भूकम्पमा परेका दोलखाका ८ अझै बेपत्ता
दोलखा : ४ वर्ष अघिको भूकम्पमा परेका दोलखाका ८ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दोलखाले अहिलेसम्म पनि विभिन्न स्थानको भूकम्पमा परेका ८ जनालाई बेपत्ताको सूचीमा जनाई राखेको छ।
२०७२ वैशाख १२, १३ र २९ गते जिल्लाको ५ स्थानको भूकम्पमा परेका ८ जना कुन स्थितिमा रहेका छन् प्रहरी तथा परिवार अझै बेखबर छन्।
हालसम्म पनि बेपत्ताको सूचीमा विगु गाउँपालिकाबाट मात्र ५ जना र तामाकोशी, कालिञ्चोक र शैलुङ गाउँपालिकाबाट १/१ रहेको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ।
उत्तरी दोलखाको विगु गाउँपालिका-१, लामाबगरका पासाङ छिरीङ गुरुङ, पेम्बा नुर्वु शेर्पा तथा राम तामाङ, वडा नम्बर २ ओराङका पासाङ तामाङ, वडा नम्बर ६ आलम्पुका अशोक थामी रहेको दोलखाका डीएसपी बासुदेव पाठकले जानकारी दिए ।
तामाकोशी गाउँपालिका-१, भीरकोटका टंकबहादुर मगर, कालिञ्चोक गाउँपालिका-६, लापिलाङका नेत्रकुमार थामी, शैलुङ गाउँपालिका-२, भुषाफेदाका नरबहादुर मोक्तान ४ वर्षदेखि बेपत्ता भएको प्रहरीको तथ्याङ्क छ।
बेपत्ता परिवारका व्यक्तिहरु अझै कतैबाट फर्किहाल्छन् कि भन्ने आशा गरेर बसेका छन्। बेपत्तालाई यत्तिको समयसम्म राज्यले पत्तो नलगाई दिँदा झन् पीडा थपिएको परिवारका सदस्य दुखेसो पोखेका छन्।
बेपत्ता रहेका नेत्रकुमार थामीको कालिञ्चोक गाउँपालिका-६ लापिलाङ निवासी श्रीमती लक्ष्मी थामीले मेरो श्रीमान् न बाँचेका छन् न मरे कुनै अत्तोपत्तो नहुँदा ८ जनाको परिवार पाल्न समस्या भएको दुखेसो गरिन्।