सानो भीमको साहस
छोटा भीम भारतीय एनिमेटेड कमेडी हो। यसलाई राजिभ चिलाकाले निर्देशन गरेका हुन्। यसले भीम नाम गरेका एक बालकको साहसिक कथालाई समेटेको छ। भारतको एक काल्पनिक राज्य ढोलकपुरलाई यसको सेट बनाइएको छ।
ढोलकपुरका राजा इन्द्र बर्मालाई बचाउने काममा भीम र उनका साथीहरू रातदिन लागिपरेका विषय यस सिरिजमा देखाइन्छ। त्यसैगरी उनीहरूले अनेक किसिमका खराब शक्तिहरूबाट पनि आफ्नो र अरू केही राज्यलाई समेत बचाउने गरेका छन्।
छोटा भीममा नै आधारित रहेर यसै वर्ष छोटा भीम कुङ फु धमाका निर्माण भएको छ। यस राज फिल्म्से वितरण गर्ने यस कार्टुन २डी र ३डी भर्सनमा हिन्दी र अंग्रेजी भाषामा बालबालिकाले हेर्न पाउनेछन्। यस सिरिजमा रहेका पात्रहरूका बारेमा छोटो जानकारी लिउँ न त है।
भीम : भीम नौ वर्षीय बालक हुन्। उनी साना भएकै कारण यस सिरिजको नाम छोटा भीम राखिएको हो। भीम निकै बहादुर र बुद्धिवान् हुन्छन्। भीमको प्रख्यातिको ईष्र्या गर्ने कालिया उनको सबैभन्दा ठूलो दुश्मन हुन्। कालिया आफ्ना दुई जुम्ल्याहा भाइहरू ढोलु र बोलुका साथमा मिलेर सधंै भीमलाई हराउने प्रयत्न गर्छन्। तर उनी कहिले सफल हुन सक्दैनन्।
यस सिरिजका सुरुका भागहरू भीम र उनका साथीहरू चुट्की, राजु, जग्गु आदिको कालियासँग बदला लिने विषयमै केन्द्रित छन्। सिरिज अगाडि बढ्दै जाने क्रममा कालियाले आफूलाई भीमभन्दा बलियो र बुद्धिमान देखाउन प्रयास गरिरहन्छन्। त्यसैगरी गाउँका धेरै समस्याहरू समाधान गर्ने विषयमा पनि धेरै भागहरू केन्द्रित रहेका छन्। ढोलकपुरको समस्या र आफ्ना अगाडि आउने समस्याले गर्दा यी बालबालिकालाई समेत परिपक्वजस्तो बनाइसकेको हुन्छ। त्यसैगरी कहिलेकाहीँ ढोलकपुरलाई किरमाडा नाम गरेका राक्षस, बोक्सी आदिले असर गर्दा समेत भीमले नै बचाउँछन्। यी बालबालिकाले ढोलकपुरमा भएका विभिन्न चाडपर्व रमाइलोसँग मनाएको पनि यसमा देखाइन्छ।
भीम ढोलकपुरमा हुने विभिन्न प्रतियोगिताका लागि छनोटमा पर्ने गरेका छन्। विशेषगरी शारीरिक बल लाग्ने खेलहरू जस्तै रेस्लिङ, साइकलिङलगायतमा उनी प्रायः छानिने गरेका छन्।
भीमलाई खानेकुरा असाध्यै मन पर्छ। त्यसमा पनि लड्डु उनको मनपर्ने परिकार हो। लड्डु खाएपछि उनले पहिलेभन्दा धेरै शक्ति प्राप्त गर्छन् र अझै ताकतवान् हुन्छन्। यी लड्डुहरू भीमले टुनटुनको लड्डु पसलबाट चोरेर खान्छन्। कहिलेकाहीँ भने साउजीकी छोरी चुट्कीले पनि भीमको लागि लड्डु ल्याइदिन्छिन्। भीमले निधारमा सधैं एउटा टीका लगाउँछन् भने पहिरनको रूपमा सुन्तला रङको एउटा धोती लगाउँछन्।
चुट्की : उनी सात वर्षीय बालिका हुन्। भीमको सबैभन्दा मिल्ने साथी चुट्कीले उनको मिसनमा सधैं साथ दिने गरेकी छिन्। उनी चेस खेल्न निकै सिपालु हुन्छिन्। भीमका धेरै काममा गहकिला आइडिया दिने काम उनले नै गर्छिन्।
राजु : चार वर्षीय सानो र हिस्सी परेका बालक हुन् राजु। उनको आदर्श पात्र भीम हुन्। उनका बाबा सेनापति हुन्। उनी पनि आफ्नै बाबा जस्तो सेनापति बन्न चाहन्छन्। उनी धनुष बाँणमा निकै सिपालु हुन्छन्।
जग्गु : जग्गु बोल्ने बाँदर हो। ऊसँग पनि विभिन्न समस्या समाधान गर्ने आफ्नै तरिकाहरू ह्ुन्छन्।
यस कार्टुनमा रहेका अन्य पात्रहरूमा कालिया, ढोलु भोलु, किचक, छोटा मन्नु, राजकुमारी इन्दुमति, राजा इन्द्रबर्मा, डाँकु मंगल सिंह, धुनी बाबु, टुनटुन मौसी, प्रा.शास्त्री धुमकेतु, बेहेन शिभानी, अभि चाचा, बुरी जादुगर्नी, अच्छी जादुगर्नी, अर्जुन द प्रिन्स अफ बाली आदि रहेका छन्।
प्रस्तुति: सीमा थापा