आश्नाको उडान

आश्नाको उडान

महिलाले सडकमा गाडी चलाएको देख्दा पनि अनौठो मान्ने नेपाली समाजमा क्याप्टेन आश्मा यस्तो पात्र हुन् जसले महिला हुनुका परम्परागत मान्यता तोडेकी छन्। र, एक दशकभन्दा लामो समयदेखि उनी उडान भरिरहेकी छन्।


सन् २००७ को कुरा हो। आश्ना आचार्य (३०) सिंगल इन्जिन विमान लिएर आकाशमा एक्लै उडिन्। उनीभित्र डर, कौतूहल र उत्साह थियो। उनी सोच्दै थिइन्, ‘केही बिर्सने त हैन ? ’ तर जीवनमा पहिलो पटक सोलो विमान उडाउँदा सिंगो आकाश नै उनको भएको थियो। त्यो निकै रोमाञ्चक उडान थियो। विमानलाई सुरक्षित अवतरण गराएपछि उनले आफैंलाई गर्वसाथ भनेकी थिइन्, ‘अब म पनि प्लेन उडाउन सक्छु।’

सानोमा प्रायः केटाकेटीहरू डाक्टर र पाइलट बन्ने सपना देख्छन्। कसैले भविष्यमा के बन्ने भन्दा साना बाबुनानीको मुखबाट डाक्टर, इन्जिनियर, पाइलट जस्ता शब्द निस्कन्छन्। जबकि उनीहरूलाई त्यो कस्तो काम हो भन्नेसमेत थाहा हुँदैन। समय बित्दै जान्छ। बालापनका ती सपना र रहरहरू स्मृतिबाट बिलाउँदै जान्छन्।

आश्ना सानैदेखि पाइलट बन्ने सपना देख्थिन्। ठूलो भइसक्दा पनि उनको क्याप्टेन बन्ने इच्छा कत्ति पनि कम भएन। काठमाडौंबाट मूलघर विराटनगर जाँदा आश्नाले पटकपटक हवाईजहाज चढेकी थिइन्। ६÷७ वर्षको उमेरमै उनमा पाइलट बन्ने रहर जागेको थियो।

बुवा पुरञ्जन आचार्य राजनीतिमा सक्रिय रहेकाले उनको भेटघाट सानैदेखि ठूलाठूला राजनीतिज्ञसँग भइरहन्थ्यो। प्रायः उनी ती राजनेताहरूलाई विमान चढ्दा भेट्थिन्। उनीहरूको काखमा लडीबुडी गर्दै यात्रा गर्थिन्।

विमान हाँक्ने क्याप्टेनहरू ठूलाठूला हस्तीहरूसँग हात मिलाउँदै कुरा गर्दा आश्नाका आँखा त्यो दृश्यमा टक्क अडिन्थे। उनको पाइलट बन्ने आकांक्षालाई तिनै दुर्लभ दृश्यले उचाइ दिएका थिए। कयौंपटक आफ्नो मनको इच्छा जाहेर गर्दै आश्नाले बुवाआमालाई भनेकी थिइन्, ‘म ठूलो भएर पाइलट बन्छु।’

एसएलसी सकियो। काठमाडौं विश्वविद्यालयबाट १२ कक्षासम्मको अध्ययन पनि सकियो तर उनको पाइलट बन्ने चाहनामा कत्ति पनि कमी आएन।
 
एकमात्र लक्ष्य

पाइलटले लगाउने सेतो लुगा र लोभलाग्दो टोपी पहिरिन १८ वर्ष नपुग्दै उनी पाइलट बन्न अमेरिका गइन्। उमेर नपुग्दा उनले तालिममा प्रवेश गर्न अभिभावकको अनुमति लिनु परेको थियो। आठ नौ कक्षा पढ्दा नै पाइलट बन्ने निश्चय गरिसकेकी आश्नाले १२ कक्षामा साइन्स र फिजिक्स लिएर पढेकी थिइन्।

पढाइ निकै राम्रो भएकाले आफन्तहरूले उनलाई ‘एकेडेमिक फिल्ड’मै काम गर्न सुझाव दिन्थे। धेरैले उनलाई डाक्टर बन्न भन्थे। तर आश्नालाई पाइलट बन्ने हुटहुटीले छाडेन।
पाइलट बन्नु आश्नाको एकमात्र लक्ष्य थियो। यसबाट उनी एक इन्च पनि टसमस भइनन्। तालिम लिन अमेरिका उड्दा आठ जनाको समूह थियो। त्यसमा आश्ना एक्ली महिला थिइन्। उनी त्यो दिन सम्झँदै भन्छिन्, ‘आफू एक्लै केटी हुँदा कताकता अप्ठेरो महसुस भएको थियो।’

दुनियाँ जित्नेका लागि हो। त्यही जित पछ्याउँदै आश्नाले आफ्नो यात्रा तय गरेकी थिइन्। नयाँ ठाउँ र नौला मानिसहरूको भीडमा अप्ठ्याराहरू त धेरै आए तर पूर्ण आत्मविश्वास र साहसको भने उनमा कहिल्यै कमी भएन। उनको एकोहोरो इच्छाशक्तिले नै उनलाई हरेक परिस्थितिसँग जुध्न तयार बनाएको थियो।

अमेरिकामा डेढ वर्ष तालिम लिएपश्चात् उनले विमान उडाउने लाइसेन्स प्राप्त गरिन्। त्यसपछि सन् २०१० मा नेपाल फर्किएर बुद्ध एअरमा पहिलो पटक काम गरिन्।

पाइलटको जागिर पाउन पनि त्यति सजिलो कहाँ थियो र ! नेपाल फर्किएको ६ महिनापछि मात्र उनले विमान उडाउन पाएकी थिइन्। सुरुसुरुमा को–पाइलटको रूपमा काम गरेपछि बिस्तारै क्याप्टेन बन्न उनी निपुण हुँदै गइन्।

बुद्ध एअरमा सन् २०१० देखि २०१७ सम्म काम गरेपछि २०१७ को बीचमा नै उनी एअर इन्डियासँग जोडिन पुगेकी थिइन्। हाल उनी एअर इन्डियामा एटीआर विमान उडाउँछिन्।
आश्ना अमेरिकाको टेक्सस राज्यमा विमान उडाउने तालिम लिन जाँदा त्यहाँ अन्य ५÷६ जना नेपाली महिला पनि थिए। डेल्टा क्वाली फ्लाइट इन्स्टिच्युटमा तालिम लिएका ती सबै महिला अहिले विमान उडाउन सक्ने भइसके। हाल कोही बुद्ध एअरमा आबद्ध छन्, कोही आर्मीमा छन्।

आश्नासँगै क्याप्टेन बन्न तालिम लिएकी सोफिया सिंहको भने २०१० को अग्नि एअरको विमान दुर्घटनामा मृत्यु भयो। पाइलटले उडानको समय आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने हुन्छ। तर आश्नाले कहिल्यै मनमा डर पालेर जहाज चलाइनन्। उनका बुवाआमाले पनि छोरीको काम जोखिमपूर्ण ठानेका छैनन्। छोरीलाई पाइलटका रूपमा देख्दा बुवाआमा गर्व महसुस गर्छन्।
तालिमका क्रममा पटकपटक इन्स्ट्रक्टरसँगै राखेर आश्नालाई विमान उडाउन सिकाइन्थ्यो। त्यति बेला सिंगल इन्जिन प्लेन उडाउनुपर्ने हुन्छ। कोर्सअनुसार फ्लाइङ आवर फरक हुन्छ। आश्नाको फ्लाइङ आवर दुई सय ५० घण्टाको थियो। सोलो उडान धेरै पटक गर्नुपर्ने हुन्थ्यो।

तालिममा एक देशबाट अर्को देश जानुपर्ने नियम थियो। यसलाई क्रस कन्ट्री फ्लाइङ भनिन्छ। यो उडान अलि लामो हुन्छ। सबै उडान तालिम कक्षभित्रै हुन्थे।
 
जोखिमपूर्ण नेपाली आकाश

नेपालमा रहँदा आश्नाले आठ वर्ष विमान चलाइन्। अरू देशको तुलनामा नेपाली आकाश जोखिमपूर्ण छ। भूगोल, मौसम र पहाडी इलाका ज्यादा भएकाले पाइलटले धेरै सजगता अपनाउनुपर्ने हुन्छ। नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल वन वे मात्र छ। यसले आकाशमा विमान ट्राफिक जाममा पर्छन्। अनि विमानलाई आकाशमै होल्ड गर्नुपर्छ। यस्तो परिस्थिति आश्नाले बारम्बार भोगेकी छन्।

माउटेन रेन्ज भएकाले आकाशको मौसम खराब भएमा विमानलाई तल ल्याएर उडाउन सम्भव हुँदैन। नेपाल भूगोलमा सानो छ। मौसम खराब हुँदा भारतको सीमा हुँदै जान छुट्टै अनुमति चाहिन्छ। यी कारणले गर्दा नेपालको उडान चुनौतीपूर्ण भएको आश्नाको अनुभव छ।

भारतमा गएपछि आश्नालाई जहाज चलाउन अलि सहज भएको रहेछ। ठूलो देश भएकाले विशेष परिस्थितिमा प्लेन अर्को विमानस्थलमा लान सजिलो छ। त्यहाँको जमिन समथर भएकाले मौसमलाई छल्न विमानलाई कम उचाइमा उडाउन सकिन्छ। तर मौसम अति नै खराब छ भने विमानको क्याप्टेनले उडान भर्दैनन्। मौसमका बारेमा विमानको राडारले पहिले नै अवगत गराउँछ।

विमानको प्राविधिक पक्षलाई ध्यान दिँदै आश्ना विमान उडाउँछिन्। उनी भन्छिन्, अहिलेसम्म उनको उडानमा कुनै समस्या आएको छैन। नेपालमा एटीआर ७२ सिटे विमान चलाइरहेकी आश्नालाई आफ्नो कामप्रति सधैं लगाव भइरह्यो। बिहानदेखि बेलुकीसम्म उनी पाइलटकै पोसाकमा हुन्छिन्। प्रायः आकाशमै हुन्छिन्। वैशाख १२ को भूकम्पमा पूरै देश हल्लिरहँदा आश्ना विमानलाई सधैंझंै सुरक्षित उडाउँदै थिइन्।
 
महिला पाइलटसँग अचम्म !

१२ वर्षसम्मको उडानमा कहिलेकाहीँ महिलाले विमान उडाउँदा प्यासेन्जर डराउने गरेको अनुभव उनीसँग छ। कतिपयले महिला पाइलट भन्दै नाक खुम्चाउने गर्छन्। महिलाले गाडी चलाउँदासमेत अनौठो ठान्ने नेपाली समाजमा मानिसहरूको त्यस्तो व्यवहारलाई उनी अस्वाभाविक मान्दिनन्। ‘विमान चलाउन शारीरिक बल चाहिँदैन, सबै सीप र बुद्धिको खेल हो’, आश्मा भन्छिन्, ‘जुन मसँग छ।’

नेपालमा मात्र नभएर भारतमा समेत महिलाले विमान उडाएको देख्दा मान्छेहरू अचम्म ठान्छन्। उनको अनुभवमा बिस्तारै मानिसहरूको सोचमा परिवर्तन पनि देखिँदै छ।
नेपालमा महिला पाइलट कम भए पनि भारतलगायत अन्य देशमा धेरै महिला पाइलट छन्। ‘थ्री ट्वान्टी विमान प्रायः महिलाहरूले नै चलाउँछन्’, उनी भन्छिन्, ‘विमान कम्पनीले पनि महिलाहरूलाई नै खोज्न थालेका छन्।’

सामान्यतया महिलाहरू पाइलटभन्दा पनि एअरहोस्टेसको काममा आकर्षित हुन्छन्। तर आश्नाले एअरहोस्टेस बन्ने सपना कहिल्यै देखिनन्। भन्छिन्, ‘मलाई थाहा थियो, पाइलट बन्न सजिलो भने छैन। यसको पढाइ महँगो छ र मेहनत पनि धेरै चाहिन्छ।’

आश्ना अमेरिका जाँदा त्यहाँ भारतीय महिला धेरै थिए। मध्यपूर्वका देशहरूबाट पनि पाइलट बन्ने महिलाको बाक्लो उपस्थिति थियो। छिटो सिक्ने बानीले गर्दा उनले हरेक सिकाइका चरणहरू लगातार पार गर्दै गइन्। नेपाली आकाशमा कयौं पटक आश्नाले आफ्ना बुवाआमा लिएर उडेकी छन्। आफूले चलाएको विमानमा सवार हुन पाउँदा बाबुआमा खुसी हुने गरेको उनी सुनाउँछिन्।

अमेरिकाबाट पढाइ गरेर नेपाल हुँदै एअर इन्डियाको विमान चलाउन पुगेकी आश्ना नै पहिलो नेपाली महिला पाइलट हुन्। आश्नाको यो प्रेरणादायी उडानले सम्पूर्ण महिलालाई हौसला र साहसको उडान भर्न सिकाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.