माहुरे साइँला

माहुरे साइँला

मह किन्न आउनेलाई घरमै एक घार माहुरी पाल्न सुझाव दिने ‘माहुरे साइँला’ धेरैका प्रेरणास्रोत बनेका छन्। मुढे घारमा फाट्टफुट्ट माहुरी पाल्नेहरू पनि यतिबेला उनको सुझावले व्यावसायिक माहुरी पालनमा लागेका छन्।


चारैतिर माहुरीको भुनभुनाहट। लाग्छ, यो कुनै बगैंचा हो। यही बगैचाको बीचमा बसेर ओमप्रकाश मुस्कुराउँछन्। भन्छन्, ‘मलाई पनि बगैंचाजस्तै लाग्छ, माहुरीको भुनभुन नै आफ्नो श्वासजस्तो लाग्छ।’

भविष्यका लागि ‘ड्रिम प्रोजेक्ट’ पनि बनाएका छन्, एउटा माहुरी बगैंचा बनाउने र अरूलाई पनि माहुरीको दैनिकी नियाल्ने अवसर दिने। ‘म माहुरीको हरेक क्रियाकलापबारे जानकार छु। मेरो एउटै रहर छ कि एउटा माहुरी बगैंचा बनाऔं’, उनी भन्छन्।

सानीभेरी नदी नजिकै छ सुन्दर पोखरा गाउँ। सिस्ने गाउँपालिका–३ मा पर्ने त्यही गाउँको बीचमा पर्छ ओमप्रकाश खड्काको घर। चार भाइमध्ये साइँला हुन् उनी। उनलाई ओमप्रकाश नामले खासै कसैले चिन्दैनन्।

‘को ओमप्रकाश ? माहुरे साइँलो ? ’ गाउँका जो कोहीले पनि उनलाई यसरी चिन्छन्। करिब दुई दशक निरन्तर संघर्षपछि व्यवसायमा सफलता पाएका ओमप्रकाशको माहुरीपालनले नाम मात्रै होइन, जीवन नै फेरिदिएको छ। ओमप्रकाशको बेँसीमा पर्ने पोखरामा मात्र होइन, लेक अर्थात् दाङमा पनि अर्को घर छ। घरको चारैतिर छ माहुरीको खेती।

माहुरी पाल्न थालेपछि उनलाई के गरौं, कता जाऊँ कहिल्यै भएन। व्यस्तता त बढायो नै, सँगसँगै आम्दानी पनि बढाइदियो। जहान, चार छोरी र एक छोरा अनि बाबा–आमा सहितको ठूलो परिवारलाई नपुग्दो केही छैन। परिवारको दैनिकी सुखले चलेको छ।
 
ओमप्रकाश अर्थात् कर्मी माहुरी

एउटा घारमा तीन खालका माहुरी हुन्छन्— रानी, भाले र कर्मी। रानी माहुरीले सन्तान उत्पादन गर्ने काम गर्छे, अनि भाले माहुरीले प्रजननमा भूमिका खेल्छ र कर्मी माहुरीले भने मह र आहाराका लागि मेहनत गर्छ। फूलको रस भएतिर पुगेर अरू माहुरीका लागि खानाको जोहोसँगै चाकामा मह सञ्चित गर्ने काम कर्मी माहुरीको हो। कर्मीले काम गरेन भने रानी र भाले माहुरी भोकै मर्छन् र व्यवसाय नै धरापमा पर्छ। तर त्यसो कदापि हुँदैन किनभने कर्मी माहुरीले मेहनत गर्न कहिल्यै छाड्दैन।

कर्मी माहुरीको खटनबाट रानी र भाले माहुरीको पालनपोषण अनि गुलियो मह बनेझैँ ओमप्रकाशको मेहनतले उनको घर सुखी र परिवार खुसी बनेको छ। ओमप्रकाश पनि घरको कर्मी माहुरीजस्तै हुन्, जसलाई आफ्नो कर्तव्यको भित्रैदेखि बोध छ। कर्मी माहुरीजस्तै मह संकलनको चेत छ र कामप्रतिको लगाव छ।

ओमप्रकाश ४० वर्ष पुगे। कक्षा १० सम्म औपचारिक अध्ययन गरेका उनलाई त्यसपछि भने पढ्ने मेसो मिलेन। पहिले उनका बुवाले घरायसी प्रयोजनका लागि भनेर मुढे घारमा माहुरी पाल्थे। बुवाकै सिको गरेर सानोमा घर नजिकको तोरीबारीमा आएका माहुरीलाई केतुकेको ढुङ्ग्रोमा जबरजस्ती थुनेको उनी सम्झन्छन्।

२०५८ सालतिर एउटा मुढे घारमा रहरले माहुरी पालेका उनीसँग अहिले मुढे र आधुनिक घारमा गरेर लगभग एक सय ११ गोला माहुरी छन्। यो संख्या घटबढ भइरहन्छ। उनीकहाँ जिल्ला साथै देशका विभिन्न ठाउँबाट मह लिन ग्राहक आउँछन्। मह त अन्त पनि पाइन्छ तर ओमप्रकाशले उत्पादन गरेको मह अग्र्यानिक हुन्छ भनेर उनीकहाँ पुग्ने धेरै छन्। माग अनुसारको मह पुर्‍याउन उनलाई हम्मे छ। ‘मह माग बढ्दो छ। मागअनुसार पुर्‍याउनै सकिरहेको छैन’, उनी भन्छन्, ‘यो व्यवसायमा बजारको चिन्ता छैन, मह बोकेर बजार दौडिनु पनि पर्दैन, ग्राहक घरमै आइपुग्छन्।’

बलियो बजार

सुरुमा मह बेच्दा त्यो बेला एक धार्नी (साढे दुई किलो) महको तीन सय ५० रुपैयाँ पथ्र्यो अहिले बढेर प्रतिधार्नी दुई हजार रुपैयाँ पुगेको छ। सुरुको वर्षमा उनले मह बेचेर सात हजार कमाएका थिए। ऊ बेलाको त्यो कमाइ उनका लागि धेरै थियो। सात हजार रुपैयाँबाट कमाइ थालेका उनलाई भने त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेन। अहिले उनको आम्दनी लाखमा हुन्छ। यो वर्षको सिजनमा मात्रै ओमप्रकाशले दुई सय ५० धार्नी मह बेचेर पाँच लाख रुपैयाँ कमाए। ७६ गोला माहुरी बेचेर तीन लाख चार हजार रुपैयाँ कमाए।

यसरी पछिल्नो सिजनमा जम्मा आठ लाख जति खुद आम्दानी गरेका उनलाई माहुरीको महसँगै गोला बेच्ने व्यवसाय पनि फापेको छ। एउटा गोला चार हजारमा बिक्री हुन्छ। उनलाई अब थप ३० गोलाको माग छ। उनी अहिले त्यसैको तयारीमा छन्। मह किन्न आउनेलाई उनी घरमै माहुरी पाल्न सुझाव दिन्छन्।

गाउँमा पहिले मुढे घारमा फाट्टफुट्ट माहुरी पाल्नेले यति बेला ओमप्रकाशकै सुझावअनुसार व्यावसायिक माहुरी पालन थालेका छन्। पोखराकै एक युवा लिलबहादुर खड्काले पहिलो वर्ष एक लाख रुपैयाँभन्दा बढीको मह बचे। अगामी दिनमा थप प्रभावशाली ढंगले व्यवसाय अगाडि बढाउने उनको योजना छ। उनी यसको मूल प्रेरणाको स्रोत ओमप्रकाशलाई नै मान्छन्। ओमप्रकाशकै पहलमा पोखरा गाउँका अधिकांश घरमा कम्तीमा एउटा गोला माहुरी छ। अनि दर्जन युवा माहुरीपालन व्यवसाय गरिरहेका छन्। यसरी गाउँभरि माहुरी पालेपछि चरण क्षेत्र सुरक्षित हुने र व्यावसायिक हित हुने उनको भनाइ छ।

माहुरी शिक्षक

माहुरीकै नजिक रहेर बालापन बिताएका ओमप्रकाशको सानैदेखिको माहुरी पाल्ने रहर नै यति बेला मूल व्यवसाय बनेको छ। विभिन्न संघसंस्थाले दिएको माहुरीपालनसम्बन्धी तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्दै माहुरीपालनमा पारंगत भएका ओमप्रकाश अहिले भने अरूलाई तालिम दिन देशका विभिन्न ठाउँ पनि पुग्छन्। तालिम आयोजना गर्ने निकायले नै उनलाई सम्पर्क गरेर बोलाउँछन् र भ्याएसम्म उनी आफूजस्तै माहुरी कृषकलाई तालिम दिन्छन्। अरूलाई सिकाउँदा आफूले पनि केही न केही नयाँ कुरा सिक्न पाएको बताउने ओमप्रकाशले यसलाई अवसरका रूपमा लिएका छन्।

माहुरीपालनका लागि पारिलो र न्यानो ठाउँ आवश्यक पर्छ। साथै माहुरीका लागि चरण क्षेत्र पनि नजिक हुन अत्यन्त आवश्यक छ। चरण क्षेत्रको दूरीका आधारमा नै कर्मी र भाले माहुरीको आयु निर्धारण हुन्छ। मौसमअनुसार माहुरीले आफ्नो गतिविधि अगाडी बढाउँछ। चैत–वैशाखमा बच्चा उत्पादन गर्ने र आफ्ना लागि खाना संकलनको काम गर्छ। जेठदेखि असारसम्म उक्त सञ्चित खाना खाएर बस्छ। त्यसपछि भदौ पहिलो साता माहुरीलाई बाहिरको वातावरणका बारेमा जानकारी गराएर प्रेरणादायी खाना दिई चरण क्षेत्रतिर पठाउनुपर्छ।

यो बेला भनेको माहुरी सक्रिय हुने बेला हो। असोज अन्तिमसम्म माहुरीले मह बनाइसक्छ र असोज अन्तिमदेखि पुस नसकिँदासम्म ओमप्रकाशलाई भ्याइनभ्याइ हुन्छ। यो बेला भनेको उनको वर्षभरको खेती निखन्ने अर्थात् मह काढ्ने बेला हो। मह काढेर सकेपछि माघदेखि जाडो सुरु हुन्छ। माघभरि माहुरी निष्क्रियजस्तै हुन्छ र फागुनदेखि फेरि सक्रिय हुन्छ।

माहुरीपालन गरेर पैसासँगै ख्याति पनि कमाएका उनले विभिन्न बेलामा विभिन्न पुरस्कार तथा सम्मान पनि पाएका छन्। माहुरीपालनका क्रममा आफूले पालेका माहुरीमा विभिन्न रोग, कीरा र संक्रमणको पनि सामना गर्नु परेको तीतो अनुभव पनि उनीसँग छ। तर उनी दृढताका साथ भन्छन्, ‘जीवनमा सधैं सुख त कहाँ हुन्छ र, दुःख पनि हुन्छ। सबै परिस्थिति सहेर अघि बढ्ने आँट सँगाल्ने हो। एक दिन अवश्य सफलता हात लाग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.