गाउँमा छैनन् पुरुष: खनजोतदेखि घर निर्माणमा जुट्छन् महिला

गाउँमा छैनन् पुरुष: खनजोतदेखि घर निर्माणमा जुट्छन् महिला

बेंसीसहर : लमजुङको क्होलासोथार गाउँपालिका-१ कपुरगाउँमा यतिबेला गाउँका महिलालाई घरको कामसँगै विकासे कामको चटारो छ।घरधन्दा भ्याएर विकास निर्माणमा महिला खटिने गरेका छन्। युवा गाउँमा छैनन्। भएका पुरुष पनि बुढापाका मात्र छन्। पुरुष युवाहरु रोजगारका लागि विदेश हिंडेपछि गाउँमा आउने सबै जिम्मेवारी महिलाको काँधमा आएको छ। 

गाउँमा पुरुषको नाममा बालक र वृद्ध मात्र देखिन्छन्। केहि वर्षअघि निकै भीडभाड र चहलपहल हुने गाउँ युवा बाहिरिएसँगै सुनसान हुन थालेको स्थानीयले बताउछन्। स्थानीयका अनुसार गाउँमा पुरुष नभएपछि कामकाजका लागि महिला खटिने गरेका छन्। गाउँमा गरिने विकास निर्माणका कार्यमा महिलाले श्रमदान दिने गर्छन्। 

स्थानीय ६० वर्षीय दीर्घमान गुरुङका अनुसार करिब ९३ घर रहेको गाउँमा बुढाबुढी, महिला र बालबालिका मात्र छन्। सबै काम महिलाको काँधमा छ। युवाको अनुहार हेर्न पाउनु मुस्किल बनेको छ। 'कुनै कामकाज पर्‍यो भने कस्लाई बोलाउने। गाउँमा केटाहरु छैनन्। 

सबै विदेश हिँडेका छन्। 'घरपिच्छेका पुरुषहरु विदेश छन् दीर्घमानले भने, 'हामी बुढा मान्छेले कसरी काम गर्न सक्छौं र। पुरुष नभएपछि गाउँमा महिला मिलेर श्रमदान गर्छन्।' गाउँमा युवा नभएपछि खेत जोत्न र श्रमदानमा समेत समस्या भएको उनले बताए।

स्थानीय रिता गुरुङले सार्वजनिक काममा महिला अघि सर्ने गरेको बताइन्। उनका अनुसार बाटोघाटो, वन, भवनलगायतको काममा महिला नै जाने गर्छन्।'गाउँमा महिला मात्रै छौँ। पुरुष सबै विदेशतिर छन्। गाउँमा आएको जिम्मेवारी जसोतसो पुरा गरेका छौं,' रिताले भनिन्।

गाउँमा निर्माण गर्न लागेको भान्साघर निर्माणका लागि गाउँभरीका महिला खटिएको उनले बताइन्। उनका अनुसार गाउँका महिला हरेक काममा श्रमदान दिने गर्छन्।वडा कार्यालयबाट ४ लाख रुपैयाँ बजेट छुट्याएको भान्साघर निर्माणका लागि महिलाहरु जुटिरहेको उनले बताइन्। उनका अनुसार महिलाले गिटी फुटाउने, ढुंगा बोक्ने, गारो लगाउने काम गरिरहेका छन्। 

स्थानीय आइतकुमारी विकका अनुसार गाउँमा पुरुष नहुँदा गोरु जोत्ने मान्छे पाउन मुस्किल छ। खेतै बाँझो हुने चिन्ता छ ।'गाउँका भएभरका लोग्ने मान्छे विदेश छन्। भएका पनि बुढा र बालक छन्। खेत जोत्न पर्‍यो, खेती ल्याउनुपर्‍यो। पुरुषहरु नहुँदा समस्या छ,' उनले भनिन्, 'महिला नै खनजोत गरेर व्यवहार चलाउँदै आएका छौँ।'


क्व्होलासोंथर गाउँपालिका- १ का अध्यक्ष पेमा गुरुङले युवालाई स्वदेशमै फर्काएर आयआर्जन गराउन योजना बनाइएको बताए। उनले भने, 'युवालाई गाउँमै ल्याउने र सीपमूलक काममा सहयोग गर्ने भनेका छौं। गाउँमै आएर व्यवसाय गर्न चाहनेको लागि हामी सहयोग गर्न तयार छौं।'पछिल्लो समय विदेश जाने क्रम बढेर गाउँ रित्तिन थालेपछि युवालाई गाउँमै फर्काउने योजना बनाएपनि युवाहरु नफर्किएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.