सातुको स्वाद
ग्राहकहरू स्वादअनुसार सातु घोल्न लगाउँछन्। काँचो प्याज, कागतीको रस, जिराको धुलो, नुन राख्न लगाउँछन् र खाजाकै रूपमा खाने गर्दछन्। कुनै दिन चोकमा ठेला लान भ्याएनन् भने भोलिपल्ट धेरैलाई स्पष्टीकरण दिनुपर्छ।
हरेक दिन बिहानै रौतहटको चन्द्रनिगाहपुर चोकमा ठेला ठेल्दै एक अधबैंसै मानिस आउँछन् र बसबिसौनी नजिकै रोकिन्छन्। ठेलामा दुई दर्जन सिसा र स्टिलका गिलास छन्, बाल्टिनमा पानी छ। धेरै गर्मी भएको दिन पानी चिसो राख्न माटोको भाँडा पनि राखिएको हुन्छ। अर्को बाल्टिनमा चनाको सातु छ। कागती र प्याजका दाना, हरियो खुर्सानी पनि ठेलामा राखिएको छ। एक छेउमा नुन र मसलाको ससाना बट्टा छन्।
हेर्दा सामान्य ठेलामा गरिएको व्यापार तर आम्दानी भने लोभलाग्दो छ। एकैे बिहानमा हजारभन्दा बढी नाफा गरेका हुन्छन् उनले। दिनभर व्यापार गर्दा कम्तीमा दुई हजार हुन्छ। थोरै लगानीमा मेहनत गरेर पैसा कमाउन सकिन्छ भन्ने उदाहरण हुन् रौतहटको चन्द्रपुर नगरपालिका— ४ का अनिल कार्की।
मोरङ जिल्लाको बयरवनबाट २० वर्षअघि कामको खोजीमा घरबाट भागेर चन्द्रनिगाहपुर आएका अनिल कार्कीले सडक किनारमा ठेला राखेर चनाको सातु बेच्न थालेको १० वर्ष भयो।
घरबाट भागेर आएका कार्कीलाई होटेलमा भात पकाउने काम गर्दा जीवन यत्तिकै बित्छ कि भन्ने चिन्ताले सताउँथ्यो। उनले चन्द्रनिगाहपुरमा करिब १० वर्ष होटेलमा खाना पकाउने काम गरे। तर कामले सन्तुष्टि दिएन। पुरानो ठेला किने र व्यापार सुरु गरे। उनले चनाको सातु बेच्न थाले। सानो कोठा भाडामा लिएर चन्द्रनिगाहपुरमा बसे।
सातुको सोच
भात पकाउने काम छाडेपछि ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने सपना उनले नदेखेका होइनन् तर आफैं केही गर्नुपर्छ भन्ने इच्छाशक्तिले जित्यो। ‘सीप नभएको मान्छे विदेश गएर पनि के गर्नु जस्तो लाग्यो’, उनी भन्छन्, ‘जहाँ गए पनि श्रम नै गर्नु छ भने देशमै काम गर्छु भनेर ठेला राखेँ।’
गरिबीका कारण उमेरमा पढ्न पाएनन्। अर्काको खेतमा हलो जोत्दाजोत्दै घरबाट भागेका उनलाई चन्द्रनिगाहपुरले स्वागत गर्यो। यहाँका रैथाने तथा पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरू बिहानैदेखि कार्की दाइको सातु राखेको ठेला वरपार पुग्छन्। अहिले उनको परिचय नै ‘कार्की दाइको सातु पसल’ मा परिणत भएको छ।
सातु खानेहरू स्वादअनुसारको सातु पानीमा घोल्न लगाउँछन्। काँचो प्याज, कागतीको रस, जिराको धुलो मसला, नुन राख्न लगाउँछन् र बिहानको खाजाकै रूपमा खाने गर्दछन्। र, मुख मिठ्याउँदै पिउँछन्। गर्मी मौसममा त उनको ठेला वरिपरि चनाको सातु पिउनेहरूको भीड नै देखिन्छ। हरेक बिहान सातु घोलेर ग्राहकलाई खुवाउन भ्याइनभ्याइ हुन्छ।
कहिलेकाही भीड हुँदा पालो कुराएर पनि ग्राहकलाई सातु बनाएर खुवाएको कार्की दाइलाई स्मरण छ। गत वर्ष एकै महिनामा ६ सय किलो सातु बेचे। सयौं किलो सातु एकै महिनामा बिक्री गर्दा भारत बैरगनियाका सातु व्यापारी नै दंग परेको उनी सुनाउँछन्।
यो वर्षदेखि उनी आफैं चनाको सातु बनाउन थालेका छन्। सातु बनाउन उनका भाइ नारायणले साथ दिएका छन्। ग्राहकको उमेर र रुचिअनुसारका कुराकानी गर्न खप्पिस छन् उनी। कोही कसैले उनको व्यापारको बारेमा सोधे भने खुलस्त बताउँछन्। थौरै लगानीमा पनि व्यापार गर्न सकिन्छ भन्दै सबैलाई हौस्याउँछन्।
चनाको सातु खान नेता, कर्मचारी, व्यापारी, विद्यार्थी तथा यात्रुहरू उनकै ठेला पुग्ने गर्दछन्। चोकमा ठेला नल्याएको भोलिपल्ट उनले धेरैलाई स्पष्टीकरण दिनुपर्छ। दिनमा दुई हजार रुपैयाँभन्दा बढीको सातु बिक्री हुन्छ। दिउँसो शाकाहारी नास्ता र दहीको लस्सीको व्यापार पनि राम्रै हुन्छ।
फजुल खर्च गर्नुभन्दा दैनिक बचत गर्न सके त्यही पैसाले आपत्मा मद्दत हुने भएकोले बचत गर्न उनी सुझाव दिन्छन्। ‘म बहुत सन्तुष्ट छु। ठेलामा सातु बेचेर प्रगति हुन्छ भन्ने सोचेको थिइनँ।’ कमाएर मात्रै हुँदैन बचत गर्ने बानी पनि बसाल्नुपर्छ’, सातु घोल्दै गरेका अनिल भन्छन्, ‘थोरै लगानीमा व्यापार गर्नेहरू बचत गर्नेतर्फ त्यति सोच्दैनन्।’
यस्तै ससानो बचतबाट उनले तीन वर्षअघि चन्द्रनिगाहपुरको मुख्य चोक नजिकै बजारक्षेत्रमा दुई तले पक्की घर बनाएका छन्। उनको घरको अहिलेको बजार मूल्य करिब एक करोड छ। गाउँमा खेतसमेत किनेका छन्।
‘जीवनमा नसोचेकै कुरा हुँदा रहेछन्’ फिस्स हाँस्दै पूर्वेली लवजमा भन्छन्, ‘सातु बेचेर चन्द्रनिगाहपुर बजारमा दुईतले पक्कीघरको कौसीमा बसौंला भन्ने साचेको थिइनँ।’
होटेलमा खाना पकाउने जागिरबाट बचाएको आठ हजार रुपैयाँले पुरानो ठेला किनेर सातु बेच्न सुरु गरेका थिए। पूर्वपश्चिम राजमार्ग नजिकै रहेको घरबाट बिहानै ठेला ठेलेर निस्किँदा ग्राहक आउँदैनन् कि भन्ने चिन्ता उनलाई हँुदैन। सातु बेच्न सुरु गर्दा ३ रुपैयाँ गिलास थियो, अहिले ३० रुपैयाँ पुगेको छ।
स्वदेशमै स्वरोजगार
पहिले रौतहटमा चनाको सातु पाइँदैनथ्यो। भारतको बैरगनिया बजारका व्यापारीले ल्याइदिन्थे। एक पटकमा सय किलो सातु किन्थे। यस वर्षदेखि चना आफैंले किनेर सातु बनाउन थालेका छन्।
ठेलाको व्यापारमा उनकी श्रीमती बिन्दा कार्की पनि सघाउँछिन्। श्रीमान् श्रीमती नै बिहानदेखि बेलुकासम्म ठेलाकै वरपर व्यस्त हुन्छन्। दुई छोरामध्ये एकले १२ कक्षा उत्तीर्ण गरेका छन् भने अर्काले १२ नै पढ्दै छन्। आफूले पढ्न नपाए पनि छोराहरूलाई पढाउन पाएकोमा कार्की दम्पती सन्तुष्ट देखिन्छन्।
सातु बेच्न थालेको एक दशकमा चन्द्रनिगाहपुर बजारको रूप फेरियो। बजार बिस्तार हुँदै गयो। नयाँनयाँ व्यापारिक केन्द्र खुले। भवनहरू बने। तर उनको ठेला जस्ताको तस्तै छ। नफेरिएको यो पुरानो ठेलाले अनिलको परिवारको जीवन भने फेरिदिएको छ।
हातगोडा सक्रिय रहेसम्म ठेलासँगै ठेलिने उनको सोच छ। सीप छैन वा अवसर छैन भनेर बेरोजगार बसेकाहरूलाई सानै भए पनि काम गर्नुपर्छ भन्ने हौसला आफूले दिन चाहेको पनि उनी बताउँछन्। सानो पुँजीमा व्यापार थाल्नेलाई समाजले सम्मान र माया गर्नुपर्ने उनको मत छ।
लाखौं खर्च गरेर विदेश जानुभन्दा हजार रुपैयाँ खर्च गरे नेपालमा स्वरोजगार बन्नु उचित हुने उनी बताउँछन्। ‘सकभर सीप नभएका मान्छे विदेश नगएको राम्रो’, उनको सुझाव छ, ‘आफ्नै ठाउँमा इमानदारीसाथ मेहनत गर्नु राम्रो।’