रसुवागढी र सान्जेनको सेयर बाँडफाँड : रसुवागढीमा ४० र सान्जेनमा १० कित्ता सबैलाई
काठमाडौं : ‘जनताको जलविद्युत’ आयोजना अन्तर्गत रसुवागढी र सान्जेन कम्पनीको शेयर बाँडफाँड भएको छ। बिहीबार भएको शेयर बाँडफाँडबाट रसुवागढीमा ४० कित्तासम्म सबैलाई परेको हो।
यो आयोजनामा थप २५ हजार ६ सय ९३ आवेदकलाई अर्को १० कित्तासहित ५० कित्ता परेको छ। शेयर बाँडफाँडमा बाँकी रहेको ७ कित्ता भने ५० कित्ता भन्दामाथि आवेदन दिने र थप १० कित्ता नपरेको ७ आवेदकलाई एकएक कित्ता थप गरेर ४१ कित्ता परेको छ।
रसुवागढीको एक सय रुपैयाँ अंकित दरका ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरका निम्ति ३ लाख दुई हजार ३४३ ले आवेदन दिएका थिए। यसमध्ये ११ हजार ७१ जनको रित नपुगेका आवेदकलाई हटाइएको थियो। यो आयोजनाले यही बैशाख ६ देखि १२ गतेसम्म निष्कासन गरेको शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
यस्तै सान्जेन जलविद्युतमा पनि न्युनतम १० कित्ता सबैलाई परेको छ। एक सय रुपैँया अंकित दरका ४९ लाख ८२ हजार २५० कित्ता शेयरको निम्ति ३ लाख ५९७ आवेदकले आवेदन दिएका थिए। यस आयोजनामा १० कित्ता सबैलाई दिएपछि २० देखि २ हजार कित्तासम्म आवेदन दिने आवेदकबाट गोला प्रथाबाट २ लाख २९ हजार ४४२ आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ। यसको धितोपत्र निकाष्सन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो।