मानव अस्तित्व जोगाउन क्यामरा बनाउँदै नासा
काठमाडौं : नासाका वैज्ञानिकहरू नियो क्याम नामक क्यामरा बनाउने तयारीमा जुटिरहेका छन्। पृथ्वीका नजिक आइरहेका वस्तुहरूको बारेमा जानकारी लिनु यो क्यामराको विशेष उद्देश्य रहेको छ।
यस्ता वस्तुहरूमध्ये एस्टेरोइड्स पनि एक हुन्। एस्टेरोइड्स सौर्य मण्डलमा सूर्यको वरिपरि घुम्ने ठूलठूला चट्टानहरू हुन्। यस्ता चट्टानहरू पृथ्वीसँग नजिकिँदै जाने क्रममा कुनै दिन हाम्रो ग्रहसँग ठोक्किएर मानव अस्तित्व नै विनाश हुने खतरासमेत रहेको वैज्ञानिकहरूले औंल्याएका छन्।
यस्ता जोखिमलाई कसैले पनि अनुमान लगाउन सक्दैन। तर यस्ता घटनालाई कुनै पनि किसिममा रोक्न पनि सकिन्न। त्यसैले हाम्रो सौर्य मण्डलप्रति सधैं ध्यान दिएर यस्ता विषयमा सचेत रहन वैज्ञानिकहरूले यस्तो क्यामराको आवश्यकता महसुस गरेका हुन्।
पृथ्वीसँग नजिँकिँदै गरेका यस्ता ठूला चट्टानको ब्यास एक किलोमिटरभन्दा बढी रहेको नासाका वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन्। नासाले गरेको अनुसन्धानमा यस्ता ९० प्रतिशत वस्तुहरूको ब्यास एक सय ४० मिटर रहेको छ।
यस्ता ठूला चट्टानहरू पृथ्वीमा झरेर हावामै विस्फोट भएका घटनामध्ये सन् १९०८ मा रसियाको टङ्गुस्कामा भएको घटना बढी चर्चित मानिन्छ। त्यतिबेला यही विस्फोटका कारण त्यहाँको दुई हजार वर्ग किलोमिटर वनविनाश भएको थियो। वैज्ञानिकका अनुसार त्यतिबेला झरेको उक्त एस्टोरोइड्स ४० देखि ६० मिटर ब्यासको मात्र रहेको थियो।
पृथ्वी नजिकै रहेका यस्ता ठूला वस्तुहरूको बारेमा पत्ता लगाउन नासालाई सन् २०२० सम्मको समयसीमा तोकिएको छ। सन् २०१८ को जुनमा नासाको प्लानेटरी डिफेन्स अफिसर लिन्ड्ले स्मिथले आठ हजार त्यस्ता चट्टानहरू पत्ता लागिसकेको बताएका थिए। तर वैज्ञानिकको अनुमानमा यसको दुई गुणा अझै पत्ता लगाउन बाँकी रहेका छन्। सन् २०२३ देखि यो क्यामराले आफ्नो १० वर्षीय सर्भे अभियान सुरु गर्नेछ। यसले ७५ प्रतिशतभन्दा बढी त्यस्ता वस्तुहरूको फोटो खिच्ने वैज्ञानिकहरूको अनुमान छ।
एस्टेरोइड्स सौर्य मण्डलमा सूर्यको वरिपरि घुम्ने ठूलठूला चट्टानहरू हुन्। यस्ता चट्टानहरू पृथ्वीसँग नजिकिँदै जाने क्रममा कुनै दिन हाम्रो ग्रहसँग ठोक्किएर मानव अस्तित्व नै विनाश हुने खतरासमेत रहेको वैज्ञानिकहरूले औंल्याएका छन्।