फानी आँधीको त्रास, लाखौं व्यक्तिलाई सारियो
भुवनेश्वर : भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्ले गरेका छन् । भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीले एएफपीलाई उडिसा राज्यको कम्तीमा १३ वटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्न सक्ने इलाकाबाट सारिएको बताएका छन् ।
‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुको तीर्थस्थल जगन्नाथपुरी नजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बंगालको खाडीबाट उक्त समुद्री आँधी झण्डै २ सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसा राज्यतिर बढिरहेको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो उडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ । उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा त्यसको केही प्रभाव नेपालमा पर्न सक्नेछ ।
करिब १ हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तमिलनाडुलाई पनि आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । त्यसैले ती क्षेत्रमा उच्च सतर्कतामा राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ ।
सन् २०१७ मा तमिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २ सय ५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै ६ सय व्यक्ति बेपत्ता भएका थिए ।