जर्सी गाईको मोही...
धन कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई चिरेर दूधको व्यवसाय थालेका उनले धेरै किसानलाई रोजीरोटी जुटाएका छन्। उनको सोचबाट धेरैको आर्थिकस्तर माथि ल्याउन साथ पुगेको छ।
रुरु गाउँपालिका— ४ बलेटक्सार गुल्मीका ४६ वर्षीय नर्जन श्रेष्ठले ६ वर्ष साउदी अरबमा बिताए। २०५३ सालदेखि २०५९ सम्मको ऊर्जाशील उमेर उनले घरपरिवार पाल्नकै लागि विदेशी भूमिमै बिताउनु पर्यो। विदेशमा रहँदा उनले सोचेजस्तो पैसा कमाउन सकेनन्। बिरानो भूमिमा कमाएको पैसा विदेश पुगेको ऋण तिर्न र घरपरिवारलाई धान्नमै सकियो।
श्रेष्ठ ६ वर्षपछि घरमा फर्किए। त्यसपछि उनी कहिलै पनि फर्केर बिदेसिने सोच बनाएनन्। स्वदेशमै व्यवसाय गर्ने सोच बनाएका उनले घरमै कुखुरापालन व्यवसाय थाले। झन्डै दुई वर्ष उनले यसैमा बिताए। तर, कुखुरापालन व्यवसाय श्रेष्ठले सोचेजस्तो भएन। व्यापारमा घाटा हुँदै गए पनि उनले मनोबल हारेनन्। निराशा पक्कै थियो। कुखुरापालनको दुई वर्षपछि उनी नयाँ योजना बनाएर अघि बढे।
गाउँभरि गाईभैंसी पाल्ने किसानहरू भए पनि उनीहरू व्यावसायिक बन्न नसकेको उनकै आँखाले देखेको थियो। त्यसबेलाका गाउँकै सामाजिक अगुवा र हाल प्रदेश नम्बर ५ का सांसद कमलप्रसाद श्रेष्ठले उनलाई सल्लाह दिए। सांसद श्रेष्ठ पनि खेतीकिसानीमा व्यस्त हुन्थे।
बुटवलमा व्यावसायिक रूपमा डेरी उद्योग सञ्चालन गरेका सफल उद्योगीहरूसँग गएर उनीहरूले गरेको उद्यमको बारेमा बुझ्न श्रेष्ठले सुझाए। त्यसलगत्तै उनी बुटवलको एक डेरी उद्योगमा पुगेर उनीहरूले गरिरहेको कामको विषयमा जानकारी लिए र त्यही डेरी उद्योगबाट पुरानो दूध संकलन गर्ने सोच आयो। दूध संकलनका लागि ३० हजार रुपैयाँ लागतमा लिएको फ्रिजबाट उनको नयाँ व्यवसाय थालनी भयो।
मुग्लान छोडेर उद्यममा
बलेटक्सार बजारमा श्रेष्ठले ईश्वर डेरी उद्योग सञ्चालनमा ल्याए। त्यसबेला यस क्षेत्रकै नयाँ र पहिलो उद्योग उनले सञ्चालन गरेका हुन्। व्यवसाय थालेको झन्डै चार वर्षसम्म उनलाई सोचेजस्तो सफलता हाल मिलेन। फेरि विदेश त फर्कनुपर्ने होइन ? उनको मनमा आशंका पनि थियो। श्रेष्ठले आफ्नो निरन्तर मेहनत कमी गरेका थिएनन्। निरन्तरको प्रयासले उनलाई अन्ततः सफल उद्यमीको रूपमा डेरी उद्योगले चिनाएको छ।
घरमै दूध प्रयोग गर्दै आएका किसानले हिजोआज उनको उद्योगमा पुर्याउँछन्। श्रेष्ठले आफूले मात्र आम्दानी गरेका छैनन्, गाउँका किसानहरूलाई समेत उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश दिएका छन्।
हजारको लगानीबाट थालेको व्यवसाय आज करोडमा पुगेको छ। कुनैबेला घरव्यवहार धान्न मुग्लान झेलेका श्रेष्ठले वार्षिक करिब १८ करोडको दूध र त्यसबाट बन्ने विभिन्न सामग्री बिक्री गर्छन्। खर्च कटाएर वार्षिक चार÷पाँच लाख रुपैयाँ बचत पनि गर्छन्। बिहानै ५ बजे उठेदेखि झमक्क साँझ नपर्दासम्म उनी रातिसम्म व्यस्त हुन्छन्। उनलाई आफन्त र इष्टमित्रले गरेको फोन उठाउने समेत फुर्सद हुँदैन।
विगत चारवर्षदेखि निरन्तर उद्योगबाट आम्दानी गर्न थालेका श्रेष्ठले यसैलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने सोच बनाएका छन्। ‘अहिले जिपमा दूध लिने र बिक्री गर्ने गर्छु’, उनले भने, ‘ट्यांकर किन्ने सोचमा छु।’ उनले संकलन गरेको दूधबाटै सदरमुकाम तम्घासमा दुईवटा दुग्ध डेरी सञ्चालन भएका छन्। बिहानभर संकलन गरेको दूधलाई डेढ घण्टाको यात्रापछि उनले तम्घास पुगेर बिक्री गर्छन्। प्रमुख बजार उनको तम्घास नै बनेको छ। तीनवटा डेरीबाट दैनिक सातदेखि आठ सय लिटरसम्म दूध बिक्री गर्ने उनले सुनाए।
‘विदेश पुग्नु मेरो रहर थिएन’, विगत सम्झँदै उनी भन्छन्, ‘बाध्यताले विदेशमा समय खेर फालियो। अहिले आएर पछुतो भइरहेको छ।’ सुरुमा गाउँमा दूध संकलन गर्नै मुस्किल भएको उनी सम्झन्छन्। तर, अहिले गाउँका किसानहरूले आफू नपुग्दै घरघरमा दूध संकलन गरेर राख्ने गरेको उनले सुनाए।
बदलिएको सोच
गाउँका किसानहरूलाई उनले आर्थिक उपार्जनसँग जोडेका छन्। दूध संकलन गर्ने किसानका लागि उनी स्याब्बासीका पात्र बनेका छन्। स्थानीय थानपती, दिगाम, टाहाटिम र धरमपानीबाट दूध संकलन गर्छन्। गाउँभरिका ७० जना किसानहरूले उनलाई दूध पुर्याएका छन्।
उनीसँगै गाउँभरिका किसानहरूको आर्थिक अवस्थामा समेत सुधार आएको छ। किसानहरू व्यावसायिक रूपमा लाग्न थालेका छन्। ‘गाउँभरिका किसानहरूको आर्थिक सुधार ल्याउन नर्जन सरको उद्योगले धेरै मद्दत पुर्याएको छ’, रुरु गाउँपालिका— ५ टाहाटिमका स्थानीय किसान विष्णु गिरीले भने, ‘उहाँको प्रेरणाले हामीलाई पनि केही गर्नुपर्छ भन्ने सोचको विकास गराएको छ।’
बेचेर बचेको दूधले उनी विभिन्न सामग्रीहरू बनाउने गरेका छन्। छुर्पी, पुष्टकारी, पनिर, दही र घिउ बनाएर बिक्री गर्ने गर्छन्। यी सामग्रीहरूको समेत बजारमा माग राम्रो भएको उनले सुनाए। ‘उत्पादन मात्र गर्नुपर्छ, खरिद गर्न ग्राहक घरमै आउँछन्’, उनी भन्छन्। श्रेष्ठका घरमा एक छोरा, एक छोरी, श्रीमती र बुवा छन्। दूध बेचेरै कमाएको पैसाले उनले छोराछोरीलाई गाउँकै बोर्डिङ स्कुलमा पढाएका छन्। छोरा ईश्वर श्रेष्ठले ९ कक्षा र छोरी तृसनाले १० कक्षामा पढ्छिन्।
‘कामबाट पूर्ण सन्तुष्ट छु’, श्रेष्ठ भन्छन्, ‘किसानहरूको साथ पाएको छु। अझ व्यवस्थित बनाएर लैजाने सोचमा छु।’ उनको काममा घरपरिवार सबैले साथ दिएका छन्। परिवारको साथले अझ काममा उत्साह मिलेको उनी सुनाउँछन्।
करोडमा पुग्यो हजार
श्रीमान् श्रीमतीको सरसल्लाह र सहयोगले हजारबाट थालिएको व्यवसाय अहिले करोडको यात्रामा छ। सानो उद्योगबाटै सफलता पाएका श्रेष्ठले आफूलाई जिल्लामै सीमित नभई देशकै नमुना बन्ने सपना बुनेका छन्। प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटवलसहित जिल्लाका गाउँगाउँमा दूध र यसबाट बनेका परिकार पठाउने सोचमा रहेका छन्।
जिल्लाका १२ वटा स्थानीय तहमा फाट्टफुट्ट डेरी उद्योग सञ्चालनमा रहे पनि व्यावसायिक रूपमा लागेका किसानहरू कमै मात्रामा छन्। उनीहरूलाई आफूसँग संगठित गराएर व्यवसायलाई थप विस्तार गर्ने उनको सपना छ। सवै स्थानीय तहमा पुगेर उनले किसानहरूलाई एकजुट गराउने र डेरी उद्योगलाई विस्तार गर्ने सोचमा बनाएका छन्। गाउँमा केही गर्न सकिँदैन, र पैसा कमाउन सकिँदैन भन्नेहरूका लागि उनी एक उदाहरणीय पात्र बनेका छन्। धन कमाउन विदेश नै पुग्नुपर्छ भन्ने साँघुरो सोचलाई उनले चिरेका छन्। उनको सोचबाट नै धेरैलाई आर्थिक स्तर माथि ल्याउन साथ पुगेको छ।
उनको उद्योगमा गाउँकै तीनजना युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। तर, अप्रत्यक्ष रूपमा दूध दिने किसानहरूले सयौं संख्यामा रोजगार पाएको उनी सुनाउँछन्।
किसानको साथले सजिलो
सुरुमा दूध नदिएर किसानले हैरान बनाएका थिए। किसानले दूध नदिएपछि श्रेष्ठले गाउँमा पुगेर र विद्यालयमा विद्यार्थीमार्फत अभिभावकहरूलाई खबर पठाउने गरेका थिए। दूध बिक्री गरेर पैसा कमाउन सकिन्छ भन्ने लागेपछि अभिभावकहरूले उनलाई पूर्ण रूपमा साथ दिएका हुन्।
श्रेष्ठ भन्छन्, ‘किसानहरूको साथले नै आज यो ठाउँमा छु। अझै लामो यात्रा गर्नुछ। सदैव किसानको साथ पाइरहनेछु।’ किसान र ग्राहकको मध्यस्थकर्ता बनेका उनी आफ्नो व्यवसायलाई सामाजिक सेवाको रूपमा समेत लिएका छन्।
‘वर्षमा पूरै दिन व्यस्त हुनुपर्छ’, उनी भन्छन्, ‘मलाई चाडपर्व पनि आएजस्तै लाग्दैन।’ एक दिन डेरी उद्योग बन्द गर्दा दूध खाने काखे बालबच्चालाई समस्या हुने भएकाले उनी अझ आफ्नो व्यवसायप्रति जिम्मेवार भएर लागेका छन्।