कुकर कफी
सिनामंगल चोकबाट केएमसी हस्पिटल नपुग्दै तीन घरअगाडि बायाँतर्फ खाजा घर छ। त्यसको बाहिर चिया पकाउने स्थानमा कुकरको सिट्ठी लाग्ने भागबाट अर्को फलामे पाइप जोडेर अर्थात् कुकरलाई मोडिफाई गरेर कफी मेसिन बनाएको देखिन्छ। त्यसैबाट बन्छ, कुकर कफी।
प्रेसर कुकरलाई तपाईंहामीले भान्छामा दाल, भात र तरकारी पकाउन प्रयोग गर्छौं। तर गुल्मी छत्रकोट दिगामका यादवप्रसाद पाण्डे भने कुकरलाई कफी बनाउन प्रयोग गरिरहेका छन्।
दाजु विष्णुप्रसाद पाण्डेले ६ वर्षदेखि बुटवलस्थित ट्राफिक लाइन चोकमा सुरु गरेको कुकर कफीलाई उनले पुसदेखि काठमाडौं भिœयाएका हुन्। ‘कुकरबाट कफी बनाउनेभन्दा मान्छेहरू के हो ? कस्तो स्वाद हुन्छ भन्दै सोधीखोजी गर्छन्’, पाण्डे तन्दुरी एन्ड खाना घरका सञ्चालक यादवले भने। सिनामंगल चोकबाट केएमसी हस्पिटल नपुग्दै तीन घरअगाडि बायाँतर्फ खाजा घर छ। त्यसको बाहिर चिया पकाउने स्थानमा कुकरको सिट्ठी लाग्ने भागबाट अर्को फलामे पाइप जोडेर अर्थात् कुकरलाई मोडिफाई गरेर कफी मेसिन बनाएको देखिन्छ। त्यसैबाट बन्छ, कुकर कफी।
६ वर्षअघि स्नातक अध्ययन गर्दागर्दै सामान्य खाजा तथा खानाको व्यापार गर्ने गर्थे, पाण्डे। ‘व्यवसाय कसरी बढाउने भनेर चिन्तित थिए। यसैमा नयाँ प्रयोग हुने र ग्राहक तान्न सकिने जुक्ति फु¥यो। दाजुले सुरु गरेको बुटवलको यो कुकर कफीलाई आफूले पनि सुरु गरेँ’, उनले भने, ‘दाजुले बुटवलमा सुरु गरेर ब्रान्ड बनाएको यही कफी राम्रो चलेको छ।’ यसैलाई आफूले काठमाडौंमा ल्याउने र ग्राहक आकर्षण गर्ने माध्यम बनाउने योजना बनाएको पाण्डे बताउँछन्।
‘सामान्य चिया कफी त सबैले गर्छन्। ग्राहकले खाना र खाजापछि पिउने कफीलाई नयाँ ढंगले पस्कने निर्णय गरेर कुकरबाट बनाएर दिने निर्णय गरेँ। मैले यो नयाँ ढंगबाट सुरु गरेकाले के रहेछ भनेर एक पटक अनुभव गर्न पनि ग्राहक आउँछन्’, उनले भने। गुल्मीकै स्थानीय कफी प्रयोग हुने र बनाउने शैली नयाँ भएकाले यसको स्वाद पनि फरक भएको पाण्डेको दाबी छ। हुन त कफी मेसिनबाट छिटो र सहजै बनाएको भन्दा कुकरबाट बनाउनु अलि झन्झटिलो छ। तर पनि स्वाद र ब्रान्डका निम्ति यसलाई प्रवद्र्धन गर्ने कुनै सम्झौता गर्न नहुने बुझाइ उनको छ।
पाण्डे खाजाघरमा छिरिसकेपछि धेरैले कुकर कफी पिउँछन्। कतिपय मान्छे काठमाडौं बाहिरबाट पनि सोध्दै खोज्दै आइपुग्छन्। ग्राहकले सामाजिक सञ्जालमा देखेको, मिडियाबाट भएको प्रचारले काठमाडौं बाहिरबाट पनि ग्राहक आउने गरेको छन्। कफी पिउन आउने ग्राहकले सामाजिक सञ्जालमा राख्ने र ‘माउथ पब्लिसिटी’ गरेकै कारण पछिल्लो समय आफ्ना ग्राहक बढिरहेको बुझाइ पाण्डेको छ। ‘मैले न कुनै मिडिया बोलाएको छु, न त सामाजिक सञ्जालमा प्रचार गरेको छु। अहिलेसम्म एउटा होर्डिङ बोर्डसम्म राखेको छैन’, उनले भने।
गएको जाडो याममा एउटा कुकरबाट मात्रै सुरु गरिएको कफी बनाउने काममा अहिले दुईवटा कुकर प्रयोग हुन्छन्। आउँदो जाडो सिजनमा कुकर थप गर्ने उनको योजना छ। खाजा र खानाको व्यापार यसको पहिलो प्राथमिकता भएकाले अहिले कफीको हिस्सा थोरै छ। अहिले कालो कफीलाई ४० रुपैयाँ र दूधको ५० रुपैयाँ कपमै बिक्री गर्ने गरिएको छ। तर, कफीको व्यापार बढ्दै गए यसको दायरा पनि फराकिलो बनाउने पाण्डेको सोच छ।
कफी बनाउन प्रयोग हुने यो भाँडोलाई दाजु विष्णुबाटै कुकर कफीको ब्रान्ड बनाइएको हो। ‘सामान्य कुकरलाई आफैंले यसरी जोड्नुस् भनेर प्राविधिकलाई भन्ने गर्छौं’, पाण्डेले भने। प्रेसर कुकरलाई सजिलै मोडिफाई गर्न सकिने भएकाले कफी बनाउने भाँडाका लागि कुनै ठूलो मेहनत पर्दैन। अहिले दुईवटा कुकरबाट सेवा दिइएको पाण्डेको यो कफी पसलमा जाडो सिजनमा मागअनुसार कुकर थप्ने पाण्डेको योजना छ।
ग्राहकले सामान्य चियामा थोरै पैसा थप्दैमा कफी पिउन सकून् भनेर महँगो मूल्य नराखिएको उनको भनाइ छ। यो कफी आफूले ब्रान्ड बनाउनुभन्दा पनि ग्राहकले बनाउने ब्रान्ड दिगो हुने बुझाइ उनको छ।