नयाँ नयाँ सपना ल्याएँ ...
यस्ता दिन पनि आए कि कहिलेकाहीँ त मान्छे नआइदिए पनि हुने जस्तो भयो। कर्मचारीहरू थकानमा हुन्थे। कलेज, स्कुलले यहाँ जान वार्षिक क्यालेन्डर बनाए। उद्यमशीलताका प्रयोगात्मक कक्षा यहीँ हुन थाले।
तीनतिर हरियाँ पहाडको बीचमा सुन्दर फाँट। समथर र उब्जाउ जमिन। ग्रामीण जीवनशैली। धार्मिक स्थलहरू। जलाशयको क्षेत्र कुलेखानी र हेटौंडाको वैकल्पिक मार्ग। यी सबैको सेतु यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।
हजुर, तपाईं चित्लाङमा हुनुहुन्छ। र, चित्लाङ आएपछि तपार्ईंले सम्झनै पर्ने व्यक्ति हुन्– देवेन्द्र नेपाल (३९)। हाल मकवानपुर जिल्ला, थाहा नगरपालिका १० मा पर्ने चित्लाङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास देवेन्द्रले गरेका हुन्। देवेन्द्र ‘फादर अफ मोर्डन चित्लाङ’ को रूपमा चिनिन्छन्।
स्वच्छन्द भैरव माविबाट एसएलसी सकेका देवेन्द्रले ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा स्नातक गरे। स्नातक पढ्दै गर्दा उनी प्लस टुलाई पढाउँथे। पढ्दै गर्दा राम्रो कम्पनीमा जागिर खाने अपेक्षा थियो। स्नातकोत्तर पनि ट्राभल एन्ड टुरिजममै सकेपछि सुरु भयो जागिरको खोजी। काठमाडौंमा ट्राभल एजेन्सीहरूमा काम गर्दै गर्दा अचानक दुबईको ट्राभल एजेन्सीबाट जागिरको अफर आयो। भर्खर १५÷२० हजार तलब खान थालेका उनलाई ६ अंकको अफरले यसरी तान्यो, केही नसोची ‘ओके’ गरे।
२००८ मा दुबई गएका उनी त्यहाँ लामो समय बस्न सकेनन्। भन्छन्– एक खालको हीनताबोध जस्तो भयो। नेपाल र दुबईको तुलना गरे। दुबईमा जे जति विकास भएको थियो, त्यो सबै मान्छेको पौरखले भएको थियो, तकनिकीले भएको थियो। नेपालमा प्रकृतिले जे दिएको थियो, त्यो दुबईलाई प्राप्त थिएन। र, पनि मान्छेले प्रकृतिलाई च्यालेन्ज गरेको थियो। यो सबैकुरा देखे भोगेपछि एक महिनामै उनी नेपाल फर्किए। फर्किनुको मुख्य कारण थियो– चित्लाङ। यहीँ केही गर्ने सुषुप्त योजना दिमागमा थियो।
चित्लाङ चिन्तन
सन् २००३ देखि नै देवेन्द्र चित्लाङ प्रवद्र्धनमा लागेका थिए। खाने बस्ने ठाउँ अहिले जस्तो थिएन। तै पनि एक दिनको प्याकेज बनाएर उनी साथीभाइ घुमाउँथे। त्यो खासमा पिकनिक टुरको प्याकेज थियो। साथीभाइलाई घुमाउन लैजान्थे र पिकनिक खुवाएर पठाउँथे। यसबाहेक उनी चित्लाङबारे पत्रपत्रिकामा लेख लेख्थे।
आफूले गरेको यही कामलाई व्यावसायिक बनाउने दृढता बोकेर दुबईबाट ६ अंकको जागिर छोडेर स्वदेश फर्किएको उनी सुनाउँछन्। ‘दुर्बइमा धेरै राम्रा राम्रा काम मान्छेले नै गरेका छन्। मैले चाहिँ कसो गर्न नसकौंला भनेर नेपाल फर्किएँ’, उनी सुनाउँछन्।
जागिरलाई लात मारेर एक महिनामै फर्किएका उनीसँग सपनाबाहेक केही थिएन। सोचेको काम सुरु गर्न पनि पैसा चाहिन्थ्यो तर घरमा खाने चामलसमेत थिएन। घर चलाउन केही न केही पैसा चाहिन्थ्यो। आम्दानीको कुनै स्रोत थिएन। पैसाले नै रोकिएपछि पुनः बाध्य भएर जागिर सुरु गरे।
बिहान प्लस टु पढाउने र दिउँसो ट्राभलमा काम गर्ने उनको पुरानो दैनिकी फेरि सुरु भयो। घर खर्च चलाउन धौ धौ थियो। सोच्ने पनि फुर्सद नमिलेपछि एक वर्षपछि ट्राभलमा काम छोडे र पढाउने मात्र काम गरे। फुर्सदमा झन् ‘फ्रस्टेसन’ हुन थाल्यो। के गरौं, कसो गरौंको अवस्थाले उनलाई पुनः दुबई जाने अवस्थामा पु¥यायो। कम्पनीमा सम्पर्क गरे। तर एक महिनामै काम छोडेर हिँडेका उनलाई कम्पनीले किन बोलाउँथ्यो ?
देवेन्द्र एक दिन तनाबमा दिउँसै सुतिरहेका थिए। ‘यसैगरी लत्रेर बस्ने कि ? उठेर खुट्टा टेकेर हिँड्ने ? ’ उनको तनावबाट झन् तनावमा परेकी दिदी आक्रोशित भइन्, ‘लत्रेर कहीँ पुग्दैनस्, जे सकिन्छ, त्यही गर्ने। आत्तिएर हुन्छ ? ’
देवेन्द्रलाई पनि तनाव पचिसकेको थियो। ‘सुरुसुरुमा मात्र तनावले पिरोल्ने रहेछ। धेरै तनाव भएपछि सामान्य लाग्ने रहेछ’, उनी सुनाउँछन्, ‘जीवनमा मैले सिकेको पाठ हो।’
व्यावसायिक यात्राको सुरुआत
सन् २००९ को अन्त्यतिर। अब चाहिँ काम गर्छु भन्ने आँट आयो देवेन्द्रलाई। विद्यालयको चौर सुन्दर र आकर्षक थियो। सोही चौर लिजमा लिएर रिसोर्ट खोल्ने योजना बताए। चौर १५ वर्षको लागि भाडामा लिए। तर उनीसँग भाडा तिर्ने पैसा कहाँ थियो र ? उनका दाइले भाडाबापतको रकम दिने भए। पहिल्यैदेखि नै ट्रेकिङ, क्याम्पियन गरिरहेका थिए। टुर प्याकेज बनाए। ठमेलबाट टेन्ट भाडामा ल्याए। चौरमा टेन्ट टाँगे। मइन्टोल झुन्ड्याए।
स्थानीय पसलबाट दाल, चामल र आवश्यक सरसामान उधारोमा खरिद गरे। गाउँको समूहबाट पकाउने भाँडा भाडामा ल्याए। सल्लाको हाँगा बारेर किचन बनाए। सिरक, डसना घरबाट ल्याए र नपुगेको गाउँबाटै संकलन गरे। किचनको अनुभव भएका उनका भाइले साथ दिए। टुर प्याकेज बनाएर काठमाडौंबाट मान्छे लगे। केही साथीभाइहरू पनि गएका थिए। यो पहिलो व्यावसायिक काम थियो। उक्त प्याकेजबाट उनलाई चार हजार घाटा लाग्यो। ४२ हजार आम्दानी तर ४६ हजार खर्च भयो।
‘कमाउँछु भनेको उल्टै घाटा लाग्यो’, उनले भने, ‘तर खर्च घटाउने ठाउँ पत्ता लगाएँ। खर्च घटाउँदा पैसा कमाउने सकिने देखेँ। एउटै क्याम्पियनमा २० हजार कमाउन सकिने सम्भावना देखेँ।’ अर्को हप्ता पनि प्लानिङ गरे जसबाट ६ हजार नाफा कमाए।
टेन्ट भाडा, गाडी भाडा गर्दा धेरै खर्च प¥यो। त्यसपछि खर्च कम गर्न चौर छेउकै घरहरूसँग कुरा गरे। प्रतिव्यक्ति एक सय रुपैयाँ दिने गरी घरका कोठा मिलाए। उक्त घरमा मान्छे राख्न थाले। एउटै घरले मासिक ६ हजारसम्म आम्दानी गर्न थाले।
यसो गर्दा धेरै फाइदा भयो। प्रतिव्यक्ति चार सय रुपैयाँ फाइदा हुने भयो। यसो गर्दा दोहोरो फाइदा भयो। एकातिर गाउँका घरले थोरै थोरै भए पनि आम्दानी अर्कोतिर खर्च कम हुने भयो।
सुरुमा शुक्रबार मात्र क्याम्पियन गर्थे। आउने मान्छेलाई पनि नयाँ प्रकारको अनुभव हुने। यो टुर प्याकेज स्कुल, कलेजमा लोकप्रिय भयो। विस्तारै–विस्तारै हरेक हप्ता खाली नै नहुने अवस्था भयो। शुक्रबार राख्न नसकेका मानिसलाई शनिबार बोलाउन थाले। त्यसपछि चौरभित्रै कटेज निर्माण गरे। बिस्तारै सामान जोड्दै गए। पाँच वर्षसम्म सामान किन्दैमा ठीक भयो। मान्छे पनि भीड नै देखिने। तर सामान किन्दैमा पैसा सकिन्थ्यो। श्रीमती पनि जागिर खानै जोड गर्थिन्।
साथी पसलबाट लगेको सिरक डसनाको ७० हजार रुपैयाँ तिर्न मात्रै ६ महिना लागेको उनी बताउँछन्। पसलबाट ७० हजारको सामान ल्याए। सुरुका दिनमा भाडा टिप्ने र सर्भिस गर्ने काम उनी आफैं पनि गर्दथे।
सुरुको दुई महिनासम्म कम्पनी नै दर्ता गरेको थिएन। उनी भन्छन्, ‘त्यसपछि ‘चित्लाङ अग्यानिक भिलेज रिसोर्ट’ भनेर दर्ता गरेँ।’ भाडामा दिएको जग्गामा तरकारी खेती पनि सुरु गरे। उक्त चौरमा खेती कहिल्यै भएको थिएन। माटोमा विषादी भन्ने चिज नै मिसिएको थिएन।
‘त्यहाँ अग्यार्निक तरकारी खेती सुरु ग¥र्यौं। धेरै मान्छे आउन थालेपछि चार÷पाँच रोपनीमा लगाएको तरकारीले पुग्ने कुरै भएन। अनि तरकारी खेती छाडेँ’, भन्छन्। स्थानीयहरूलाई तालिम दिएर तरकारी खेती गर्न प्रोत्साहन गरेर उनीहरूबाट तरकारी खरिद गर्दैै आएका छन्। गाउँलाई नै अग्र्यानिक बनाउने अभियानसमेत उनले चलाएका छन्।
६० जना जति बस्न मिल्ने गरी कटेज निर्माण भइसकेको थियो। ‘ग्रुप धेरै राख्ने क्षमता भइसकेको थियो। अब चाहिँ ठीक अवस्थामा छु है भन्ने समयमा भूकम्प गयो’, उनी सम्झन्छन्। कमाएको पैसा सबै लगानी गर्दै गएका थिए। त्यस समयमा मासिक एक लाख ५० जति कमाइ हुन्थ्यो। त्यसपछि बल्ल दुबईको तलब बिर्सें।
जब फर्केर हेर्ने दिन आएन
भूकम्प गएको दुई महिना निकै कठिन भयो उनलाई। भूकम्पको दुई महिनापछि व्यापार बढ्न थाल्यो। विभिन्न पत्रपत्रिका, अनलाइनमा चित्लाङ र रिसोर्टको बारेमा लेख आउन थाल्यो। ‘त्यसपछि शुक्रबार, शनिबार भन्ने नै भएन। दैनिक ग्रुप आउन थाल्यो। शुक्रबार र शनिबार त कुरै नगरम्’, उनी भन्छन्।
त्यसपछिका दिन यस्तो भयो कि एक दिन चाहिँ मान्छे नआइदिए पनि हुने भन्ने जस्तो भयो। कर्मचारीहरू थकानमा हुन्थे। ‘धेरै कलेज, स्कुलको वार्षिक क्यालेन्डर नै बन्यो, हाम्रो रिसोर्टमा बस्ने गरी’, भन्छन्, ‘उद्यमशीलता विषयको प्राक्टिकल हाम्रै रिसोर्टमा हुन थाल्यो। गेस्ट लेक्चर भएरसमेत जान थालेँ। कलेजकलेजमा गएर पढाउनुपर्ने अवस्थासमेत आयो।’
रिसोर्टले पाहुनालाई नासपतीको वाइन टेस्ट गराउँछ। मकैको पाउरोटी ब्रेक फास्ट खुवाउँछ। बाख्राको चिज पनि पाइन्छ। रिसोर्टमा आएका पाहुनालाई साइड सिन गराउन थालिएको छ। ‘चित्लाङ चिनाउने अभियानमा छौं। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी लिन बिहानको दुई घण्टा कल्चरल टुर बनाएका छौं’, उनी भन्छन्, ‘सामान्य खाने, रमाउनेमात्र यहाँ हुँदैन।’