हिमपहिरोमा परी घाइते खड्काको हेलिकोप्टरबाट उद्दार
रुकुमपश्चिम : हिमपहिरोमा परी घाइते भएका पुथा उत्तरगंगा गाउँपालिका-९ खारावाङका १७ वर्षीय सुजन खड्काको हेलिकोप्टरबाट उद्दार गरिएको छ। बुधबार घरबाट डोल्पाको दुनै जाने क्रममा पुथा उत्तरगंगा गाउँपालिका-९ लालपाटनको हिउँसाङ नजिकै हिमपहिरो खस्दा उनी घाइते भएका थिए।
हिमपहिरोमा परेर घाइते भएको सूचना पाएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क रुपमा उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। घाइते खड्कालाई उक्त हेलिकोप्टरबाट पोखरास्थित मनिपाल अस्पतालमा उपचार भैरहेको छ।
प्रदेश ५ को एकमात्र हिमाली तथा दुर्गम जिल्ला रुकुम पूर्वको यस क्षेत्रमा सडक नपुग्दा बेलाबेला हुने यस्ता घटनामा उद्दार गर्न समस्या हुने गरेको छ।