मध्यरातमा गजुरी गाउँपालिका कार्यालयमा चोरी
गजुरी (धादिङ) : धादिङको गजुरी गाउँपालिका कार्यपालिकाको कार्यलयमा बिहीबार राति चोरी भएको छ। अज्ञात समूहले तोडफोड गरी कार्यालयमा रहेका सामान चोरी गरेको हो।
बिहीबार राति १२ बजे गाउँकार्यपालिका कार्यालयको मुल ढोका तोडेर सबै कार्यकक्षको ढोका फुटाइएको छ भने दराज र टेबलका घर्रा तोडफोड गरी सामान चोरी भएको छ।
मध्यरातको समयमा कार्यालय भित्र प्रवेश गरेर दुई थान ल्यापटप, एक थान भिडियो क्यामेरा, एक थान डीएसएलआर क्यामेरा चोरी भएको हो।
क्यामेरासँगै अन्य विद्युतीय उपकरणसमेत चोरी भएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत जानकारी दिए।
कार्यलयको सीसीटीभी फुटेजमा पनि हातमा पञ्जा लगाएका र अनुहारमा मास्क लगाएका २ अपरिचित युवाले कार्यपालिका भवनको मुलगेट फुटाइ भित्र प्रवेश गरेको देखिएको छ। अन्य सामान चोरी गरे पनि कागजातमा भने नोक्सान नभएको अध्यक्ष बस्नेतको भनाइ छ।
गाउँकार्यपालिका कार्यलयमा चोरी भएपछि इलाका प्रहरी कार्यलय गजुरीले पनि अनुसन्धान अगाडि बढाएको छ। इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले भने, ‘घटनाको अध्ययन गरिरहेका छाँै, सीसी क्यामेरामा कैद भएका तस्बिर र गाउँपालिकामा यसअघि आवतजावत गरेका अपरिचित व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ।’
कार्यपालिका भवन तोडफोड गरी सामान चोरी भएपछि गजुरी गाउँकार्यपालिकाको आकस्मिक बैठकले घटनाको छानबिन गर्न माग गरेको छ।
सीसी क्यामेराको दृश्य