बेलायती संसद् र प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाको प्रदर्शन
लण्डन : बेलायत सरकारले हालै घोषणा गरेको बृहत गोर्खा प्याकेजमा असन्तुष्ट भूतपूर्व गोर्खाले बुधबार बेलायती संसद् र प्रधानमन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिको आव्हानमा करिब ५ सयको संख्यामा प्रदर्शनमा उत्रिएका गोर्खालाई केही दर्जन बेलायती भेटेरानले समेत साथ दिएका छन्। आफ्ना मागको यथोचित सम्बोधनका लागि जुलाई १ सम्मको अल्टिमेटमसहित उनीहरुले प्रधानमन्त्रीको कार्यालयमा एक १३ बुँदे ज्ञापनपत्र पनि बुझाएका छन्।
लण्डनको केन्द्र ट्राफल्गर स्क्वायरबाट सुरु भएको गोर्खालीको विरोध र्याली पार्लियामेन्ट स्क्वायर हुँदै १० डाउनिङ स्ट्रिटस्थित प्रधामनमन्त्रीको कार्यालय अगाडिसम्म पुगेको थियो।
आफ्ना मागहरु लेखिएका विभिन्न प्लेकार्डसहित र्यालीमा सहभागी गोर्खालीले चर्को स्वरमा नाराबाजी समेत गरेका थिए।बीच सडकमै उनीहरुले निकालेको र्यालीको कारण मध्य लण्डनका अति संवेदनशिल ट्राफलगर स्क्वायर, पार्लियामेन्ट स्क्वायर र डाउनिङ स्ट्रिटसहितका क्षेत्रको ट्राफिक आधा घण्टाभन्दा बढी समयसम्म अवरुद्ध बनेको थियो।
विरोध रयालीलाई सम्बोधन गर्दै सत्याग्रह समितिका नेता ज्ञानराज राई लगायतले बेलायत सरकारलाई चेतावनी दिनका लागि यो प्रदर्शन गरिएको बताएका थिए।जुलाई १ को सम्मको समयसीमामा पनि आफ्ना मागको सम्बोधन नभए क्रमबद्ध रुपमा थप आन्दोलन गर्दै जाने उनीहरुको भनाइ थियो।
वर्षौंदेखि आन्दोलनरत भूपू गोर्खाहरुको समस्या समाधानका लागि बेलायत तथा नेपालका सरकार र गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक संयन्त्रको सिफारिसपछि २ महिनाअघि बेलायतले बृहत गोर्खा प्याकेज घोषणा गरेको थियो।
तर समान पेन्सनसहितका आफ्ना मुख्य मागहरु सम्बोधन नगरेर बेलायत सरकारले आफूहरुलाई पुनः धोका दिएको भन्दै गोर्खाले आन्दोलनमै होमिने निर्णय गरेका थिए।