भूकम्पका नामैले झस्कन्छन् बालबालिका
२०७२ वैशाख १२ गते। यो दिनलाई धेरै भाइबहिनीले पनि पक्कै बिर्सन सकेका छैनन्। चार वर्षअघि यसै दिन महाभूकम्प आएको थियो। यसको केन्द्रबिन्दु रहेको थियो गोरखाको बारपाक। वैशाख ४ गते त्यही ठाउँमा हामी आठ जना फोटो पत्रकार पुगेका थियौं। गाउँ झिलिमिली देख्दा मन प्रफुल्ल भयो। बारपाकका १३ सय ३९ घरधनीमध्ये १२ सय १९ ले नयाँ घरसमेत बनाइसकेका रहेछन्।
बारपाक गाउँ होइन, सहरझैं प्रतीत भइरहेको थियो। भूगर्भव्दिको अध्ययनपछि त्यहाँ अझै जोखिम रहेकाले बारपाकका ५५ घरधनीलाई बस्ती सर्न भनिएको थियो। घर नबनाउनेहरू त्यही वर्गीकरणमा परेका हुन सक्छन्।
विद्यालय भूकम्पले विद्यालय भत्काएपछि त्यहाँका बालबालिकाले करिब डेढ वर्ष पढ्न पाएका थिएनन्। बारपाकका बालबालिकासँग बसेर कुराकानी गर्ने ठूलो धोको थियो। तर वैशाख ५ गते विप्लव माओवादीले घोषणा गरेको बन्दका कारण त्यो धोको पूरा हुन सकेन। बारपाकका विद्यालय पूर्णतया बन्द थिए। बन्दको मारमा परेका सुनसान विद्यालय देख्दा मन खिन्न भयो। विद्यालयलाई शान्ति क्षेत्र भनिन्छ। तर यति दुर्गम भेगका विद्यालय पनि बन्दको नाममा किन बन्द गराइएको होला भन्ने प्रश्न मनमा बारम्बार दोहोरिरह्यो।
विद्यालयमा जान नपाएपछि हामी गाउँ घुम्न निस्कियौं। त्यहाँका बालबालिका बिदामा आमाबाबुलाई सघाइरहेका देखिन्थे। कोही गहुँ निफनिरहेका थिए। कोही पानी ओसार्दै। कोही धाराको टुटीमै मुख जोडेर अघाउन्जेल पानी पिउँदै गरेको दृश्य पनि लोभलाग्दो थियो। यस्ता सुन्दर क्षणलाई आफ्नो क्यामरामा कैद नगरी म बस्नै सकिनँ। क्यामरा निकालेर तस्बिर लिन खोज्दा ती बालबालिका अलि लजाए झैं गर्थे। अनि फेरि खुसी हुँदै थरीथरीका पोज पनि दिन्थे।
बारपाक गाउँले पुनर्जीवन पाएसँगै यहाँ सहर बजारका सामग्री पनि भित्रिन थालेका छन्। भूकम्पअघि फुटबल नदेखेका केटाकेटी अहिले फुटबल खेलमा रमाइरहेका देखिन्थे। खेल मैदानको अभावमा साँघुरो गल्लीमै उनीहरू फुटबललाई लात्ताले हानेर यता उता गुडाइरहेका थिए। यही अभ्याससँगै उनीहरूको मेस्सी र नेमार बन्ने सपना पनि गाँसिएका हुन सक्छन्। यति नभए पनि, भूकम्पले दिएको पीडा बिर्साउने उनीहरूको खेलले पक्कै एक राम्रो खेलाडी बनाउने उनीहरूको यात्राको जग हाल्ने काम गर्नेछ।
एकातिर केटाकेटी फुटबलमा रमाइरहेका थिए भने अर्कोतिर करिब ८ वर्षीया बालिका अलग्गै बसेर टोलाइरहेकी थिइन्। मैले उनीसँग परिचय गरेँ। उनको नाम सावित्री घले रहेछ। सावित्राले भूकम्पमा आफ्नी हजुरआमा गुमाएकी थिइन्। भूकम्पको झट्का सम्झिँदा अहिले पनि उनको मन आत्तिन्छ। हजुरआमालाई लाने त्यो कहालीलाग्दो दिन सम्झिन मन लाग्दैन उनलाई।
वैशाखभरि ठूलाबडाले भूकम्पका कुरा गर्न छाड्दैनन्। जति जोडतोडले यस्ता कुरा चल्छन्, भूकम्प भोगेका बालबालिका उति नै बढी टोलाउन थाल्छन्। बारपाकमा अर्को बालपुस्ता पनि छ, जसले भूकम्पको कम्पन नै थाहा पाएको छैन। चार वर्षमुनिका ती बालबालिकामा भने उन्मुक्त हाँसो भरिएको देखिन्छ।
बारपाकमा पुनर्निर्माण भएका विद्यालयको उद्घाटन र हस्तान्तरण गर्न तयारी थालिएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख रामप्रसाद आचार्यले भने, ‘वैशाख १३ सम्म विद्यालय हस्तान्तरण तथा उद्घाटन सप्ताह अन्तर्गत १५ विद्यालय हस्तान्तरण हुनेछ ।’
पुनर्निर्माण नभइसकेका विद्यालयमा पढ्ने विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा पढ्दै आएका छन् । टहरोमुनि बस्दा जाडोमा शीत चुहिने र गर्मीमा जस्ता तातेर बस्नै नसकिने उनीहरूको गुनासो छ ।