग गर्न आवश्यक छ। किनकि, कहिलेकाहीं यही दफाको प्रयोगले नकारात्मक प्रभाव पनि पार्न सक्छ। नेपालमा महिलाविरुद्ध हुने हिंसा रोक्न वा हिंसा गर्नेलाई सजाय दिन घरेलु हिंसा (कसुर सजाय) ऐन २०६६ को संशोधित २०७४ को ऐन बनेको छ। यसमा महिलाविरुद्ध हुने हिंसाको व्याख्या गरिएको छ। अपराध कस्ता–कस्ता हुन्, त्यस्ता कार्य गरेबापत सजायको व्यवस्था गरी क्षतिपूर्तिको व्यवस्था पनि गरिएको छ।
हामीकहाँ महिलाविरुद्ध हुने हिंसाको पहिलो कारण हो– पुरुषप्रधान समाजको महिलाप्रतिको कठोर धारणा, पुरातन सोच, चिन्तन र प्रथा। दोस्रो– दण्डहीनता र कानुनबमोजिम कारबाही सजाय नहुनु। पुरुषको तुलनामा महिलाले अन्याय पाएको विषयमा कारबाही गर्न प्रहरी पनि समाजमा सक्रिय भएको पाइँदैन। तेस्रो– महिला हत्याको सिकार भई मरेकी छ भने उसमाथि परेको अन्यायमा न्याय दिन परिवार लागिपर्दैन। बरु पुरुषलाई सजायबाट जोगाउनेतर्फ लाग्छ। हत्या गरिएकी महिलाका हकमा केही समय समाजले बोले पनि पछि बिर्संदै जान्छ। महिला हिंसाको सवालमा जापान र कोरियाजस्ता मुलुकमा हिंसा घट्दै छ भन्ने सूचना प्राप्त हुनेबित्तिकै वारदात स्थलमा प्रहरी पुगी सुरक्षा प्रदान गर्ने गर्छन्। नेपालमा महिला विवादलाई लिएर प्रहरी कार्यालयमा महिला सेल स्थापना गरिएका छन्। उक्त सेलले प्रभावकारी नभई जबर्जस्ती मिलाउने काम गर्छ। मिलाउने काम नेता र पहुँचवालाको इशारामा गर्छ भन्ने धेरैको गुनासो छ।
महिला अहिले पनि घर र परिवारभित्रै असुक्षित छन्। महिलामाथि हिंसा वा हत्या गर्न सरल छ। परिवारभित्र हिंसा वा हत्या हुँदा त्यसलाई लोप गर्न दबाब दिएर मुद्दा नचलाउन सकिन्छ भन्ने धेरैको सोच हुन्छ। पुरुषले महिलाविरुद्ध हात उठाउनु वा वीभत्स हत्या गर्ने कारण मनोवैज्ञानिक पनि छ। तसर्थ, कुनै हिंस्रक घटना महिलाविरुद्ध हुनु, हत्या वा अंगभंगका अपराध हुनुभन्दा घटना हुनबाट रोक्नु वा नियन्त्रण गर्नु उपयुक्त हुन्छ। तसर्थ महिलाविरुद्ध हुने हत्या, हिंसा, अन्याय र अत्याचार नियन्त्रण गर्न एउटा व्यापक अभियान सञ्चालन गर्न आवश्यक छ। प्रत्येक स्थानीय निकायमा एउटा मनोपरामर्श लिने व्यक्तिको खाँचो छ। स्थानीय निकायको न्यायिक समितिमा एउटा समाजसेवी प्रहरी र राजनीतिक व्यक्ति, त्यो पनि महिलासमेतको समिति रहन आवश्यक छ, जसले यस्ता विवाद समाधान गर्न सकोस्। महिला र पुरुषबीच सद्भाव र समानतासमेतको व्यवहार कायम गर्न सकोस्।
प्रहरीमा हिंसाका सिकार भएका युवती नियुक्ति गरी सामाजिक प्रहरी सेवा गठन गर्ने। यो समूहले समाजमा भएका वा महिलाविरुद्ध हुने हिंसात्मक व्यवहार र गतिविधि पत्ता लगाई समाधान गर्ने प्रयास गरोस्। वैदेशिक रोजगारमा जाने पुरुषका महिला परिवार सदस्यको भेला बेलाबखतमा गराई आय र व्यय गर्ने वा धन सञ्चित गर्ने। सन्तान हुर्काउने तरिका र समाजका दलाल र पीडकसँग बच्ने उपाय र त्यस्ता हिंसामा पर्ने देखिए जानकारी लिई बचाउनेजस्ता उपाय स्थानीय निकायले गर्न आवश्यक छ। समाजमा महिला वर्ग प्रताडित भई हिंसामय भएको अवस्थामा न त्यो समाज सुखी हुन्छ न त राष्ट्र नै सुखी हुन्छ। यस कुराको मनन गर्दै हामीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र हिंसा अन्त्य गरी सुखी राष्ट्र निर्माण गर्न जरुरी छ।