रुपन्देहीका तस्कर परासीमा, अवैध कपडा बरामद
भैरहवा : विगतमा रुपन्देहीका नाकालाई आधार बनाएर तस्करी गर्दै आएको तस्कर समूह परासी जिल्लामा सक्रिय भएको छ। रुपन्देहीको नाकाबाट हुने तस्करीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाई गरेसँगै यहाँका तस्कर परासी जिल्लाको नाकालाई ‘बेस’ बनाएर तस्करीमा सक्रिय भएका हुन्।
यसैबीचमा विगतमा रुपन्देहीको बेलहिया नाकाबाट तस्करी गर्ने महिला समूह परासीमा सक्रिय रहेको र तस्करीको कपडा भित्रिन लागेको सूचना प्राप्त भएपछि खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर भित्रयाउँदै गरेको अवैध कपडा बरामद गरेको छ।
प्रहरीले पाल्हीनन्दन गाउँपालिका ४ लोहरौलमा दुई अटो रिक्सामा ल्याउँदै गरेको एक लाख ३० हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द खातीका अनुसार २ सय ७५ थान टप्स, ९९ थान साल, २० थान सुटका कपडा रहेका छन्।