नाम्लोले धानेको जिन्दगी : ४० वर्षदेखि उही काम, उस्तै दैनिकी
झुलाघाट(बैतडी) : जिल्लाको पुरचौडी नगरपालिका- ५ खोलीगाउँका ५५ वर्षीय कासीसिंह बोहराको गलामा चाउरी पर्न थालेको छ।निधारमा नाम्लोको रेखी प्रष्ट देखिन्छ।
झुलाघाट पुलबाट भारी ओहोरदोहरमै उनको दैनिकी बित्ने गर्छ।उनी १५ वर्षको कलिलो उमेरदेखि भारतको झुलाघाटबाट नेपालको झुलाघाटसम्म भारी ओहोरदोहर गर्न थालेका हुन्।उनको यो दैनिकी अहिले पनि त्यस्तै छ।
उनी भारतीय बजारबाट नेपालको झुलाघाटमा सामग्री ढुवानी गर्छन्। पहिले सडक नपुग्दासम्म गोठलापानीसम्म सामग्री ढुवानी गर्थे। झुलाघाटमा सडक पुगेपछि पारीबाट वारी झुलाघाटमा सामग्री ढुवानी गरेर परिवार पालेको उनले बताए।'यो त हाम्रो रोजीरोटी हो।यसप्रति कुनै गुनासो छैन्। गुनासो त केवल गरिब नागरिकको जीवनस्तरमा सुधार गर्छौं भन्ने नेतासँग छ।'
यस्तै,पुरचौंडी नगरपालिका-५ का गेडे बोहराको पनि झुलाघाट नाकामा भारी बोक्न थालेको १६ वर्ष नाघिसेकको छ। तप- तप पसिना चुहाएर भारी बोक्दै गरेका गेडेले देशमा परिवर्तन आएको आभाष नभएको बताए। उनले पनि १५ वर्षकै उमेरदेखि भारी बोक्न थालेको बताए।उनले भने,' परिवार पाल्ने अरु आधार भएन।पछिल्लो समयमा गणतन्त्र आयो भन्छन् तर हाम्रा लागि उही अवस्था छ।'
पुरचौंडी नगरपालिका ५ का जग्वा साउँद पनि गएको १५ वर्षको उमेरदेखि झुलाघाटमा भारी बोकेर दैनिकी चलाउँदै आएका छन्। 'गाउँघरमा रोजगारको कुनै श्रोत छैन। हामीलाई पाल्ने यही नाम्लो हो। काम पाएको बेला महिनाको २० हजार पनि कमाइ हुन्छ। कुनै महिनामा काम पाइदैन, 'उनले भने, ' पारी झुलाघाट पुलबाट भारी बोकेर वारी नेपालतर्फ सामग्री ओर्सान थालेको वर्षौं भइसक्यो। उमेरले उत्तराद्र्धतिर धकेलिसक्यो। तर यो नाम्लोले अझैं छोडेको छैन्। परिवार पाल्ने आधार यही नाम्लो भयो।'
अनुहारमा चाउरी।भारी बोक्दाबोक्दा खुइलिएको निधार। थकित मुद्रामा भेटिएका दलबहादुर साउँदको पनि नाम्लोसँग साइनो जोडिएको ४० वर्ष नाघिसकेको छ। '४० वर्षभित्र कति परिवर्तन भए। व्यवस्था परिवर्तन भए होलान्,नियम परिवर्तन भए होलान् तर हाम्रो अवस्थामा परिवर्तन कहिले आउने, 'उनले भने, 'परिवार पाल्ने अरु आधार नभएपछि भारी बोक्नुको विकल्प भएन। पछिल्लो चुनावमा भोट हाल्ने बेला नेताहरु गाउँमै रोजगारीको व्यवस्था गर्छौं भन्थे तर हाम्रो अवस्थामा भने कुनै परिवर्तन आउन नै सकेन।'
जीवनका उपलब्धिमूलक समय भारी बोक्नमै जान थालेपछि पुरचौंडीका ३७ वर्षीय नरसिंह बोहरा चिन्तित छन्। तर परिवार पाल्न भारी बोक्नुको विकल्प उनीसँग पनि छैन्। 'गाउँमै केही काम गरेर गाउँमै परिश्रम गर्ने मन थियो तर हामीजस्ता युवाका लागि कसैले केही योजना बनाउँदैनन्। गाउँमा हुने सडक निर्माणका काममा मेसिनको प्रयोग गरिन्छ। हामीले परिवार पाल्न भारी बोक्नै पर्ने बाध्यता छ, 'उनले भने, 'युवालाई गाउँकै विकासमा लगाउनुपर्ने योजना बनाउने नीतिनिर्माता भएनन्। फलस्वरुप मजस्ता युवाको दक्षता भारी बोक्नमै गयो।'
भारतीय सीमासँग जोडिएको झुलाघाटमा बिहानैदेखि भारी बोक्नेको लाम लाग्ने गर्छ।'पहिला पहिला भारतबाट धेरै सामग्री आयात हुने गर्दथ्यो। अहिले भारतले जिएसटी लागु गरेपछि पारीबाट सामग्री कम आयात हुने गर्दछ।पहिलाको तुलनामा हिजोआज काम पनि कम मात्रामा पाइने गरेको छ।
काशीसिंह बोहराका अनुसार भारी बोकेर गुजरा गर्ने मानिसलाई त्यहाँका व्यापारीले पल्लेदारको नामले चिन्छन्। झुलाघाटसँग चार दशक बढी साइनो जोडेका यी नागरिक अब भने जीविकोपार्जन कसरी गर्ने भनेर चिन्तामा छन्। 'उमेर छँदा भारी बोक्न केही डर हुँदैनथ्यो। अब उमेर पनि ढल्किसक्यो।शरीरले पनि साथ दिंदैन्। घरपरिवार पाल्ने अरु आधार छैनन्,'गेडे बोहराले भने, 'जेनतेन परिवार पालेको छु।'
भारतसँग सीमा जोडिएको झुलाघाट बजारमा भारी बोक्नेहरुले कम्तीमा २० देखि ३० हजार नेपाली रुपैयाँ कमाउने गरेको बताए। भारतीय बजार झुलाघाटबाट नेपाली बजार झुलाघाटमा भारी पुर्याएबापत मासिक ३० हजार कमाउने गरेको कासीसिंह बोहराले बताए।उनले भने, 'काम पाइयो भने मासिक ३० हजार नेपाली रुपैयाँ कमाउन सकिन्छ।नजिक भएकाले घर पनि जान पाइन्छ।'