जुत्ता सिउने टोल्सटोय
विश्वचर्चित उपन्यास ‘युद्ध र शान्ति’का लेखक लियो टोल्सटोय समृद्ध परिवारमा जन्मिएर हुर्किएका थिए। तर उनले विलासी जीवन त्यागेर सरल जीवन बिताए। सन् १८२८ सेप्टेम्बर ९ मा रूसको यस्ताया पौल्यान्यामा टोल्सटोयको जन्म भएको थियो।
सानैमा उनका आमाबाबु दुवैको निधन भएपछि एउटी नातेदार महिलाको संरक्षणमा उनी हुर्किए। त्यसैले, उनको बाल्यकाल सुखद रहेन। उनले घरमै प्राथमिक शिक्षा पाए। उच्च शिक्षाको क्रममा कज्जाक विश्वविद्यालयमा तीन वर्षसम्म अध्ययन गरे।
घरको जमिनदारी सम्हाल्नबीचमै पढाइ छाडेर घर फर्किनुपर्ने बाध्यता उनलाई आइप¥यो। त्यसबेला उनी १९ वर्षका थिए। जमिनदारी प्रथाका अनेक घिनलाग्दा व्यवहारहरू मन नपरेपछि उनी परिवर्तनको खोजीमा पल्टनमा भर्ती हुन पुगे। सन् १८५५ मा क्रिमियामा भएको पहाडी जातिसँगको लडाइँमा उनको समेत सहभागिता रह्यो। तर लडाइँले उनलाई झन् दिक्क बनायो।
पल्टने जागिर छाडेर उनी घुमन्ते भए। उनले दुईपल्ट युरोपेली देशहरूको भ्रमण गरे। घुमाइले पनि सन्तुष्ट हुन नसकेपछि पुनः आफ्नो जमिनदारी हेर्न आइपुगे। त्यसपछि उनले केही फरक काम गरे। किसानका बालबालिकाका लागि स्कुल खोलेर उनले नयाँ सिद्धान्तअनुरूपको शिक्षा दिन थाले। व्यक्तिको आवश्यकताअनुरूपको शिक्षा दिइनुपर्छ। शिक्षा प्रणाली अनुरूप व्यक्तिको आवश्यकता ढालिनु हुन्न भन्ने उनको विचार थियो। यो त्यतिबेलाको समाजको लागि क्रान्तिकारी विचार थियो।
कथा, उपन्यास, नाटकलगायत विभिन्न लेखहरूमार्फत उनले आफ्ना अमूल्य विचार दिएका छन्। उनले ‘युद्ध र शान्ति’ र ‘अन्ना क्यारेन्निता’ जस्ता विश्वप्रसिद्ध उपन्यास लेखे। यी उपन्यास अहिलेसम्ममा विश्वका विभिन्न थुप्रै भाषाहरूमा अनुवाद भएका छन्। सावास्टोपल, दि कोसाक्स, अँध्यारोको साम्राज्य, कुजर सन्नाटा, जिउँदो लास, मालिक, नोकर आदि उनका केही प्रमुख कृति हुन्।
जीवनको पछिल्लो समयमा टोल्सटोयले आफूलाई पूरै परिवर्तन गरे। आफ्नो नाममा कुनै पैतृक सम्पत्ति राखेनन्। आफ्ना नौ जना छोरा र श्रीमतीका नाममा सम्पूर्ण सम्पत्ति भागबन्डा गरिदिए। उनले आफ्नै पुस्तकहरूको रोयल्टीका भरमा जीवन निर्वाह गरे। उनले मांसाहारी भोजन त्यागेर शाकाहारी रोजे। महँगा लुगाकपडाको सट्टा सामान्य पहिरनमा हिँड्न थाले। यहाँसम्म कि उनी आफूले लगाउने जुत्तासमेत आफैं सिउँथे। यसरी सामान्य जीवन बिताउँदा उनमा गरिब दुःखी वर्गको जीवनको गहिरो अनुभूति भयो। र तिनै अनुभूतिहरू उनका साहित्यमा देखिए।
उनका विचारहरू तत्कालीन सामन्ती राज्यलाई पचेन। आफ्नै परिवारमा पनि उनी रुचाइएनन्। वैराग्य जागेपछि ७९ वर्षको उमेरमा एक रात उनी घरबाट लुसुक्क निस्किए। घर छाडेर हिँडेको करिब दुई वर्षपछि सन् १९१० नोभेम्बर २२ का दिनमा उनी आस्तामोपोको रेलवे स्टेसनमा मृत अवस्थामा भेटिए।