रक्तसागर प्रेमसागर

रक्तसागर प्रेमसागर

जीवनमा जागिर खाने उद्देश्य कहिल्यै नराखेका उनले आफ्नो सफलतालाई पैसासँग जोखेनन्। पैसाको पर्वाह नगरी जीवनको उत्तराद्र्धमा आइपुग्दा पनि उनी मानवसेवामै लागेका छन्।


‘रक्तदान गरी गरौं जीवनदान

दानमा दान महादन रक्तदान...’
आफ्नो जीवन नै रक्तदानमा सर्मपण गरेका प्रेमसागर कर्माचार्यको गीतको पंक्ति हो यो। उनले गीतमार्फत रक्तदान गर्न प्रेरित मात्र गरेनन्, १६ वर्षे उमेरदेखि नै आफूले पनि रक्तदान गरे। उनका गीत र जीवन एकअर्काका पर्यायवाची बनेका छन्।

उनले आफ्नो ५६ वर्षे जीवनमा एक सय ५७ पटक रक्तदान गरे। प्रत्येक तीनतीन महिनामा रक्तदान गर्ने बानी नै लागेको छ उनलाई। रगत दिएपछि सेवाभावले उनको मन प्रसन्न हुन्छ। शारीरिक रूपमा पनि उनी आफूलाई निकै हल्का र ताजा भएको महसुस गर्छन्। प्रेमसागर नेपालमा अहिलेसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्ति हुन्।

उनको रगतले कति बिरामीको ज्यान जोगियो गणना छैन। रगत नपाएर जीवन जोखिममा परेकाहरूका लागि उनी रगत दाता खोज्न दिनरात नभनी लागिपर्छन्। बिरामीलाई रगत उपलब्ध गराउन उनी र उनीजस्तै रक्तदाता मिलेर ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ खोलेका छन्।

‘छैन’को विकल्प

नेपाल स्वयंसेवी रक्तदाता समाजको स्थापना नै नेगेटिभबाट भएको बताउँछन् प्रेमसागर। उनी भन्छन्— संस्थाको स्थापना नै ‘छैन’ भन्ने शब्दबाट भएको हो। ‘हामी रक्तदाता मानिसको ज्यान बचाउनु आफ्नो अहोभाग्य सम्झन्छौं। दिनरात नभनी रक्तदान गर्छौं तर बिरामी रगत लिन ब्लड बैंक जाँदा सधैं ‘रगत छैन÷रगत छैन’ भनेको मात्र सुन्न पर्छ’, उनी दुःखी हुँदै भन्छन्, ‘एकातिर निरन्तर रक्तदान भएको छ अर्कातिर रगतको अभाव यथावत् छ। आखिर कहाँ गयो त हामीले दान गरेको रगत ? ’
रक्तदाताका रगतको सदुपयोग गर्न रक्तदाताहरू नै मिलेर २०६२ माघ १५ मा संस्था स्थापना गरेको उनले बताए। उनी संस्थाका अध्यक्ष हुन्।
 
१६ वर्षदेखि रक्तदान

आफ्नो रगतले बिरामीको ज्यान जोगाउन लागिपरेका प्रेमसागर साँच्चै नै प्रेमका सागर हुन्। उनी अथाह प्रेमका भण्डार हुन् भन्ने कुरा उनको सेवामा झल्किन्छ। १६ वर्षदेखि लगातार रक्तदान गरेका उनी पहिलो पटक रगत दिँदाको क्षण सम्झनलायक भएको बताउँछन्।

उनले पहिलो पटक ‘रगत दिनुपर्छ’ भनेर दिएका थिएनन्। ‘अहिले ट्रमा सेन्टर भएकै ठाउँमा २०३६ सालमा ‘लक्ष्मी ब्लड बैंक’ थियो। त्यही बाटो भएर आउँदा जाँदा भरियादाइहरूसँग रगतका लागि सौदाबाजी गरेको सुन्थेँ’, उनले भने, ‘एक दिन भित्र कस्तो रहेछ भनेर हेर्न पसेको थिएँ। उनीहरूले रगत दिनुपर्छ भनिहाले।’

पहिला रगत दिने मानिस अहिलेजति पाइँदैनथ्यो। जो भेटिन्छ उसैको रगत लिइहाल्ने उनले बताए। रगत दिन १८ वर्ष हुनुपर्ने मापदण्ड छ। मानिस नै नपाइने भएर १६ वर्षमा उमेरको मापदण्डलाई पूरा नगरी उनको रगत लिइएको थियो।

तत्कालीन ‘लक्ष्मी ब्लड बैंक’का प्रमुख वासुदेव शर्माले रगत दिन उक्साएर मात्र रगत दिएका थिए प्रेमसागरले। ‘मैले रुचि नलागीकन पहिलो पटक रगत दिएँ। पछि फेरि आउजाउ गर्दा यो त सेवाको काम जस्तो लाग्यो। त्यसपछि लगातार तीनतीन महिनामा दिन लागेँ’, उनले भने।

बाबुबाट प्रेरित

आफ्नो बाबुको कामबाट प्रेरित भएर सेवाकर्ममा लागेको प्रेमसागर बताउँछन्। बाबु प्रेमपूर्ण कर्माचार्य सामाजिक अभियन्ता थिए। कृषि विभागअन्तर्गत ‘फार्म सिचाइँ तथा जल उपयोग शाखा’का जागिरे थिए उनी।

जागिरे भए पनि सामान्य चोटपटक लागेर आएका मानिसहरूको प्राथमिक उपचार घरमै गर्थे उनी। बुवाको यो सेवाभाव नै उनको जीवनको उत्प्रेरणा बन्यो। अर्थशास्त्रमा बीए गरेका प्रेमसागर बुवाको प्रेरणाले गर्दा नै जागिरतिर लागेनन्। उनलाई सधैं मानवसेवा ठूलोजस्तो लाग्यो।

२०२० सालमा उनको जन्म मजिमपाटमा भएको थियो। २०२८ सालमा उनीहरू बागबजार बसाइँ सरे। त्यति बेला उनको घरबाट टुँडिखेलतिर हेर्दा पूरै जंगल देखिन्थ्यो। वरिपरि खेत थिए। खेतमा काम गर्ने किसानलाई चोटपटक लाग्ने, रक्त श्राव हुने हुन्थ्यो। किसानहरू घाउचोट लाग्दा उनको घरमा उपचार गर्न जान्थे। उनका बुवा प्रेमपूर्णले किसानको सामान्य उपचार गरिदिन्थे।

रक्त श्राव भएका किसानहरू स्वस्थ भएर काममा फर्किन्थे। बुवाको यसरी बिनासर्त सेवा गर्ने तरिका प्रेमसागरको मनमा गढेर बस्यो। त्यही प्रेरणाले जीवनपर्यन्त उनले आवश्यक व्यक्तिलाई रगत दिएर वा उपलब्ध गराएर बिताउने निर्णय गरे र यसैमा लागे।

लगातार रक्तदान गर्ने उनी आफूले भेटेका जतिलाई निरन्तर रक्तदान गर्न प्रोत्साहन गर्छन्। उनी युवा अवस्थामा प्रवेश गर्नेलाई १८औं वर्षको जन्मदिन रक्तदान गरेरै मनाउन सुझाव दिन्छन्।

प्रेमसागरका दुई छोरी र एक छोरा छन्। उनले आफ्नो छोरोको १८औं जन्मदिन पनि रगत दान गरेर नै मनाउन लगाए। सोही समयबाट उनका छोरा पनि निरन्तर रक्तदान गरिरहेका छन्। आफ्नी छोरीको १८औं जन्मदिनमा पनि रगत दिएर नै मनाउने उनको विचार थियो तर सोही समयमा छोरी महिनावारी भइन्। उनको सो समयको चाहना पूरा नभए पनि पछि छोरी पनि रक्तदान गर्न लागिन्।

रक्तदानले निरोगी

५६ वर्षको उमेरसम्म लगातार तीनतीन महिना रक्तदान गरिरहँदा पनि उनलाई कमजोरी अनुभव भएन। उनी भन्छन्, ‘मलाई अहिलेसम्म कुनै ठूलो रोगले समातेको छैन। यसको एकमात्र कारण रक्तदान नै जस्तो लाग्छ।’

उनी सगोल परिवारमा नै बसेका छन्। उनको परिवारमा तीन छोराछोरी उनी, श्रीमती, फुपू, भतिज, भाइबुहारी, आमा गरी १० जना छन्। जीवनमा जागिर खाने र पैसा कमाउने उद्देश्य कहिल्यै नराखेका उनले आफ्नो सफलतालाई पैसासँग जोखेनन्। पैसाको पर्वाह नगरी जीवनको उत्तराद्र्धमा आइपुग्दा पनि उनी मानवसेवामा नै लागेका छन्।

‘तपाईं आफूलाई सबैभन्दा खुसी कुन क्षण महसुस गर्नुहुन्छ ? ’, उत्तर बडो प्रसन्न हुँदै दिन्छन् उनी, ‘बिरामीलाई रगत दिएर बचाउन सकेको समय सबैभन्दा बढी आनन्दमय लाग्छ। हामीले दिएको रगत नसामा बगेर कोही यो संसारमा जीवित छ भन्ने कुरा नै मेरो खुसीको उच्च बिन्दु हो।’

खुसीको एक घटना सुनाउँदै उनले भने, ‘मेरो लगभग रगत दिने समय भएको थियो। ब्लड बैंकबाट ‘ल प्रेमजी, ब्लड चाहियो। तुरुन्त आइदिनु प¥यो’ भनेर फोन गरे।
त्यहाँ पुगेपछि सधैंजसो रगत लिने काम भयो। रगत दिएर निस्किन लागेको थिएँ। ‘ल प्रेमसागरजी एकछिन पख्नुस्, म तपाईंको रगतले कति काम भयो देखाउँछु भने’, उनले खुसी हुँदै बताउँदै गए, ‘एकछिनमा नाकबाट रगत बगेको एकजना महिलालाई त्यहाँ सुताइरहेको रहेछ। उनको नाकबाट बगिरहेको रगत शरीरमा मेरो रगत चढाएपछि थामियो। उनको जीवन आफ्नो रगतले बाँचेको देख्दा मन निकै प्रसन्न भयो।’

खर्चमा आफन्तको भरथेग

उनले आफ्नो सबै श्रम र शक्ति समाजसेवा नै लगाएका छन्। उनका भाइ, बुहारी, श्रीमती जागिरे छन्। बुवाको पेन्सनबापत केही पैसा आउँछ। आमाले घरभाडा उठाउँछिन्। सबैजनाले उनलाई आर्थिक सहयोग गरेर उनको सेवाकार्यलाई प्रत्यक्ष सहयोग पु¥याएका छन्। त्यहीँबाट उनी आफ्नो खर्च धान्छन्।

दातालाई ल्याउने÷लाने, खाजा, चिया खुवाउने पैसा पनि उनी त्यसरी नै निकाल्छन्। ‘आदर्शवादी’ छन् उनी। ‘प्यासेन्ट’बाट एक पैसा पनि झुक्किएर नखाएको र अब पनि नखाने प्रतिबद्धता गर्छन्।

खर्चकै प्रसंगमा उनी बहिनीले गरेको सहायोग सम्झन्छन्। उनका बहिनीज्वाइँ दुबईमा बसेर काम गर्छन्। बहिनीले पनि आफूलाई नभनी आमामार्फत सहयोग गर्ने गरेको कुरा बताउँदा गहभरि आँसु पार्छन् प्रेम।

‘बहिनीले आमालाई मलाई नभनीकन दिनू भनेर पैसा पठाउने गर्दिरहिछे। आमाले पनि मलाई भन्नुभएको थिएन। पछि ‘न्युज २४’ले ‘आमा’ भन्ने कार्यक्रममा आमासँग अन्तर्वार्ता गर्न लाग्दा पो उहाँले खोल्नुभयो’, उनले भने, ‘मैले त्यो अन्तवार्ता हेर्दा आफूलाई थाम्नै नसकेर रोएँ। परिवारको सहयोगले सधैं भावविह्वल बनाउँछ।’

रगतको व्यापारविरुद्ध

उनी सरकार र अस्पतालका केही डाक्टर, नर्स लगायतका कर्मचारीसँग एकदमै आजित छन्। बिरामीको आवश्यक सहयोग नगरी हुकुमी शैलीमा रगत ल्याउन आदेश दिने र जिम्मेवारीबाट पन्छिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको व्यवहार अमानवीय लाग्छ उनलाई।

ठूलाठूला अस्पतालले नै दाताले ‘फ्री’मा दिएको रगतको उच्च मूल्य लिएर गरेको व्यापारलाई कटाक्ष गर्दै उनले एउटा नारा नै बनाएका छन्, ‘स्वयंसेवी रक्तदाता दुहुनो गाई÷रक्त व्यवस्थापन मंसिरको दाइँ’।

यही प्रसंगमा उनी एउटा घटना बताउँछन्, ‘धादिङका एकजना होम भन्ने ड्राइभर भाइले श्रीमती डेलिभरी हुने बेला भएर अस्पताल ल्याए। राति २ बजे इमर्जेन्सीमा ‘ए नेगेटिभ’ रगत चाहियो भनेर कल गरे। सोही दिन दिउँसो बानेश्वरमा रक्तदान हुँदा दुई जनाको शरीरबाट ‘ए नेगेटिभ’ रगत तानेको थिएँ।

मध्यरातको २ बजे कल गरेर चारवटा रगत ल्याउन भने। उनी आइनपुग्दै म राति नै ब्लड बैंक पुगेँ।’ विगतको स्मृतिबाट घटना केलाउँँदै उनले भने, ‘त्यहाँ दिउँसोको रगत रहेनछ। धेरैतिर बुझ्दा त्यो रगत ग्रान्डीमा लगेका रहेछन्। हाम्रो बिरामीलाई भोलि बिहान ओपीडीमा चाहिन्छ भनेर दिनै मानेनन्। पछि धेरै बिन्ती गरेपछि दिउँसो दाताले सित्तैमा दिएको रगत २९ सयमा किनेर ल्यायौं।’

राज्यले रक्त व्यवस्थापनमा गर्नुपर्ने जिम्मेवारी पूरा नगरेकाले निकै निराश छन् प्रेमसागर।

उनीहरूको संस्थाले रेडक्रसलाई निःशुल्कको छाप लगाएर दिएको रगतलाई पनि उचित प्रयोगमा ल्याउन नसकेको उनको आरोप छ। एक पटक दुई लाख ब्लड ब्याग दिँदा उनीहरूले ५० हजार ब्याग त ड्यामेज नै गरेर फालेको उनले बताए।

‘स्वयंसेवी रक्तदाता समाज’ भन्ने संस्थाका लागि आवश्यक रगत र रक्तदाता जम्मा गर्न उनी देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम लिएर पुगेका छन्। उनको जीवन र सेवा रक्तदान गर्नेका लागि मात्र नभएर सबैका लागि एउटा प्रेरणा बन्न सक्छ।

अझ कति वर्षसम्म उनी रगत दिइरहलान् ?
भन्छन्, ‘शरीरमा रोग नलागे ७० वर्षसम्म या त्योभन्दा पछिसम्म।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.