बेलायतमा गोर्खाको प्रदर्शनी
लण्डन : बेलायत सरकारले हालै घोषणा गरेको बृहत गोर्खा प्याकेजमा असन्तुष्ट भूतपूर्व गोर्खाले बुधबार बेलायती संसद र प्रधानमन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिको आह्वानमा करिब ५ सयको संख्यामा प्रदर्शन भएको हो।
आफ्ना मागको यथोचित सम्बोधनका लागि जुलाई १ सम्मको अल्टिमेटमसहित उनीहरुले प्रधानमन्त्रीको कार्यालयमा १३ बुँदे ज्ञापनपत्र पनि बुझाएका छन्।
माग लेखिएका विभिन्न प्लेकार्डसहित र्यालीमा सहभागी गोर्खाले चर्को नाराबाजीसमेत गरेका थिए। सडकमै उनीहरुले निकालेको र्यालीका कारण मध्य लण्डनका अति संवेदनशील क्षेत्रको ट्राफिक आधा घण्टाभन्दा बढी समयसम्म अवरुद्ध भएको थियो।
विरोध र्यालीलाई सम्बोधन गर्दै सत्याग्रह समितिका नेता ज्ञानराज राई लगायतले बेलायत सरकारलाई चेतावनी दिनका लागि यो प्रदर्शन गरिएको जानकारी दिए। जुलाई १ सम्मको समय सीमामा पनि आफ्ना मागको सम्बोधन नभए थप आन्दोलन चर्किने चेतावनी गोर्खाले दिएका छन्।
वर्षौंदेखि आन्दोलनरत भूपू गोर्खाको समस्या समाधानका लागि बेलायत तथा नेपालका सरकार र गोर्खा सम्मिलित त्रिपक्षीय प्राविधिक संयन्त्रको सिफारिसपछि २ महिनाअघि बेलायतले बृहत गोर्खा प्याकेज घोषणा गरेको थियो।
समान पेन्सनसहितका आफ्ना मुख्य माग सम्बोधन नगरेर बेलायत सरकारले आफूहरुलाई पुनः धोका दिएको भन्दै गोर्खाले आन्दोलनमै होमिने निर्णय गरेका थिए।