सामाजिक सञ्जालको गलत उपयोग, मुन्तलामा ऐंजेरु र धानमा सामाजस्तै : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको गलत उपयोग गर्नेलाई निस्तेज गर्नुपर्ने बताएका छन्। पछिल्ला दिनमा सामाजिक सञ्जालको गलत उपयोग भएकोतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐंजेरु र धानमा सामा पलाए जस्तै हो’, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता प्रवृतिलाई निस्तेज पार्दै लानुपर्छ।’
नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए।
‘केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपाली अनौठो मान्थे। तर, अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’, प्रधानमन्त्री ओलीले भने, ‘मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो। यो डिजिटल नेपाल तर्फको यात्रा हो।’
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए। ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ’, ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ। त्यसको सदुपयोग गर्नुपर्छ।’
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पनि उपस्थिती थियो।