बसको ढोकाबाट खसेर रामेछापमा एक वृद्धको मृत्यु
रामेछाप : रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ । बिहीबार प्रितिबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको अरनिको यातायातको बा ३ ख ९६६२ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खसेर बेतालीका ६५ वर्षीय वृद्ध होमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बेतालीबाट ठोसे बिहे लिएर गएको उक्त बसमा घिमिरे पनि जन्त गएका थिए। जन्त जाँदा लौरो बसमा छुटेपछि निकाल्न आज बिहान घिमिरे बस रोक्न लगाएर लौरो झिक्न चढेका थिए। बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढेका उनको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगेपछि ढोकाबाट खसेर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता शेख अदालतकाअनुसार बसको ढोकाबाट घिमिरे र बसका सहचालक सँगै खसेका थिए। बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक सामान्य घाइते भएको प्रवक्ता अदालतले जानकारी दिए। बस र चालकलाई बेताली प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर रामेछापको मन्थलीस्थित लिपेखोलामा एक महिलाको ज्यान गएको थियो।