आर्थिक अभावमा बन्द हुँदै लक्ष्मी मावि
डोल्पा : हाल जिल्लाको ठुलीभेरी नगरपालिका- ६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालय स्रोत अभावकै कारण बन्द हुने अवस्थामा पुगेको छ। २०६६ सालमा पहिलो पटक निजी स्रोतबाट माध्यामिक विद्यालय बनाएर सञ्चालन गरेको उक्त विद्यालय आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो।
विगत लामो समयदेखि डोल्पा जिल्लामा समुदायकै स्रोतबाट विद्यालय सञ्चालनमा रहेका छन्।प्रतिस्प्रधाको होडबाजी गरी जिल्लामा आधारभुतदेखि माध्यामिक विद्यालयसम्म समुदायले नै निजी स्रोत व्यवस्थापन गरेर सञ्चालन गरिरहेका छन्।
आर्थिक अभावकै कारण वर्षौदेखिको तलब समेत नपाएको माविका निजी शिक्षक गोबिन्द बुढाले दुखेसो सुनाए। उनले भने,' तल्लो कक्षादेखि कक्षा दशसम्म करिब २ सय विद्यार्थी अध्ययनरत छन्। सदरमुकाम दुनैबाट एक दिनको दूरीमा पर्ने लक्ष्मी माध्यामिक विद्यालयमा हरेक वर्ष विद्यार्थी थपिदै गएपनि समुदायले आर्थिक व्यवस्थापन गर्न नसक्दा विद्यालय बन्द हुने अवस्थामा पुगेको हो।'
समुदायको आर्थिक संकलनको मुख्य स्रोत नै यार्सागुम्बु रहेको र पछिल्ला वर्षमा यार्सागुम्बाको शुल्कमा समेत ह्रास आएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको हो।
समुदायले हरेक वर्षमा माध्यामिक तहमा पढाउने शिक्षकलाई ५० लाखसम्म ब्यहोर्न नसक्ने र दरबन्दीको व्यवस्था नगरे यसै आर्थिक वर्षमा विद्यालय बन्द हुने प्रधानाध्यापक गगन बुढाले बताए।
२०६८ सालमा यो विद्यालयबाट पहिलो पटक एसएलसी दिएको हो।विद्यालयबाट हालसम्म १ सय भन्दा बढी विद्यार्थीले एसएलसी उत्तिर्ण गरेका छन्। समुदायकै स्रोतबाट माध्यामिक तह पढाउने ३ जना र निम्न माध्यामिकमा अध्ययन गराउने ३ जना गरी ६ जना शिक्षकले हाल अध्यापन गराइरहेका छन्।
यार्सागुम्बाबाट विद्यालय धान्न नसक्ने अवस्थामा पुगेपछि स्थानीय सरकारले नै दरबन्दीको व्यवस्था गरी संचालन गर्ने वडा अध्यक्ष धर्मलाल बुढाले प्रतिबद्धताले बताए।
जिल्लामा ९७ वटा आधारभुत विद्यालय र १६ वटा माध्यामिक विद्यालय सञ्चालनमा छन्। माध्यामिक तहमा शिक्षकको दरबन्दी ८० जना भएपनि ४० जना मात्रै शिक्षक रहेकाले पनि लक्ष्मी माध्यामिक विद्यालयलाई शिक्षक दरबन्दी दिन नसकिएको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जानकारी दिएको छ।
निरन्तर माथिल्लो निकायमा माग भैरहँदा पनि शिक्षकको दरबन्दी स्वीकृत नभएको र समुदायले निजी स्रोतबाटै शिक्षक राख्ने गरेको हुँदा शिक्षकको पद भनेअनुसार दिन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सिंहराज डाँगीले जानकारी दिए ।