सुदूरको स्वाद

सुदूरको स्वाद

 

पसलमा म्याद नाघेका ब्रेड देखेपछि उत्पादन भएकै दिन बजारमा ब्रेड पुर्‍याउने इच्छाबाट सुरु भएको कुकिजको उत्पादन अहिले देशभर वैकल्पिक खाजा बनिरहेको छ।


२०५० सालमा कर्णालीको पुल बनेपछि राजधानीसँग जोडिएको सुदूरपश्चिममा युवा उद्यमीहरूको आकर्षण बढिरहेको छ। धनगढीमा सुरु भएर देशभर फैलिइरहेको कुकिजको कथा यो आकर्षण बुझ्न काफी छ। दक्षिण एसियामा कुकिजको दुनियाँमा पकड जमाएको भारतको ‘ब्रिटानिया’ कम्पनीलाई माथ गर्ने गरी धनगढीका युवा व्यवसायी आदित्य अग्रवालले धनगढीकै गेटामा आठ करोडको लगानीमा सुरु गरेको कुकिज उद्योग।

२०६९ सालमा ब्रेडको उत्पादनबाट कुकिजमा हात हालेका आदित्यले आफ्नो जन्मभूमि भएकाले सुदूरपश्चिममा उद्योग स्थापना गरेको बताए। ‘यो मेरो जन्मभूमि हो। सुदूरपश्चिममा सम्भावना छैन भन्नेका लागि प्रेरणा बनोस् भनेर लगानी गरेको हुँ’, नेपालमै सुगर फ्री कुकिजका पायनियर आदित्य भन्छन्, ‘अबको दशकमा सुदूरपश्चिममा उत्पादन भएको कुकिज विदेश जाने बनाउने छु।’

नेपालमा उद्योग स्थापनाका लागि ‘सेन्टर प्वाइन्ट’ चितवन हो। राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा, व्यापारिक नगरी वीरगन्ज र विराटनगरजस्ता सहरमा उत्पादन पठाउन सजिलो हुने भएकाले धेरै व्यवसायीको रोजाइ चितवन पर्छ। तर आदित्यले मुलुकको पश्चिमी कुनामा अत्याधुनिक कुकिज प्लान्ट लगाएर देशैभर कुकिजको दुनियाँमा राज गर्दै छन्।

‘पश्चिमको दार्चुलादेखि पूर्वको बिर्तामोडसम्म कुकिजको बजार छ। तीन वर्षमै भारतबाट आउने कुकिजको १० देखि १५ प्रतिशत बजारमा हस्तक्षेप भइसकेको छ’, आदित्य भन्छन्, ‘तर नेपालमा जस्तोसुकै गुणस्तर दिए पनि अझै विदेशी उत्पादनको मोह बढी छ।’

आदित्यका बुवा राजकुमार अग्रवाल पनि धनगढीमै व्यवसाय गरिरहेका छन्। पूर्वको झापा जिल्लाको भद्रपुरबाट २०३६ सालमा निर्माण व्यवसायीका रूपमा धनगढी पसेका राजकुमारले त्यति बेला धनगढीमा गल्लाको व्यापार गरे। रामपाल राजकुमार नामको गल्ला खरिदबाट धनगढीमा सुरु भएको उनको व्यापार अहिले छोरा आदित्यले हेरिरहेका छन्।

सुदूरपूर्वदेखि सुदूरपश्चिम

पश्चिमको कैलाली र कञ्चनपुरमा नेपाल खाद्य संस्थानको गोदामघर निर्माणको ठेक्काका सिलसिलामा यता छिरेका पूर्व झापाका व्यापारी राजकुमारले गेटामा रामपाल÷राजकुमार गल्ला स्टोर, आरपी मोडर्न राइस मिल हुँदै अहिले आरपी फ्लोर मिल सञ्चालन गरेका छन्।
फ्लोर मिलमा उत्पादन हुने मैदा प्रयोग गरेर उनका २९ वर्षीय छोरा आदित्यले अत्याधुनिक मेसिन ल्याएर धनगढीबाट ६ वर्षअघि कुकिज उत्पादन सुरु गरेका हुन्। ‘परम्परागत व्यापार थियो, केही नयाँ उत्पादन दिनुपर्छ भन्ने लाग्यो र कुकिजको उत्पादन सुरु गरेँ’, आदित्यले भने।

आरपी कुकिजको उत्पादनको मुख्य बजार राजधानी काठमाडौं नै हो। त्यसपछि पोखरा, चितवनसहित देशका ठूला सहरमा उनको उत्पादन बिक्री हुने गरेको छ।

आदित्यले भारतको नैनीतालमा रहेको सेरहुड स्कुलबाट हाइस्कुल गरेर कलकत्ताको सीबीएसई बोर्डबाट १२ कक्षा पास गरे। त्यसपछि उनले भारतकै कर्नाटकाको मणिपाल कलेजबाट मेकानिकल इन्जिनियरिङ पास गरे। उनले कर्नाटकाकै महेश्वर भन्ने स्थानमा मैदा मिलको कोर्स पनि गरेका छन्।
 
यसरी सुरु भयो कुकिज

६ वर्षअघिको कुरा हो, उनले किनेर ल्याएको ब्रेडमा दुई दिन मात्रै उपभोग्य म्याद थियो। एक हप्ताभित्र उपभोग गर्न मिल्ने गरी भारतबाट आउने ब्रेड आउँदा नै केही दिन सकिइसकेको हुन्थ्यो। धेरै पसलमा म्याद नाघेका ब्रेड देखेपछि उनलाई उत्पादन भएकै दिनको ब्रेड बजारमा दिन पाए भन्ने इच्छा जाग्यो। नेपालमै उत्पादन गर्न पाए व्यापारीले सात दिनसम्म बेच्न पनि पाउने र उपभोक्ताले पनि ताजा ब्रेड खान पाउने निष्कर्षपछि उनले ब्रेडबाट कुकिजको दुनियाँमा हात हाले।

अहिले उनको उद्योगबाट सबैभन्दा बढी माग भएको सुगर फ्री कुकिज हो। सुगर फी्र डाइजेस्टिव ब्रान्ड नामको कोकोनट र जीराको फ्लेवरमा उनको कुकिज देशैभरि बिक्री हुने गरेको छ। अरू कुकिजमा उनको प्लेन बटर, भनिला र चक्लेटको प्लेवरमा उत्पादन हुँदै आएको छ। उनले पछिल्लो समय फ्रुट र चकलेट फ्लेवरमा केक पनि थपेका छन्।

नेपालमा मधुमेहका बिरामीले सुगर फ्री कुकिज खोज्छन्। पछिल्लो समय स्पेनबाट मात्रै टिफनी र गुलोन नामको सुगर फ्री कुकिज आउने गरेकोमा अहिले त्यसलाई आरपी कुकिजले प्रतिस्थापन गरेको आदित्यको दाबी छ।

‘विदेशमा बनेको कुकिज, यहाँ आइपुग्न समय लाग्छ। उसको गुणस्तरको पनि कुनै ठेगान छैन, हाम्रो त हरेक वर्ष गुणस्तर चेक हुन्छ’, आदित्यले भने।

आरपी कुकिज बेकरीलाई २०६९ सालको राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा मुलुकभरमै दोस्रो पुरस्कार प्रदान गरिएको छ। २०७३ सालमा यसले प्रथम पुरस्कार नै पाएको छ। 

‘यो भनेको गुणस्तर र सरसफाइमा उत्कृष्ट भएर पाएको पुरस्कार हो’, आदित्यले भने।
नेपालमा अहिले पनि भारतको ब्रिटेनियाको ठूलो बजार छ। ‘नेपालमा पनि ब्रिटेनियाले पकड जमाएको छ। तीन÷चार वर्षअघि त भारतको ब्रिटेनियाको कुकिज र केकको एकलौटी बजार थियो। तर पछिल्लो समय हामीले उसको १० देखि १५ प्रतिशत बजार खोसेका छौं’, आदित्यले भने।

आदित्यले त्यही गुणस्तरको कुकिज र केकको मूल्य भारतको भन्दा ४० प्रतिशत कम रहेको बताए। ‘मेरो ध्येय भनेको गुणस्तरमा कुनै सम्झौता नगर्ने हो। मूल्य पनि बाहिरका उत्पादनको तुलनामा ४० प्रतिशत सस्तो छ’, उनले भने, ‘बेस्ट, हेल्दी र लो प्राइसमा मेरो ध्यान छ।’

बिस्कुट र कुकिजमा फरक छ। बिस्कुट दाँतमा लाग्छ। त्यसका लागि केही झोलिलो कुरा पनि साथमा चाहिन्छ तर कुकिज कम भोक लागेका बेला खाजाका रूपमा खाने गरिन्छ। ‘नेपालका केही सहरबाहेक धेरै ठाउँमा खाजाको चलन छैन, त्यसैले पनि कुकिजको बजार चुनौतीपूर्ण छ’, आदित्य भन्छन्, ‘हाम्रो बिहान भात खाने र अनि बेलुकी रोटी र भात खाने संस्कृति छ।’

चाउमिन, चाउचाउ, मम जस्ता चाइनिज नास्ताभन्दा कुकिज कैयौं गुणा बढी स्वस्थकर रहेको उनले बताए। ‘हामीले समाजलाई यो कुरा पनि बताउनु छ कि कुकिज अन्नबाट बनेको हो, अन्नले भोकसँगै पोषण पनि दिन्छ।’

सुदूरमा सजिलो

आदित्यको नजरमा सुदूरपश्चिम सम्भावनाको खानी हो। उनी भन्छन्, ‘हिजोको दिनको बुवाको व्यापारका बेला नेपालको चामल भारत निर्यात हुन्थ्यो, नेपालको तोरीले खाने तेलको कुनै अभाव हुन्थेन। तर अहिले उल्टो भएको छ। नेपालका धान फल्ने फाँटहरू बाँझो परेका छन्।’

उनले सुदूरपश्चिममा उद्योग स्थापना गर्नेका लागि प्रतिस्पर्धा पनि कम भएको बताए। ‘प्रतिस्पर्धा बढी भयो भने मुनाफा कम हुन्छ, तर अहिले सुदूरपश्चिमको उत्पादनमा प्रतिस्पर्धा नै छैन, किनकि पर्याप्त उद्योग छैनन्। व्यापार गर्नेलाई सजिलो छ।’

भारतको सेरहुड स्कुलका प्रोडक्ट आदित्यको नजरमा सरकारी नीति उद्योगका लागि बाधक छ। ‘उद्योगीका लागि सरकारको तर्फबाट सहुलियत छैन। उद्योग दर्ताकै लागि समस्या छ, कसरी धराशयी बनाउने भन्ने सोच छ। सरकारले दिने कुनै सहुलियत छैन’, उनी भन्छन्, ‘सरकारले उद्योग स्थापना गर्नेलाई सस्तो दरमा जग्गा उपलब्ध गराइदिए वा ब्याजमा अनुदान, करमा छुटजस्ता कुरा ल्याए मात्रै उद्योग स्थापना हुन सक्छन्।’

सुदूरपश्चिम आफैंमा टाढा भएकाले पनि लगानीकर्ताको प्राथमिकतामा पर्दैन। देशैभरि आफ्नो उत्पादन पुर्‍याउन लगानीकर्ताले सेन्टर हेर्छ। ‘सुदूरपश्चिममा लगानी भिœयाउन अरू ठाउँको भन्दा बढी सहुलियत सरकारले दिनुपर्छ’, आदित्य भन्छन्।

उनको आरपी कुकिज बेकरीमा अहिले २५ महिला र १५ पुरुष गरी ४० जनाले रोजगार पाएका छन्। आसपासका महिला कुकिज उद्योगमा काम गर्न पाएकोमा खुसी छन्। सुरुमा भारताट महँगो तलबमा कारिगर ल्याए पनि अहिले उनले नेपाली मेसिन अपरेटर र कारिगर तयार पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.