जिल्ला इन्चार्जसहित विप्लवका चार नेता थुनामा
खाँदबारी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्तृवको नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्जसहित चारजना पुर्पक्षका लागि थुनामा परेका छन्। संखुवासभा इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सञ्जय तामाङ र सुजन विकलाई पुर्पक्षका लागि जिल्ला अदालतले थुनामा पठाएको सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।
जिल्ला इन्चार्ज गुरुङ र सुनितालाई अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको आरोप छ। अन्य दुईलाई हातहतियार खरखजना तथा संगठित अपराधको मुद्दा छ।
त्यसैगरी जिल्ला सदस्य बुद्धिमान तामाङ भने ४० हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ। बुद्धिमानलाई हातहतियार खरखजना तथा संगठित अपराधको मुद्दा दर्ता भएको थियो। ललितपुरबाट पक्राउ परेका अर्का पोलिब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई भने काठमाडौं लगिएको बताइएको छ।