बर्डफ्लु नेपालमा, र्याल परीक्षण जापानमा
काठमाडौं : बर्डफ्लुको भाइरस (एचफाइभएन) को संक्रमण नेपालमा भए पनि प्रभावित व्यक्तिको घाँटीको र्याल परीक्षण गर्न भने जापान पठाउनुपर्ने अवस्था छ।
स्वास्थ्य सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको यकिन गर्नुपर्ने हुन्छ। कुन प्रकारको भाइरस हो भन्ने यकिन गर्न नेपालमा सम्भव छैन।
गत चैत १५ गते २१ वर्षीय एक युवकको इन्फ्लुएन्जाको संक्रमण भई ज्यान गएको थियो। उनको घाँटीको र्याल परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जापानस्थित प्रयोगशालामा पठाइएको थियो। त्यसअघि चैत ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा घाँटीको र्यालको परीक्षण गरिएको थियो।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार घाँटीको र्यालको परीक्षण गर्दा कुन भाइरस हो भन्ने पत्ता लागेपनि भाइरसको प्रकारबारे थप जानकारीका लागि अन्य मुलुक पठाउनु पर्ने हुन्छ।
इन्फ्लुएन्जा ए (एचफाइभ एन वन) भाइरसले धेरैजसो पंक्षीहरूमा संक्रमण हुने गर्दछ। कहिलेकाहिँ यो भाइरस पंक्षीहरूबाट मानिसमा समेत संक्रमण भएको पाइएको छ।