ढाका ढपक्कै
ढाका बुनाइ सीपले उनी आफू मात्रै आत्मनिर्भर नभई अरू महिलालाई स्वरोजगार बन्ने ढोका खोलिदिएकी छन्।
ढाका बुनाइ सीपले उनी आफू मात्रै आत्मनिर्भर नभई अरू महिलालाई स्वरोजगार बन्ने ढोका खोलिदिएकी छन्। उनले सयौं महिलालाई ढाका कपडा बुन्ने सीप दिएकी छन्। १५ जनाभन्दा महिलाले उनको उद्योगमा रोजगारी पाएका छन्। ती महिला महिनामा १५ हजार रुपैयाँभन्दा बढी कमाइ गर्छन्। सबैको घरखर्च ढाका बुनाइबाट नै टरेको छ। उनी अर्थात् सुभद्रा राजभण्डारी।
३० वर्षअघि माइतीबाट दुःखको भारी लिएर तेह्रथुम आएकी सुभद्राले जीवनमा अनेकौं कष्ट व्यहोरिन्। तर हिम्मत भने कहिल्यै हारिनन्। संघर्षलाई निरन्तरता दिइन्। जीवनमा केही गर्छु भन्ने अठोट लिएर अघि बढेकी उनी सफल उद्यमी बनी छाडिन्।
सुभद्राको नाम जिल्लामा मात्रै नभई देशभरि नै उत्कृष्ट तथा सफल ढाका उद्यमीका रूपमा परिचित छ। ढाका बुनेरै मासिक एक लाख रुपैयाँसम्म कमाइ हुन्छ। यसैको आम्दानीले घरखर्च चलेको छ। सदरमुकाम म्याग्लुङ बजारमा घर बनाएकी छन्। छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएकी छन्। उनको छोरा ओभरसियर विषयको तेस्रो वर्षमा तथा छोरी साइन्स विषय लिएर प्लस टु पढ्दै छन्। उनीहरूको पढाइखर्च पनि ढाका उद्योगले नै धानेको छ।
खोटाङको एँेसेलुखर्कमा जन्मिएकी उनी ६ वर्षको उमेर छँदा उनका बुवा परिवारलाई त्यहीँ छाडेर आसाम गएका थिए। उनको परिवारलाई दुःखले कहिल्यै छाडेन। भन्छिन्, ‘आमा बनिबुतो गर्न अरूको घर जानुहुन्थ्यो। आमाको कमाइले घरखर्च धान्थ्यो। आमाले पैसा नल्याए घरमा चुल्होसमेत बल्दैन थियो।’
सुभद्राका साथीहरू पढ्न स्कुल जान्थे। तर घरायसी समस्याले गर्दा उनी पढाइबाट वञ्चित थिइन्। एक दिन स्कुल जाने र अर्को दिन मेलापात गर्ने आमाको सर्तमा उनी दाजुदिदीसँगै स्कुल जान थालिन्। स्कुलको गृहकार्य कसरी गर्नेभन्दा पनि अब कसको घरमा काम गर्न जानुपर्ने होला भनेर उनलाई मनमा खुल्दुली लागिरहन्थ्यो।
२०५० मा दिएको एसएलसी परीक्षा काम र पढाइलाई सँगै निरन्तरता दिनु परेका कारण बिग्रियो। अनि उनमा सीप सिकेर आत्मनिर्भर हुने सोच पलायो। २०५१ सालमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले तीनमहिने ढाका कपडा बुनाइ तालिम आयोजना गरेको थियो। सो तालिममा उनलाई सीप सिक्ने अवसर प्राप्त भयो। तालिमले ढाका बुनेरै केही गर्छु भन्ने आत्मविश्वास बढाएको उनले बताइन्। तालिमपश्चात् घरमा तान बनाइन्।
घरमै बसी–बसी ढाकाको कपडा बुन्न थालिन्। ढाकाको कपडाबाट टोपी, सल, चौबन्दी, मफलर, रुमाल उत्पादन गरिन्। नेवार केटीले साह्रै रामो ढाका कपडा बुन्छे भनेर उनको चर्चा खोटाङ बजारभरि नै हुन थाल्यो। सोही कारण उनलाई घरेलु कार्यालयले २०५२ सालमा आयोजना गरेको तालिममा प्रशिक्षकका रूपमा नियुक्त ग¥यो। तालिमकै सिलसिलामा तेह्रथुमबाट प्रशिक्षक भई आएका भीम विश्वकर्मासँग उनको भेट भयो।
तालिम अवधिभर सँगै कार्यक्षेत्रमा रहेका उनीहरूबीच राम्रो मित्रता भयो। चिनजान भएको दुई वर्षपछि भागी विवाह गरे। दलितसँग बिहे गरेका कारण सधैंका लागि माइतीघर भुल्नु प¥यो। यता श्रीमान्को परिवारले पनि उनीहरूलाई स्वीकार्न सकेनन्। टीकाटालोसमेत नगरिदिएको उनले बताइन्। भनिन्, ‘माइतीघर छोडेर आए पनि उनलाई दुःखले छोडेन।’
तेह्रथुमको तम्फुलामा भीमको घर थियो। परिवारमा पाँच दाजुभाइ, तीन बहिनी र बुवाआमा गरी १० जना सदस्य थिए। ठूलो परिवार भएका कारण घरखर्च चलाउन मुस्किल थियो।
सुभद्रा र भीमसँग सीप थियो तर पुँजी थिएन। पुँजी अभावकै कारण उनीहरू आफैंले व्यवसाय सञ्चालन गर्न सकेनन्। काम खोज्नतिर लागे। बिहे गरेको एक वर्षपछि दम्पतीले सोही ठाउँमा सञ्चालित राधिका अधिकारीको ढाका उद्योगमा काम सुरु गरे। दुवै जनाको कमाइ महिनामा पाँच हजार पनि हँुदैनथ्यो।
त्यो कमाइ खान, लाउन र घरभाडा तिर्नमै ठिक्क हुन्थ्यो। जति काम गरे पनि बचत नभएपछि तेह्रथुम छाडेँ। धनकुटाको मौनाबुधुक बजारस्थित राजकुमारी लिम्बूले सञ्चालन गरिरहेको ढाका उद्योगमा काम गर्न पुगे। उनका श्रीमान् भीमको राजकुमारीसँग चिनजान थियो। सोही आधारले त्यहाँ पुगेको उनले बताए। उद्योगमा दुई वर्ष काम गरे। पछि एक छोरासहित पुनः तेह्रथुम फर्किए।
तेह्रथुममा भर्खरै ढंगराज पराजुलीले ढाका कपडा उद्योग सञ्चालनमा ल्याएका थिए। दम्पतीले त्यहीँ रोजगारी पाए। कमाइ गरेको पैसाबाट घर खर्च टार्दै बचत गर्न थाले। आफूले जम्मा गरेको केही रकम र स्थानीय सिंहदेवी महिला समूहको सिफारिसमा कृषि विकास बैंकले दिएको १५ हजार रुपैयाँ ऋणबाट आफ्नै लगानीमा ‘सरस्वती ढाका उद्योग’ सञ्चालनमा ल्याए।
२०५९ सालमा तेह्रथुमको म्यागलुङ बजारमा भीषण आगलागी भयो। बजारका ८६ घर जले। त्यो आगलागीमा सुभद्राको उद्योग पनि जल्यो। बल्लतल्ल दुःखले जोडेको उद्योग र त्यहाँ स्टोर गरिराखिएको सामग्री क्षणभरमै खरानी भएपछि उनको होशहवास उड्यो।
सबै ठाउँबाट हरेस खाएपछि भीमले विदेश जाने निधो गरे। सात वर्ष साउदी बसे पनि उनलाई ऋण तिर्न धौ–धौ बनायो। पैसा कमाउन विदेश गएका उनी निराश हुँदै खाली हात घर फर्किए। यता सुभद्रा मरणासन्न बिरामी भइन्। सबैको सहयोगमा विराटनगरमा उनको उपचार भयो। उपचारबाट बचेको केही रकम र केही दाताको सहयोगले उनीहरूले पुरानो उद्योगलाई ब्यूँताए।
संयुक्त राष्ट्रसंघीय निकाय (यूएनडीपी)को गरिबी निवारण योजनाअन्तर्गत लघुउद्यम विकास कार्यक्रमले उद्योग सञ्चालन गर्न तान, अन्य उपकरण, २० हजार रुपैयाँ ऋण र ढाका कपडाबाट उत्पादन भएका सामग्री बिक्री गर्न सो–रुम खोल्न सहयोग ग¥यो।
उद्योगबाट हाल साडी, पछ्यौरा, टोपी, स्कार्फ, सल, नेकटाई, ब्लाउज, सर्ट, रुमाल, चौबन्दी, कुर्ता, कोट लगायतका सामग्री उत्पादन हुन्छन्। उद्योगमा उत्पादन भएको ढाका टोपीको मूल्य ५ सय देखि ४५ सय रुपैयाँसम्म पर्छ। त्यस्तै साडीको मूल्य सातदेखि १० हजारसम्म, पछ्यौराको मूल्य एकदेखि चार हजारसम्म, सलको मूल्य आठ सयदेखि एक हजार रुपैयाँसम्म पर्ने उनले बताइन्। मेहतन र बुट्टाको कारण उचित मूल्य पाइने उनको भनाइ छ। उत्पाहित सामग्रीको मुख्य बजार धरान, धनकुटा, इटहरी, विराटनगर र काठमाडौं हो।
अहिले उनका श्रीमान् भीम पनि विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिममा सीप सिकाउन व्यस्त हुन्छन्। फुर्सदको बेला सुभद्रा आफैं पनि प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा गएर सीप सिकाउने गर्छिन्। यो व्यवसायबाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनले बताइन्। उनले भनिन्, ‘मेरा लागि जीविकोपार्जनको आधार नै यही भएको छ। यसैबाट चिनिएको छु। सन्तुष्ट छु।’
उनले विभिन्न राष्ट्रिय तहका पुरस्कार तथा सम्मान धेरै पटक पाइसकेकी छन्। २०७० सालमा आयोजित १२औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा ‘उत्कृष्ट उद्यमी पुरस्कार’, सोही वर्ष इलाममा आयोजित क्षेत्रीय औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनीमा ‘उत्कृष्ट उद्यमी’का रूपमा पुरस्कृत भएकी थिइन्। त्यस्तै २०७१ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको रजत महोत्सवमा पनि ‘उत्कृष्ट उद्यमी’ घोषित भइन्।
जिल्ला तथा स्थानीय स्तरमा आयोजना हुने मेला तथा प्रदर्शनीमा सहभागी भएर दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसकेको उनले बताइन्। उत्कृष्ट उद्यमी भएकै कारण विभिन्न कार्यशाला गोष्ठी तथा तालिममा सहभागी हुने अवसर उनलाई प्राप्त भइरहन्छ।
माग धान्नै गाह्रो
उनका अनुसार उद्योगबाट उत्पादित सामग्रीले बजारको माग धान्न सकेको छैन। ढाका कपडाबाट उत्पादन भएका सामग्रीप्रति आकर्षण बढेसँगै यसको मागमा वृद्धि भएको उनी बताउँछिन्। विशेष गरी ढाका कपडाको माग बाहिरी जिल्लाबाट बढी मात्रामा आउने गरेको छ। ‘माग धेरै छ।
जति उत्पादन गरे पनि बजारको समस्या छैन’, उनले भनिन्। ढाका कपडाबाट निर्मित जुत्ता, झोला, कुसन, आदिको पनि बजारमा माग बढेको उनले बताइन्। आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनी घरघरमा तान्न बुन्न लगाएर कपडा खरिद गरिदिन्छिन्। कतिपय महिलाले सीप सिकेका छन्। तर पुँजी अभावले तान खरिद गर्न नसकेका महिलालाई निःशुल्क तान उपलब्ध गराएर व्यवसायप्रति उत्पे्ररितसमेत गर्दै आइरहेकी छन्।