पर्वतीय परिवार

पर्वतीय परिवार

एउटै परिवारमा यति धेरै सदस्य सगरमाथा चढेको विषय नै विश्व कीर्तिमानमा दरिएको छ। पारिवारिक विश्व कीर्तिमान यतिमै सीमित छैन। २०१८ मे २३ का दिन सोही घरका पेम्बा दोर्जे, फुर्वा तेन्जिङ, फुर्वा थिले र दावा डिकीले सगरमाथा चुमेर अर्को विश्व कीर्तिमान कायम गरेका छन्।


‘सगरमाथा कति पटक चढ्यौ ? ’, विदेश पुग्दा धेरै नेपालीलाई सोधिने एउटा प्रश्न। विश्व चिनाउने सर्वोच्च शिखर सगरमाथा नेपालमै छ। सोध्नु स्वाभाविकै हो। तर उनीहरू सोध्दैनन्, सगरमाथा चढ्यौ कि चढेनौ ? भनेर। सगरमाथा आरोहणको तयारीमा रहेका साहित्यकार लक्ष्मण सापकोटालाई दुबहीमा केही वर्षअघि विदेशीले यही प्रश्न सोधेपछि उनले नियात्रा कृति ‘इम्जात्से हिमशिखर चुम्दा’मा लेखेका छन्, ‘उनीहरू सोच्दा रहेछन् नेपालमै भएको सर्वोच्च शिखर ‘माउन्ट एभरेस्ट’ नेपालीले त सजिलै चढ्न सक्छन्।’ यो प्रश्न सोध्नुका कारण विविध होलान्, एउटा प्रमुख कारण हो, ‘सगरमाथा चढ्नु उनीहरूको सपना हो।’

के विदेशीले अनुमान गरेजस्तो सजिलो छ सगरमाथा चढ्न ? अवश्य छैन। मानसिक, शारीरिक र आर्थिक तीनवटै हिसाबले सक्षम हुनुपर्छ। धेरै नेपालीलाई थाहा नहुनसक्छ, सगरमाथा चढ्न सरकारलाई कर कति तिर्नुपर्छ अनि जम्मा खर्च कति लाग्छ ? चासो नभएको विषयबारे जानकारी नहुनु स्वाभाविक पनि हो। रुचि र चढ्न सक्ने क्षमता भएर पनि लाखौं खर्च गर्न नसक्दा सगरमाथा सम्भव छैन। यी सबै भएर पनि कतिपय नेपालीले सगरमाथा आरोहण गर्नु वा त्यहाँ पुगेर गिनिज बुकमा नाम लेखाउनुको महत्त्व नबुझेर चुचुरो चुम्न लालायित नभएको पनि हुनसक्छ।

नेपालभित्र यस्ता पनि नागरिक छन्, जो सगरमाथा (हिउँमात्र होइन) मै लडिबुडी गर्छन्। जो धेरै पटक सगरमाथाको चुचुरो चुमिरहन्छन्। उनीहरूको यो चुमाइ केवल ‘दैनिकी’मा सीमित हुँदैन, त्यो चुमाइ विश्व रेकर्डमा परिणत भइदिन्छ। त्यो पनि एक जनाको र एउटा विश्व रेकर्ड होइन, परिवारकै अनि धेरैवटा विधामा पनि। दोलखाको गौरीशंकर गाउँपालिका–९, रोल्बालिङको सानो गाउँ वेदिङको शेर्पा परिवार हिमाल आरोहणको एउटा यस्तो प्रतिनिधि परिवार हो, जो सगरमाथा चुम्न र विश्व रेकर्ड तोड्नकै लागि तयार भएको हो। जसले आफ्नो जीविको धान्ने क्रमबाट हिउँमा पाइला खेलाउन थालेर देशकै इज्जत र प्रतिष्ठा विश्वमा उँचो बनाइरहेको छ।

परिवारै चढेर विश्व रेकर्ड

परिवारको जेठो सन्तान पेम्बा ग्याल्जेन शेर्पाले सन् २००० मा, माइलो फुर्वा थुन्डु शेर्पाले सन् २००४ मा, साइँलो पेम्बा दोर्जे शेर्पाले सन् २००० मा, काइँलो निमा ग्याल्जेन शेर्पाले २००५ मा, अन्तरे फुर्वा तेन्जिङ शेर्पाले २००७ मा, जन्तरे फुर्वा थिले शेर्पाले २०१७ मा र जेठी छोरी दावा डिकी शेर्पाले २०१८ मा पहिलो पटक सगरमाथा चढे।

एउटै परिवारमा यति धेरै सदस्य सगरमाथा चढेको विषय नै विश्व कीर्तिमानमा दरिएको छ। परिवारका आमाबुवा, कान्छो छोरो र दुई छोरीबाहेक। पारिवारिक विश्व कीर्तिमान यतिमै सीमित छैन। सन् २०१८ को मे २३ का दिन सोही घरका पेम्बा दोर्जे, फुर्वा तेन्जिङ, फुर्वा थिले र दावा डिकीले सगरमाथा चुमेर अर्को विश्व कीर्तिमान कायम गरेका छन्। साइँलो पेम्बा दोर्जे पत्नीसहित दुई पटक सगरमाथा पुगे भने अबको आरोहणमा उनी दम्पती तीन पटक सगरमाथा चढेको अर्को विश्व कीर्तिमान बनाउने योजनामा छन्।

पारिवारिक रूपमै यतिका विश्व कीर्तिमान बनाउनेहरूले व्यक्तिगत रूपमा कतिवटा रेकर्ड तोडे होलान् ? सुन्दा पत्याउन कठिन होला, ३९ वर्षीय पेम्बा दोर्जेले १८ पटक सगरमाथाको चुचुरो चुमिसके अनि पाँचवटा विश्व रेकर्ड बनाइसके। उनकै भाइ २९ वर्षीय फुर्वा तेन्जिङले पनि १३ पटक अनि तीनवटा विश्व रेकर्ड बनाइसके। सगरमाथा चुम्ने सपना देख्ने विदेशीले सोध्ने प्रश्न यही भएर सायद ‘सगरमाथा चढ्यौ ? ’ नभएर ‘कति पटक चढ्यौ ? ’मा फड्को मारेको हुनसक्छ।

सगरमाथा चढेको र विश्व रेकर्ड बनाएको सुन्दा जति सहज र आनन्द लाग्छ, त्यहाँ पुग्न त्यत्तिकै कठिन र दुःख छ। ६ हजार मिटरभन्दा माथिका चुचुरा चुम्ने अभ्यासपछि ५३०० मिटर अग्लो बेस क्याम्प पुगेकाले पनि क्याम्प १, २, ३ र ४ पुग्न हप्तौं अभ्यास गर्नुपर्छ। हिमपहिरोको जोखिम र त्यसको सामना कस्तो होला ? ज्यान माया मार्नुपर्ने अवस्थासम्म आइपर्छ चुचुरो चुम्ने यात्रामा।

२५ पटक चुचुरो चुम्ने योजना

दर्जनौं पटक यस्तै जोखिम मोलेर ज्यानकै बाजी राखेर पेम्बा दोर्जे अझै पाँच वर्षसम्म निरन्तर सगरमाथाको चुचुरो चुम्ने योजनामा छन्। यसबीच सगरमाथा चुमेको संख्या कम्तीमा २५ पु¥याउने उनको योजना छ। हिउँका अग्ला अग्ला डाँडा घुम्ने काम कहिले र कहाँबाट सुरु भयो होला पेम्बाको ? २० वर्षअघि १९ वर्षकै उमेरमा उनले मनाङको तिलिचो हिमाल चुमे। पेम्बा र फुर्वाले जति पटक सगरमाथा चुमे; त्यो धन भएर होइन, सुरुमा जीवन धान्ने र परिवार पाल्ने बाध्यताले मात्र हो। पछि यसैमा रस भिज्यो। उसो त न उनीहरूका बुवा न आमा, कसैले पनि सगरमाथा चढेका छैनन्।

यो परिवारको गाउँ नै ४२०० मिटर उचाइमा छ। सिन्धुपाल्चोकको बाह्रबिसेबाट नुनतेल र खानेकुरा बोकेर सात दिनको उकालोओरालोपछि घर पुग्ने पेम्बा र फुर्वाका बुवा र जेठा दाजु। ‘बारीमा आलु र मूला मात्र फलेपछि के गर्नु ? जीवन धान्नै प¥यो’, फुर्वा भन्छन्। पेम्बा थप्छन्, ‘हाम्रो गाउँ वेदिङबाट ५५०० मिटर उचाइ भ्याएर नाम्चेको लुक्ला निस्कने २२ दिनको प्याकेज हुन्थ्यो, म विदेशीको टोलीसँग यसरी जोडिन थालेँ।’

पेम्बा परिवारका सबैजसोलाई क्रमशः हिमाल आरोहणमा अभ्यस्त बनाउन थाले। फुर्वाको भने फरक मत छ। उनी भन्छन्, ‘परिवारलाई सगरमाथा चढाउने मलाई रहरै छैन, यो धेरै जोखिमको काम हो।’ उनका अनुसार हिमाल चढ्ने शेर्पाहरू बर्सेनि पाँच सयको हाराहारीमा ज्यान गुमाइरहेका छन्। ‘हिउँचितुवा’ उपाधि पाएका ‘शेर्पा’को हिमाल चढ्ने प्रयास र इमानदारीलाई सरकारले कहिल्यै नबुझेको उनको भनाइ छ।
 

हिमाल चढ्न तीन लाख घुस

‘उसबेला हिमाल चढ्न अहिलेको तीन लाखजति घुस खुवाएको छु, पहिलो पटक चढ्ने हिम्मत जुटाए पनि अवसर नपाउँदा धेरै पटक हारगुहार गर्नु परेको पीडा मसँग छ’, पेम्बा भन्छन्। झन्डै दुई दशकअघि को–गाइडका रूपमा उनी सगरमाथा चढे। भन्छन्, ‘एक पटक सगरमाथा चढेपछि काम पाउन सजिलो हुन्छ, त्यो बेला कम्पनीका मालिक भेट्न एक साता धाउँदा पनि कत्रो सास्ती, चढेर फर्किएपछि ठमेल अफिसमा एकाउन्टेन्टबाट पैसा लिन उस्तै समस्या।’ उनी आफूले भोगेका कुनै पीडा नयाँलाई दिन चाहँदैनन्। उनी करिब १५ सयलाई सगरमाथा चढ्ने अवसर दिएको दाबी गर्छन्।

२० वर्षअघिको कुरो हो, सगरमाथा चढ्न गाइडका रूपमा उनी क्याम्प ३ मा पुगे। भोलिपल्टदेखि चार÷पाँच दिन हिउँ प¥यो। मौसम सुधारको कामना गर्दै बस्नुको विकल्प थिएन तर भइदियो उल्टो। हिमपहिरोको ठूलो ढिक्का झ¥यो। अरूसँगै पेम्बालाई नि पु¥यो।

१५ मिनेटपछि जसोतसो निस्कन सफल भए उनी। भन्छन्, ‘यत्तिका वर्ष बिते, हात हालेको काममा असफल भएको छैन।’ यसको अर्को वर्ष उनले सगरमाथा चुमेरै छोडे। जहाँ पुग्दा खुसीका आँसु झरेको उनलाई अझै ताजै छ। ‘अबदेखि मैले काम पाउने छु, सबैले मान्ने छन्। कसैको चाकडी गर्नुपर्ने छैन’ भन्ने महसुस भएको उनको भनाइ छ। उनले चुचुरोबाट आफ्नो गाउँ वेदिङ नियाले। गौरीशंकर हिमालको काखमा जन्मिएका उनले चुचुरोबाट चीन पहिलो पटक देखे।

पहिलो चुचुरोका लागि बेसक्याम्पबाट पेम्बालाई २६ दिन लाग्यो। अभ्यासले मानिसलाई हरेक काम सहज हुन्छ। ‘१० दिनमा तीन पटक सगरमाथा पुगेर सबैभन्दा छिटो चढ्ने विश्व रेकर्ड पनि बनाएको छु, मैले नै बिनाअक्सिजन सात पटक चढेर दोस्रो विश्व कीर्तिमान बनाएको छु’, उनी भन्छन्। बेस क्याम्पबाट चुचुरोको दुरी करिब साढे चार किलोमिटर छ।

तर एउटा भरियाले बेस क्याम्प पुगेर नजिकै चुचुरो देखेपछि तीन घण्टामै पुग्छु भनेको तर चार दिन लागेको पनि उनले जानकारी दिए। पेम्बा आठ हजार मिटर माथिका सात र ६ हजार माथिका ४० हिमाल आरोहण गरिसकेको बताउँछन्। ‘दुवै हात नभएका सुदर्शन गौतमलाई फुर्वा र मैले चुचुरो चुमायौं’, भन्छन्, ‘तर ४० नाघेको बंगलादेशीलाई चुचुरो चुमाएपछि फर्कने क्रममा गुमायौं।’ बढी खुसी भएको र हर्टएटेक भएको हुनसक्ने उनको अनुमान छ। १० जना समावेशी महिलालाई सन् २००८ मा चढाउने काम पनि गरे दाजुभाइले। 

हिमाललाई नयाँ पुस्ता खै ?

फुर्वाले गत वर्षमात्र पाँच जना महिला पत्रकारलाई चुचुरो चुमाए। ‘एउटा विदेशी सगरमाथा चुम्यो भने ऊ हिरो बन्छ तर नेपाली किन नहुने ? ’, भन्छन्, ‘दुई वर्ष तालिम दिएर पु¥याएँ। पत्रकारले पनि शेर्पाको दुःख र हिमाल बुझोस्, चुचुरो चुम्दाको दुःख, जोखिम र लाखौं खर्चबारे भोगेर सबैलाई सूचित गरोस् भन्ने चाहनाले गराएँ।’ यी सबैका बीच शेर्पा हिमाल चढ्छन्। ‘तर सरकारले अब पनि शेर्पाको दुःख बुझेन भने सरकारलाई नै ठूलो क्षति हुन्छ, युवा अब दुःख झेल्दैनन्।

डाक्टर, पाइलट, इन्जिनियर बन्ने, बिजनेस गर्ने र बिदेसिने क्रम बढेको उनको भनाइ छ। उनका अनुसार नयाँ पुस्ता पुरानो पुस्ता हिमाल चढ्दा ज्यान गुमाए पनि सरकारले बेवास्ता गरेकोप्रति चिन्तित छ। ‘सरकारले हिमालबाट लाससम्म ल्याइदिँदैन’, उनी थप्छन्, ‘एउटा विदेशी सरकारलाई ११ हजार डलर (करिब ११ लाख) तिरेर सगरमाथा चढ्छ तर उसले कुनै सुविधा पाउँदैन। सरकारी अधिकृत खटाउँछ, उसलाई तीन लाखसम्म दिनुपर्छ तर पनि बेस क्याम्पसम्म पुग्दैनन्।’ अन्य देशमा सरकारले दिने सुविधा धेरै भएको उनको भनाइ छ।
 

‘भारी बोकेरै देश चिनाएँ’

फुर्वा पहिलो पटक सन् २००७ मा माइलो दाइसँग सगरमाथा चढे। ‘त्यस बेला हिमपहिरोले समूहका चारको मृत्यु भयो’, उनी सम्झन्छन्, ‘मैले माइलो दाइलाई सगरमाथा चढ्ने क्रममा त्यहीँ गुमाएँ।’ हिउँको बाटो कतै पटकपटक बनाइरहनुपर्छ, कतै लामो समय पनि रहिरहन्छ। हिउँयात्राका क्रममा देखिने यस्ता दृश्य पचाउन नसक्नेले यात्रा बीचमै टुंग्याउँछ। फुर्वाले मुटु दह्रो बनाएरै त्यति बेला चुचुरो चुमे।

‘सामान्य परिवारमा हुर्किएर सगरमाथा चुम्नु चानचुने कुरो होइन भन्ने सम्झिएर त्यहाँ पुग्दा खुसीको सीमा रहेन’, थप्छन्, ‘भारी बोकेर पनि देशको नाम उँचो बनाउने अवसर पाएको छु। गिनिज बुक्स अफ वल्र्ड रेकर्डस् बनाएको छु।’ सरकारले गत वर्ष उनलाई राष्ट्रिय युवा पुरस्कारले सम्मान ग¥यो। अचम्म त यो भयो कि हिमाल चढ्दा के कति रेकर्ड भए उनलाई पत्तै भएन। जब सञ्चारमाध्यमले सोधीखोजी गर्न थाले, तब उनलाई आफ्नो महत्त्व र राष्ट्रप्रतिको योगदान थाहा भयो।

२०७२ मा भूकम्प आउँदा पेम्बाका ज्वाइँको आरोहणकै क्रममा निधन भयो। ‘ श्रीमान्को सगरमाथा चढ्ने सपना पूरा गर्न दावा डिकी शेर्पा सगरमाथा चढिन्’, पेम्बा भन्छन्। ‘मृत्युसँग जुध्दै जिउनु शेर्पाहरूको बाध्यता हो’, पेम्बा र फुर्वा भन्छन्, ‘आरोहीबाट सगरमाथामा थुप्रै फोहोर भएको छ, त्यहाँ करिब १५ टन फोहोर होला। सफा गर्ने सोच छ।’



पारिवारिक विश्व कीर्तिमान

– विभिन्न समयमा सातै जना सगरमाथा चढेको
– एकै दिन चार जना सगरमाथा चढेको
पेम्बा दोर्जे शेर्पाका विश्व कीर्तिमान
– १० दिनमा तीन पटक चुचुरोमा
– चार दिनमा दुई पटक बिनाअक्सिजन
– बिनाअक्सिजन सात पटक
– परिवारका सातजना चढेको
– परिवारका चार एकै दिन चढेको
फुर्वा तेन्जिङ शेर्पाका विश्व कीर्तिमान
– सानो उमेरमा धेरै पटक चढेको
– परिवारका सात जना चढेको
– परिवारका चार जना एकै दिन चढेको


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.