सानो छँदा पढ्न नपाएको बेथाले गाउँभरि विद्यालय स्थापना

सानो छँदा पढ्न नपाएको बेथाले गाउँभरि विद्यालय स्थापना

उनले मणिकामदेवी माविको ६÷६ गरी १२ कोठे भवन, जनजागृति आधारभूत विद्यालय लप्सीबोटको ६ कोठे भवन निर्माण गरे। त्यस्तै सातकन्या मावि खोर्लाको नौकोठे भवन र सूर्योदय मावि गुम्दाको ६ कोठे भवन पनि पुनर्निर्माण गरेका छन्।


गोरखाको दुर्गम गाउँ लाप्राकका सुनारबहादुर गुरुङले गाउँको विद्यालयमा पढेर, खेलेर बाल्यकाल बिताउन पाएनन्। गाई, भेडाबाख्रा चराएर हिमालको काखमा १८ वर्ष बिताए।

गोठमै जिन्दगी बित्ने भयो भन्ने जब चिन्ता लाग्न थाल्यो, उनी गोठबाट उम्किए र पर्यटकको भारी बोक्न अन्नपूर्ण क्षेत्र पुगे। पर्यटकका बडे–बडेमानका भारी बोक्लान् भनेर कुनै ट्रेकिङ एजेन्सीले पनि पत्याएनन्।

ग्रुपका एक जना भरिया नआएको मौकामा उनले एक दिन भारी बोक्ने अवसर पाए। त्यसै दिन थियो, उनको जिन्दगीले नयाँ घुम्ती पाएको। जब उनले नाइकेको चित्त बुझ्ने गरी भारी बोके, तब खाँट्टी भरियामा नियुक्त भए।

उनले काम गर्ने ट्रेकिङ एजेन्सीका सरदार मामा थिए। मामाको अनुपस्थितिमा उनले मामालाई सघाउ पुग्ने विभिन्न काम गर्ने मौका पाउँथे। कामले काम सिकायो। निरन्तरतको साधना, संयम, इमानदारी, मेहनतले क्रमशः उनी भरिया, कुक, सरदार, शेर्पा हँुदै ट्रेकिङ गाइड भए। उनको आनीबानी, व्यवहार मन परेर फ्रान्सेली जोडी मिसेल र ज्याट्लिनले उनलाई फ्रान्समा पढ्न लगे।

फ्रान्समा भाषा पाठशाला र नेसनल स्कुल अफ स्की एन्ड माउन्टेनियरिङमा भर्ना भए। जीउज्यानको माया नगरी फ्रान्सका हिमालमा हातखुट्टा धसेपछि सन् २००८ मा उनलाई सो विश्वविद्यालयले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र दियो। सोही वर्र्ष फ्रेन्च रिपब्लिक युथ एन्ड स्पोर्टस् मिनिस्ट्रीले स्टेट डिग्री अफ स्पोर्टस् कोच अप्सन माउन्टेन गाइडको प्रमाणपत्र प्रदान गर्‍यो।

फ्रान्समा राम्रो करिअर बनाएका उनले त्यहीँ बसेर मनग्गे पैसा कमाउने अवसर पाएका थिए। उनका अभिभावकले उनलाई फ्रान्समै करिअर विकास गर्न बारम्बार आग्रह गरे तर देशको झल्कोले नयाँ कर्मथलो छोडेर उनी सन् २००८ मा पुरानै कर्मथलो नेपाल फर्किए।

उनको गौरवपूर्ण उपलब्धिलाई देशले ससम्मान पहिचान दियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तेन्जिङ हिलारी पुरस्कार प्रदान गर्‍यो।
युनियन इन्टरनेसनल डेस एसोसिएसन डी अल्पाइन्जमले इन्टरनेसनल माउन्टेनियरिङ एन्ड क्लाइम्बिङ अवार्ड प्रदान गर्‍यो। त्यस्तै पासाङ ल्हामु माउन्टेनियरिङ फाउन्डेसन सम्मान पनि उनलाई प्रदान गरियो। उनको गृहजिल्ला गोरखाको तत्कालीन जिल्ला विकास समितिले पर्यटन सद्भावना दूत घोषणा गर्‍यो। ट्रेकिङ एजेन्सिज एसोसियसन (टान), गोरखा समाजसेवा केन्द्र, गोरखा पर्यटन उद्यमी संघ, लाप्राक समाज काठमाडौं, गुरुङ पर्यटन व्यवसायी संघलगायत दर्जनभन्दा बढी संघसंस्थाले उनलाई पुरस्कार तथा सम्मान प्रदान गरे।

उनले ठमेलमा त्रि–नेत्र एड्भेन्चर प्रालि नामक कम्पनी स्थापना गरेर पर्यटन व्यवसाय गर्दै आएका छन्। अहिले पनि उनी सो कम्पनीको मेनेजिङ डाइरेक्टर हुन्। त्यसबाहेक उनले सन् २०११ मा निजामती कर्मचारीहरूको सगरमाथा आरोहण कार्यक्रमको संयोजक बनेर सरकारी कदमलाई सघाउ पुर्‍याएका थिए।

पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको पाठ्यक्रम निर्माण समितिका सदस्य थिए। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको अध्यक्ष, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको शिक्षा प्रमुख, नेपाल माउन्टेनियरिङ एसोसिएसनको संयोजक आदि पदमा रहेर काम गरिसकेका छन्।

पर्यटन, पर्वतारोहण, स्की र रक क्लाइम्बिङको क्षेत्रमा उनले गरेको काम अनेकन सञ्चार माध्यममा धेरै पटक छाए।

पर्वतारोहण र पर्यटनको क्षेत्रबाहेक उनले समाजसेवाको क्षेत्रमा पनि धेरै काम गरेका छन्। गाउँको सेवा गर्ने उद्देश्यले उनले फ्रान्समा छँदै लेजामी द लाप्राक नामक संस्था स्थापना गरेका थिए। सो संस्थाको नेपाल संयोजक पदमा रहेर उनले धेरै फ्रान्सेली दातासँग अर्थ संकलन गरेर समाजसेवाको क्षेत्रमा खर्च गरेका छन्।

विशेष गरी उनले गाउँमा विद्यालय बनाउने, छात्रावास बनाउने, विद्यार्थीलाई पढ्न प्रेरणा दिने खालका काम गरेका छन्। आफूले सानो छँदा पढ्न पाएनन्। बेलामा पढ्न नपाएका कारण आधुनिक दुनियाँमा प्रतिस्पर्धा गर्दाको सास्ती सम्झेर उनले दुर्गमका बालबालिकालाई शिक्षा दिने अभियानमा जोड दिए।

‘यो दुनियाँमा पढाइ नै ठूलो रहेछ। नपढेको मान्छे मुख बोल्ने भएर पनि लाटोजस्तो हुनु पर्दो रहेछ भन्ने कुरा मैले भोगेको छु’, उनी भन्छन्, ‘त्यसैले दुर्गम गाउँका बालबालिकाले मैलेजस्तो दुःख भोग्नु नपरोस् भन्ने उद्देश्यले स्कुल निर्माणको काम गरेको हुँ।’ साना बालबालिका बा–आमाको पछुवा भएर भीरपाखा चहारेर जीवन बिताउनु नपरोस् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछन्।

लाप्राकका साथीहरू (लेजामी द लाप्राक)सँग साझेदारी गर्न उनले नेपालमा गणेश हिमाल एसोसिएसन नामको संस्था स्थापना गरे। सो एसोसिएसनमार्फत उनले लाप्राकको एकमात्र सरकारी विद्यालय मणिकामदेवी माविका सबै विद्यालय भवन र छात्रावास भवन निर्माण गरे। छात्रावासमा बस्ने, खाने खर्चको प्रबन्ध गरे। त्यहाँका सबै विद्यार्थीलाई आवश्यक पुस्तक, स्टेसनरी तथा सहयोगी सामग्रीको समेत व्यवस्था गरे।

त्यस्तै बारपाकको हिमालय माविमा ११ कोठे छात्रवास भवन निर्माण गरे। गुम्दाको सूर्योदय माविको भवन निर्माण गरे। लप्सीबोटको जनजागृति आधारभूत विद्यालयको भवन, उहियाको पार्वती माविको भवन निर्माण गरे।

त्यस्तै भगवती आधारभूत विद्यालय मान्द्रे, जीवनज्योति आधारभूत विद्यालय बालुवा, ज्ञानज्योति आधारभूत विद्यालय बल्फे, सातकन्या मावि खोर्ला, केरौंजा मावि केरौंजा, गण्डकी प्रावि रुन्चेत, जनसेवा आधारभूत विद्यालय यमगाउँ, जनजागृति प्रावि माछाखोला र ओलाजुङ प्रावि थलाका विद्यालय भवन निर्माण गरे।

विद्यालय बन्ने क्रममा नै थिए तर २०७२ सालको विनाशकारी भूकम्पले सबै विद्यालय ध्वस्त पार्‍यो। फेरि उनले मणिकामदेवी माविको ६–६ गरी १२ कोठे भवन, जनजागृति आधारभूत विद्यालय लप्सीबोटको ६ कोठे भवन निर्माण गरे। त्यस्तै सातकन्या मावि खोर्लाको नौकोठे भवन र सूर्योदय मावि गुम्दाको ६ कोठे भवन पनि पुनर्निर्माण गरेका छन्।

धार्चे गाउँपालिकाले अघि सारेको मेगा स्कुलको अवधारणामा गाउँपालिकासँग सहकार्य गरी अघि बढ्ने सुनारको योजना छ।

भूकम्पले क्षतविक्षत भएको धार्चे गाउँपालिकाका विभिन्न गाउँमा पुगेर उनले पीडितलाई राहत र उद्धारमा पुर्‍याएको योगदान गाउँलेका लागि सधैं सम्झनाको विषय बन्यो। उनले आफ्नो गृहनगर धार्चे गाउँपालिकाको पहिचानका रूपमा वृत्तचित्र निर्माण गरेर गाउँपालिकालाई प्रदान गरेका छन्।

फ्रान्सेलीले लाप्राकको गोठमा २० वर्र्ष बिताएका सुनार गुरुङ कसरी यो अवस्थामा पुग्यो भन्नेबारे उनको जीवन संघर्षको कथामा आधारित वृत्तचित्र ‘गाइड एट अल कस्ट’ बनाएका छन्। वृत्तचित्रको अंग्रेजी संस्करण पनि बनेको छ। उनको नाममा ‘हिमालको गोठालो’ नामको पुस्तक प्रकाशन भएको छ। लाप्राकको धार्चेडाँडा, पुसुडाँडा, गुप्सीपाखा, दिलिङखर्कको गोठालो पछि कसरी ‘हाइप्रोफाइल’ बन्न सफल भए भन्नेबारे तयार गरिएको ‘हिमालको गोठालो’ पुस्तक अंग्रेजी र फ्रान्सेली भाषामा समेत प्रकाशन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.