विभेदविरुद्ध बिगुल

विभेदविरुद्ध बिगुल

दलित आन्दोलनको खम्बा हुन् विष्णुमाया। गोरखाको ग्रामीण भेगमा जन्भिएर जातीय विभेदको बिगुल फुक्दै वर्षाैं बिताएकी विष्णुमायाले अमेरिकीमा मेयरको सल्लाहकार हुने दिनसम्म दुख र संघर्षको पहाड बनाएकी छन्।


सेप्टेम्बर २७ : डा. विष्णुमाया परियार डे। अमेरिकाको केन्टुकी लुइजभिल नगरको क्यालेन्डरमा अंकित दिन हो यो। २०१५ सेप्टेम्बर २७ देखि हरेक वर्ष यो दिवस मनाइन्छ, जुन सम्मान कमै नेपालीले पाउँछन्।

‘दमैकी छोरीले किन पढ्नुप¥यो’ भन्थ्यो समाज। तर अभिभावकले पढाउन छाडेनन्। दुःखकष्ट र डरलाग्दो छुवाछूत छिचोल्दै उनले पढिन्। आज उनै विष्णुमाया संसारले चिन्ने मात्रै होइन, मान्ने औकातमा पुगेकी छन्।

बुवा रूपबहादुर गाउँका लुगा सिउँथे। आमा कनमाया घर धान्थिन्। लगालग जन्मिएका छोरीहरू स्याहार्थिन्। लुगा सिलाएर आउने कमाइले परिवार धान्नै हम्मे थियो। बालबच्चा पढाउन सजिलो थिएन। तैपनि रूपबहादुरले छोरीहरूलाई स्कुल पठाउन छाडेनन्।

छोरी नै छोरीका पाँचौं नम्बर हुन्, विष्णुमाया। गोर्खा ताक्लुङकोटमा जन्मिएर सिन्जाली निमावीमा कक्षा ७ सम्म पढिन् उनले। मनकामनाबाट एसएलसी दिएकी विष्णुमायाले नामअगाडि डाक्टर लेख्ने दिनसम्म धेरै दुःख र कष्ट खेपेकी छन्।

एसएलसीपछि पढ्न काठमाडौं चढिन्। तर, बाबुआमासँग मागिरहने पैसा थिएन। उनले भने हार मानिनन्। ‘काठमाडौंका गल्लीमा भोकै, पेटमा सल बाँधेर मन अमिलो बनाउँदै हिँडेकी छु,’ उनी भन्छिन्, ‘तर मैले कहिल्यै पढाइ छाडिनँ। हार मानिनँ।’

त्यसो त विष्णुमायाको अध्ययन विद्यालयका शिक्षकहरूको प्रेरणाले पनि सम्भव भएको थियो। दलित समुदायबाट छोरी पढ्ने त्यसमाथि लगनशील भन्ने थाहा पाएपछि उनलाई अमेरिकाको पिस्कोर संस्थाले संरक्षण दियो। स्कुल त पार भयो, काठमाडौंमा क्याम्पस पढ्नसमेत सहयोग गर्ने आश्वासन पाएर उनी अघि बढेकी थिइन्।

तर, त्यस्तो सहयोग आएन। काठमाडौं पुगेको दिनदेखि नै कष्टकर जीवन सुरु भयो। ‘गार्मेन्टमा काम गर्दै पढ्नुपर्ने बाध्यता आइलाग्यो’, उनी सम्झन्छिन्, ‘कति छाक भोकै बसियो।’

बुवाले आफन्तको घरमा बस्ने भनेर काठमाडौं पठाउनुभयो। तर त्यहाँ बस्ने अवस्था थिएन। तिनको आफ्नै व्यथा कसले देखिदेओस्। विष्णुमायाले आफ्नै ढंगले बस्नुपर्ने भयो। कति रातै उनले गार्मेन्टमै बिताएकी छन्।

पिस्कोर स्वयंसेवकले उनलाई भनेर रकम त पठाएकै रहेछन्। खाइदिएको रहेछ अर्कैले। जब रहस्य खुल्यो, बल्ल उनको हातमा रकम प¥यो। स्नातक तहसम्मको पढाइ सकिने क्रममा थियो, पिस्कोरका जोन ब्रुबमनले उनलाई अमेरिका लाने र छात्रवृत्तिमा पढने व्यवस्था मिलाइदिए।
अनि, सुरु भयो जीवनको ‘टर्निङ प्वाइन्ट’।

अमेरिकामा उनले पहिलो बर्ष नर्थ इष्र्टन यूनिर्भसिटीमा पढिन्। त्यसपछी पाइन म्यानर कलेजमा पूर्ण छात्रबृत्तिमा पढ्ने अवसर पाइन्। कलेजमै बिभिन्न बिधाका अवार्डसमेत जितिन्। छात्रबृत्तिमा पढे पनि अन्य खर्चको व्यवस्थापन गर्न घरमा बालबालिका हेर्ने र स्टोरमा काम गरेर केही आर्जन गरिन्। अन्ततः उनले क्लार्क यूनिर्भसिटीबाट छात्रबृत्तिमा स्नातकोत्तर तहसम्मको पढाई सक्ने अवसर पाइन्।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित विष्णुमाया केयर प्वाइन्ट हेल्थ नामक कम्पनीमा उच्च पदमा रहेर आफ्नै दैनिकी चलाइरहेकी छन्। घरेलु हिंसामा परेका महिलाको अधिकार, दलित अधिकार, सामाजिक न्याय तथा मानवअधिकारको क्षेत्रमा निरन्तर क्रियाशील तिनै ‘दमैकी छोरी’ विष्णुमाया अहिले अन्तर्राष्ट्रिय जगत्मा नेपालले गर्व गर्ने नारीका रूपमा चित्रित छन्। करिब १५ वर्षदेखि जातीय विभेदविरुद्ध बिगुल फुकिरहेकी विष्णुमाया अमेरिकाको न्यूजर्सी सिटी मेयर सल्लाहकार र एडवान नामक संस्थाकी संस्थापक अध्यक्ष, सामाजिक अभियान्ता भएर काम गरिरहेकी छन्।

उनको संस्थाले महिला तथा बाल सशक्तीकरणका क्षेत्रमा काम गर्छ। यसमा ५० हजार महिला आबद्ध छन्। ३० हजार विद्यार्थीलाई सहयोग पु¥याएको छ। स्वास्थ्य, माइक्रो फाइनान्स आदि कार्यक्रमबाट ठूलो समुदायलाई लाभ दिलाएको छ। घरेलु हिंसा, यौन हिंसाविरुद्ध जागरण चलाएको छ। जीवीकोपार्जनका परियोजना सञ्चालन गरेको छ।

‘बुवाको हिम्मत र प्रेरणाले नै आज विष्णुमाया भन्ने नाम समाजमा स्थापित छ,’ उनी सम्झिन्छिन्। आफू जन्मेको गाउँ र आफूले देखेको क्षेत्रमा गरिने जातीय विभेदले विष्णुमायाको छाती निरन्तर पोल्थ्यो। हरेक दिन हेपेर गरिने व्यवहारले उनलाई झस्काउँथ्यो। यसै कारणले विरुद्धमा लड्नुपर्छ भन्ने मान्यता उनले बाल्यकालमै लिएकी हुन्। ‘गाउँमा दलितलाई गरिने विभेद देख्दा मैले दलित आन्दोलनको अगुवा बन्छु भनेर कसम खाएकी थिएँ,’ उनले भनिन्, ‘बुवाले यो सब पढेपछि मात्रै सम्भव छ भन्ने ज्ञान दिनुभयो।’

सानैदेखि पढाइमा चलाख अनि चतुर विष्णुमाया स्वभावले साह्रै नरम छिन्। तर जातीय विभेदमा उनी अडिग र कठोर छिन्। एक दिन स्कुलमा तिर्खा लाग्दा उनलाई अञ्जुलीमा थापेर पिउन भनियो। उनले त्यस दिनदेखि कहिलै स्कुलमा पानी पिइनन्। विगत सम्झँदै विष्णुमाया भन्छिन्, ‘धाराको टुटी पनि छुन दिँदैनथे, त्यही अवस्थामा मैले सोचें, यो परिर्वतन गर्नुपर्छ। दमैको छोरी किन पढ्न आको चाहिँ भन्थे। दलित समुदायकै व्यक्तिहरू समावेश गरेर यो अन्याय हो, यो विभेद अन्त्य गर्नुपर्छ भनेर म लागेकी हुँ।’

विष्णुमायाले भोगेको समाजले दलितलाई हेपाहा प्रवृत्तिमा राखेको थियो। अहिले समाजमा धेरै चेतना आएको छ। उनको बुझाइमा पूर्ण सफल हुन अझै केही वर्ष लाग्छ। तर सबैले यो गलत रहेछ भन्ने बुझेका छन्। विभेद पुरानो पुस्तामा बढी हाबी छ। अहिलेका युवाहरूमा त्यस्तो देखिँदैन। एकाधबाहेक अन्यले जातीय कुरा गरेको सुनिँदैन। कानुनले समेत बन्देज गरेको छ, जसले यो विभेद अन्त्य गर्न सहयोग पुगिरहेको छ।

जातीय विभेद भोगेर त्यसकै अन्त्य गर्ने लक्ष्य बाल्यकालमै लिएकी विष्णुमायाले जीवनको अन्तिम काल खण्डसम्म यही आन्दोलनमा रहने प्रण गरेकी छन्।
ज्यालामा आउने कोदो र मकै बेचेर छोरीलाई डाक्टर बनाउने सपना थियो बाबुआमाको। अन्ततः त्यो सावित गरिन् उनले। आफैंले पढेको पाइन म्यानरबाट मानार्थ विद्यावारिधि उपाधि हासिल गरिन्। त्यो पनि विभेदविरुद्ध बिगुल फुकेको सम्मानस्वरूप।

दलित आन्दोलनको खम्बा हुन् विष्णुमाया। गोरखाको ग्रामीण भेगमा जन्भिएर जातीय विभेदको बिगुल फुक्दै वर्षाैं बिताएकी विष्णुमायाले अमेरिकीमा मेयरको सल्लाहकार हुने दिनसम्म दुख र संघर्षको पहाड बनाएकी छन्।

कसरी यो विभेद पूरै हटाउन सकिन्छ भन्ने प्रश्नमा विष्णुमाया भन्छिन्, ‘हिजो म हुर्केको समाजले बाहिरै ढोकाको छेउमै बस्नुपर्ने मानसिकताको विकास गरेको थियो। खाएको थाल सुकेपछि सुनपानीले छर्केर भित्र लैजाने चलन थियो। दमैले सिलाएको भोटो लगाउने तर भात नचल्ने समाज थियो। त्यसको स्वरूप रातारात फेरिने होइन। तर असम्भव पनि छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.