उविलालको कागत

उविलालको कागत

नेपाली हाते कागज उत्पादन गरी जाजरकोटका उविलालले युरोप–अमेरिकासम्म निर्यात गर्छन्।


कुनै बेला जागिरका लागि निकै भौंतारिने ४५ वर्षीय उविलाल घर्तीको मिहिनेत र पौरख देखेर अचेल स्थानीय दंग छन्। नेपाली हाते कागजको लघु उद्यमका लागि कुशे गाउँपालिका—५ पाँचकाटिया निवासी उनी प्रेरणाका स्रोत बनेका छन्।

एसएलसी पास घर्तीले २०४८ सालमा गृहस्था श्रम केन्द्र नामक गैरसरकारी संस्थामा सामाजिक परिचालक बनेर ५ वर्ष काम गरे। परियोजना सकिएसँगै उनको जागिर पनि छुट्यो। ५ वर्षे जागिरबाट पैसा बचत हुन सकेन। त्यसपछि उनको जागिर खाने भोक पनि मेटियो।

फुर्सदिला भएका उनी तत्कालीन माओवादी सशस्त्र युद्धमा सहभागी भए। उनले एक दशक भूमिगत राजनीतिमै बिताए। पार्टीमा क्षेत्रीय ब्युरो सदस्य भए। पार्टीमा लागेर लाभको कुनै पद पाएनन्। माओवादी शान्ति प्रक्रियामा आएसँगै उनले तीनचुली अल्लो तथा नेपाली हाते कागज उद्योग स्थापना गरेर व्यवसाय सुरु गरे। जल, जमिन र जंगललाई उपयोग गरेर स्वरोजगार सिर्जना गर्नुपर्छ भन्ने मान्यताका साथ व्यवसाय थाले। उनी अहिले राजनीतिमा निष्क्रिय छन्।

नेपाली हाते कागज उत्पादनका लागि कच्चापदार्थ लोक्ता आवश्यक पर्छ। जुन जाजरकोटका जंगलमा प्रशस्त पाइन्छ। जंगलबाट लोक्ता संकलन गर्छन्। लोक्ता कुट्छन्। त्यसमा कास्टिङ सोडा, ब्लिचिङ पाउडर, नुरीलगायत रसायन मिसाउँछन्। मेसिनबाट कागज तयार पार्छन् र सुकाउँछन्।

कुनै बेला ढिकी, हाते मुसल र ढुंगाले लोक्ता कुट्थे। परम्परागत चुलोेमा पकाउँथे। तर अहिले उनले जेनेरेटरको सहायताले विटर मेसिनबाट लोक्ता कुट्छन्। आधुनिक भट्टी चुलोेमा लोक्ता पकाउँछन्। विद्युत्को विकल्पमा जेनेरेटर प्रयोग गरिरहेका छन्। उनले कागज तयार गर्न आवश्यकताअनुसार केही स्थानीय मजदुरलाई काममा लगाउने गरेका छन्। काममा पत्नी राधिकाले पनि सघाउँछिन्।

उद्योगमा तयार पारेका नेपाली हाते कागज काठमाडौंका व्यापारीलाई बिक्री गर्छन्। त्यहाँबाट व्यापारीले बेलायत, अमेरिका, फ्रान्स, चीन, भारतलगायतका देशमा निर्यात गर्ने गरेका छन्। प्रतिकोरी कागजको चार हजार रुपैयाँमा बिक्री हुने गरेको छ। उनका अनुसार प्रतिकोरीमा दुई सय वटा कागज हुन्छ। त्यसको तौल करिब १० किलो हुन्छ। उद्योगमा प्रतिवर्ष करिब तीन सय कोरी कागज उत्पादन हुन्छ। खर्च कटाएर वार्षिक करिब चार लाख रुपैयाँसम्म बचत हुन्छ। भन्छन्, ‘व्यवसायबाट सन्तुष्ट छु।’

आत्मविश्वास र इच्छाशक्ति भयो भने जागिरका लागि देश–विदेश भाँैतारिनु पर्दैन। कडा मिहिनेत र परि श्रमले उनलाई छोटो समयमै व्यवसायबाट सफलताको शिखरमा पु¥याएको छ। लगनशीलता, इमानदारी र मिहिनेत गर्ने हो भने जनुसुकै व्यवसायमा सफलता हात पार्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, घर्ती।
उनको परिवारलाई विगतमा बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल हुन्थ्यो। ‘व्यवसायले छोराछोरी पढाउन र घरखर्च चलाउन सजिलो भएको छ’, उनले भने। उनका एक छोरा र छोरी छन्। दुवै काठमाडौंमा व्यवस्थापन संकायमा पढ्छन्। छोरा स्नातक तहमा र छोरी ११ कक्षामा पढिरहेका छन्।

उनले हाते कागज उद्योग सञ्चालन गर्न व्यावसायिक तालिम लिएका छैनन्। स्वाध्ययन र अरूले बनाएको प्रत्यक्ष देखेर सिकेका हुन्। गाउँकै पूर्णबहादुर घर्ती र मनबहादुर घर्तीले २०४५ सालतिर हाते कागज बनाउँथे। उनीहरूले व्यावसायिक रूपमा कहिल्यै काम गरेनन्। कागज उत्पादन हुन बन्द भए। त्यो सबै नजिकबाट नियालिरहेका घर्तीले अन्ततः त्यही व्यवसाय रोजे। कागज उत्पादन व्यवसायलार्ई अलि फरक तरिकाले सञ्चालन गर्ने गरे। उनले उत्पादन गरेका नेपाली हाते कागज विश्वमै उत्कृष्ट सावित भइसकेका छन्। नेपाली हाते कागज प्रतिगोटा ५ ग्रामदेखि ४० ग्रामसम्मका हुन्छन्।

कागजको फिनिसिङ राम्रो, सफा र एकनासको भएमा राम्रो मानिन्छ। साथै परीक्षण गर्दा कच्चापदार्थका रूपमा शुद्ध लोक्ताको प्रयोग गरिएको कागज उत्कृष्ट मानिन्छ। यी सबै आधारको मापन गर्दा उनले उत्पादन गरेको कागज उत्कृष्ट ठहरिएको हो। जिल्लामा चारपाँच जनाले यो व्यवसाय सञ्चालन गरिरहेका छन्। उनको उद्योगको कागज उत्कृष्ट भएकाले माग धेरै आइरहेको छ।

उनले मागअनुसार कागज पु¥याउनै सकेका छैनन्। ‘मेरो उद्योगका कागज स्वदेशका साथै युरोप र अमेरिकासमेत निर्यात हुन्छ’, उनले खुसी व्यक्त गरे। घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वर काठमाडांैले २०७१ सालमा आयोजना गरेको राष्ट्रिय औद्योगिक उत्पादन प्रदर्शनीमा उनले उत्कृष्ट उद्यमी पुरस्कार पाएका थिए। उनले प्रदर्शन गरेको हाते कागज देशभरमा उत्कृष्ट भएको भन्दै १५ हजार नगदसहित कदरपत्रले सम्मानित गरिएको थियो। घरेलु तथा साना उद्योग विकास समिति जाजरकोटले उद्योगको सामान तथा उपकरण खरिद गर्न ८० हजार सहयोग गरेको बाहेक अरू कसैको सहयोग छैन।

करिब पाँच लाख लगानीमा सञ्चालि हाते कागज उद्योगलाई थप व्यवस्थित, आधुनिक र ठूलो स्केलमा विस्तार गर्ने सोचमा छन्, घर्ती। कच्चापदार्थको अभाव हुन नदिन लोक्ता खेती गर्दै छन्। ‘व्यवसायलाई बृहत् बनाउन यही बर्खादेखि एक सय लोक्ताका बिरुवा आफ्नै बारीमा लगाउँदै छ’, उनले भने। लोक्ता संकलन, प्रशोधन र कागज उत्पादनका दृष्टिले फागुनदेखि असारसम्मको समय उपयुक्त मानिन्छ। त्यसैले अचेल घर्ती निकै बेफुर्सदिला छन्। उनी रातदिन काममै व्यस्त हुन्छन्।

हाते कागज मात्र होइन, उनले अल्लोको धागो संकलन गरेर पनि निर्यात गर्ने गरेका छन्। अल्लोका कपडाको माग बढिरहेको बेला कच्चापदार्थका रूपमा धागो आफैंले पनि काढ्छन्। संकलन गर्छन् र राजधानी पठाउँछन्। राजधानीमा अल्लोका कपडा तयार पारेर विदेशसमेत निर्यात हुने गरेको छ। बजार राम्रो देखेका उनले अल्लोका कपडा गाउँमै बुन्ने गरी उद्योग सञ्चालन गर्ने सोचमा पनि छन्। भन्छन्, ‘नेपाली हाते कागज नेपालकै पहिचान हो। यसको संरक्षण जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.