सम्झेरै स‌ंसार विजेता

सम्झेरै स‌ंसार विजेता

अहिले अर्पणलाई पछ्याउनेहरू जब उनको घरसम्मै पुग्छन्, आमाका आँखा अनायासै रसाउँछन्। आमाको आँखाबाट निस्कने खुसीको आँसु लेख्दा उनलाई झन अगाडि बढ्न प्रोत्साहन गर्छ, मिहिनेत गर्न ऊर्जा थपिन्छ।


अर्पणको जीवनमा सबैभन्दा ठूलो प्रेरणा बन्यो— आमाको आँसु ! आमा खिना कट्टेलका आँखामा उनले दुई किसिमका आँसु देखेका छन्। एउटा, पीडाको र अर्को खुसीको।

त्यो बेला जब अर्पणलाई समाजले तल्लो नजरले हेथ्र्यो, खिनाका आँखामा आँसु रोकिँदैनथे। समय आफ्नो बाटो गुज्रिरहेको थियो, आफ्ना कारणले बग्ने आमाका पीडाका आँसुले अर्पणलाई पोल्न थाल्यो। उनी आफैंसँग लड्न थाले। गौतम बुद्धदेखि ओशोसम्म किताबको गहन अध्ययन मात्र गरेनन्, आफैंलाई पढ्न खोजे। योग गरे, ध्यान गरे। आफ्नो मस्तिष्कलाई नै प्रयोगशाला बनाए। अन्ततः अर्पण यो अवस्थामा उभिन सफल भए।

अहिले अर्पणलाई पछ्याउनेहरू जब उनको घरसम्मै पुग्छन्, आमाका आँखा अनायासै रसाउँछन्। आमाको आँखाबाट निस्कने खुसीको आँसु लेख्दा उनलाई झन् अगाडि बढ्न प्रोत्साहन गर्छ, मिहिनेत गर्न ऊर्जा थपिन्छ।

नेपालले अर्पणलाई ‘मेमोरी किङ’को रूपमा चिन्छ ! स्मरण शक्तिका माध्यमबाट उनले ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा आफ्नो नामसमेत दर्ज गराएका छन्। एक मिनेटमा ४५ वटा शब्दलाई उल्टो, सुल्टो र नम्बर क्रम मिलाएर उनले विश्व कीर्तिमान राख्न सफल भए। दुई वर्षअघि भारतका जय सिंम्हाको रेकर्ड तोड्दै उनले आफ्नो रेकर्ड राखेका थिए।

नेपालमा अर्पणका ‘हजारौं फलोअर’ छन्। उनको कार्यालय पुतलीसडकमा पुग्दा भीड लागेको थियो। त्यो भीड अर्पणका विद्यार्थीहरूको रहेछ। उनले एसईईदेखि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई प्रशिक्षण दिने गरेका रहेछन्। एउटा कक्षामा तीन–चार सय विद्यार्थीको भीड लाग्ने रहेछ।

कक्षाबाट भर्खर निस्किएका अर्पणले मुहार हँसिलो पार्दै भने, ‘मेरो प्रशिक्षणमा विद्यार्थीको अनौठो आकर्षण छ। मैले आफैंले बनाएको टेक्निक सरल तरिकाबाट विद्यार्थीलाई बुझाउने गरेको छु, जसले उनीहरूको स्मरणशक्ति बढाएको छ।’
अर्पण यो अवस्थामा सजिलै आएका भने होइनन्। झापाको भद्रपुरमा जन्मिएका उनको बाल्यकाल सुखमय नै थियो। विद्यालयको राम्रो विद्यार्थीमा गनिन्थे उनी। एसएलसी दिएपछि काठमाडौं घुम्न आए। कीर्तिपुरमा दिदीसँग बस्दा उनी समय मिलाएर त्रिविको केन्द्रीय पुस्तकालयमा जान्थे, जहाँ गौतम बुद्ध र ओशोका किताबसँग उनको पहिलो साक्षात्कार भयो।

‘एसएलसी दिएपछि पढाइको बोझबाट छुटकारा मिलेको महसुस भएको थियो। त्यति बेलै ध्यान र योग सुरु गरेँ। गौतम बुद्ध, ओशोलगायतका किताबको गहन अध्ययन गरेँ। त्यसपछि जीवनले अर्को मोड लियो’, अर्पण सुनाउँछन्।

एसएलसीमा अर्पणले राम्रो अंक ल्याए। तर, उनलाई चलिरहेको शिक्षा प्रणाली फिटिक्कै चित्त बुझेको थिएन। त्यही कारण पनि होला, उनी कक्षा ११ मा भर्ना त भए तर पढ्न भने गएनन्। घरमै पढेर परीक्षा दिए। त्यो बेला परिवारको टाउको दुखाइको कारण पनि यही बन्यो।
क्याम्पस नजाने क्रम ‘प्लस टू’मै टुंगिएन। उनी त्यसपछिको अध्ययन गर्न पनि क्याम्पसमा गएनन्। समय बित्दै गयो। उनले घरबाट निस्कनै छोडिदिए। यही कारण परिवारमा झन् तनाव बढ्यो। घरबाट महिनौंसम्म बाहिर ननिस्किएपछि आफन्त र समाजले पनि उनलाई औंला उठाउन थाले। आमा खिना उनीसामु आई धुरुधुरु रुन्थिन्। अर्पणलाई आमाको आँसु असह्य हुन्थ्यो।

‘यसलाई डिप्रेसन भयो कि के भयो ? कसैसँग हिँड्दैन, कसैसँग डुल्दैन, आफूलाई कोठामा थुनेर कहिलेसम्म हुन्छ ? भन्ने जस्ता कुराहरू त्यो बेला मैले फेस गरिरहेको थिएँ’, अर्पण ती दिन सम्झिन्छन्, ‘परिवार, आफन्त तथा छरछिमेकबाट झन् धेरै सुन्नु परिरहेको थियो। त्यसैले होला, ममी बेस्सरी रुनुहुन्थ्यो।’       

समय रोकिएन। अर्पण झन्–झन् ध्यान र योगमा मग्न हुन थाले। धेरै ध्यान गर्दा र योग बिगारेका कारण उनको कानमा पनि समस्या आयो। उनका कानले ठुल्ठूला आवाजबाहेक साना आवाज सुन्न बन्द गरिदिए। त्यसपछि उनले शारीरिक संघर्ष गर्नुपर्‍यो। योग र ध्यान बिग्रिएकै कारण कान नसुन्ने भएका थिए। त्यही योग र ध्यानबाटै कान ठीक पार्ने अठोट उनले लिए।

त्यसपछि अर्पण कोठाबाट निस्किँदै निस्किएनन्। दिनको १२ घण्टा योगध्यान गर्न थाले। यो क्रम तीन महिनासम्म चल्यो। तीन महिना उनी कोठाबाट बाहिर निस्किएनन्। उनले ध्वनि सुन्ने ध्यान गरिरहे। योगा पनि गरिरहे। तीन महिनापछिको प्रयासपछि उनी पुनः पुरानै अवस्थामा फर्किए।

त्यो बेला अर्पणका कान मात्र फर्किएका थिएनन्, उनमा आत्मविश्वास फर्किएको थियो। उनलाई मनमस्तिष्क शान्त भएको महसुस भएको थियो। ‘लगातार तीन महिना बाहिर ननिस्किएपछि मलाई अर्कै खाले महसुस भयो, त्यो बेला जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह जागिरहेको थियो। सायद, त्यही उत्साहले म यो ठाउँमा उभिएको छु’, अर्पणले भने।

पुरानै अवस्थामा फर्किएपछि अर्पण साथीहरूसँग घुलमिल हुन थालेका थिए। रमाइलो गर्न थालेका थिए। घुमफिर गर्न थालेका थिए। एक दिन साथीहरूबीच स्मरणशक्ति जाँचको प्रतिस्पर्धा भयो। उक्त प्रतिस्पर्धामा उनले सबैलाई उछिनिदिए। त्यसपछि साथीहरूले उनलाई ‘कीर्तिमान राख्न सक्छस्’ भन्दै हौस्याए।

साथीहरूको त्यही हौसलाबाट प्रेरित भएर अर्पणले विश्व कीर्तिमानीका लागि आवेदन दिए। र, कीर्तिमान बनाए पनि।

मिहिनेतले बनेको क्षमता
अर्पण आफ्नो स्मरण गर्ने क्षमता प्राकृतिक मान्दैनन्। किनकि एसएसलीसम्म उनको स्मरण शक्ति सामान्य थियो। उनले यो स्मरण क्षमता प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्‍यो। ‘एसएलसी परीक्षा अरू विद्यार्थी जसरी नै घोकेर पास गरेको हुँ, त्यो बेला मसँग मेरो स्मरण क्षमता अन्य विद्यार्थी जस्तै सामान्य थियो, परीक्षापछि स्मरण क्षमता बढाउने टेक्निकहरू युट्युबमा हेर्न थालेँ। र टेक्निकअनुरूप अभ्यास पनि गर्ने थालेँ’, अर्पण आफ्ना सुरुआती दिन सम्झन्छन्।

एकातिर अर्पण स्मरण क्षमता बढाउने टेक्निकको अभ्यास गरिरहेका थिए, अर्कातिर उनी योग र ध्यानमा मग्न थिए। यही कारण उनको शरीर र मानसिक रूपमा समस्या पनि देखियो। तर, ती समस्याका समाधान पनि उनी आफैंले खोजिछाडे।

स्मरण क्षमतामा विश्व कीर्तिमान गरेपछि चारैतिर अर्पणको चर्चा भयो। सञ्चारमाध्यमहरूले अन्तर्वार्ताका लागि बोलाउन थाले। उनको चर्चा नेपालभर फैलियो। विभिन्न शैक्षिक संस्थामा उनलाई बोलाइन थालियो। उनले आफूले अभ्यास गरेका टेक्निक सबैलाई सिकाउन थाले। र, त्यो टेक्निक सबैका लागि फाइदाजनक रह्यो। अहिले अर्पणको कक्षामा लाग्ने भीड त्यसैको परिणाम हो।

शैक्षिक प्रणालीमा परिवर्तनको योजना
स्मरण क्षमतामा विश्व कीर्तिमान गरेपछि तीन वर्षअघि अर्पण काठमाडौं आए, शैक्षिक प्रणाली परिवर्तनको सोच बोकेर।

‘अब मेरो एउटै उद्देश्य छ, त्यो हो शैक्षिक प्रणालीमा परिवर्तन। यहाँ विद्यार्थीहरू ज्ञान लिन हैन, सजाय काट्न विद्यालय गइरहेका छन्’, उनी भन्छन्, ‘विद्यार्थीलाई टर्चर दिने प्रणाली परिवर्तन गर्न चाहन्छु, त्यसका लागि एउटा पृथक् खाने स्कुल स्थापनाको तयारी पनि गरेको छु।’

अर्पणले स्मरण क्षमता बढाउन अध्ययन गर्नुपर्ने टेक्निक समावेश भएको एक महिने कोर्स पनि बनाएका छन्। यो नेपालमै नौलो प्रयोग हो। आफ्ना विद्यार्थीलाई यो कोर्स उपयोगीसमेत भएको उनको दाबी छ। ‘आफ्ना सन्तानलाई अभिभावकले समय दिन नसक्नु अहिलेको ठूलो समस्या हो, विद्यार्थीहरू विभिन्न कुलतमा लाग्नु पनि यसैको परिणाम हो’, उनी भन्छन्, ‘विद्यालयमा पनि उनीहरूलाई ज्ञानभन्दा बढी टर्चर दिइन्छ। बालबालिकाको मस्तिष्कले यति ठूलो भनेर कसरी उठाओस् ? ’

देशको मेरुदण्ड मानिने बालबालिकामाथि शैक्षिक प्रणालीले गरेको अन्याय देख्न नसकेर नै अर्पणले आफ्नो पहिलो कदम शिक्षा क्षेत्रमा राख्ने निर्णय गरेका छन्। त्यति मात्र होइन, यो शैक्षिक प्रणाली परिवर्तन गरेरै छोड्ने उनको अठोट छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.