कविताको अन्त्य!

कविताको अन्त्य!

केही वर्षदेखि अनौपचारिक बहस र ‘चिया गफ’मा ‘कविता मरिसक्यो’ भनेर दाबी गर्दै आएको एउटा प्रस्ताव अब चाहिँ बहसकै रूपमा उठान गर्नु जरुरी देखियो । यसका लागि केही संकेत झनै बलियो रूपमा देखिन थालेका छन् । त्यसबारे यहाँ चर्चा गरिएको छ ।

साहित्यका अन्य विधा र ढाँचाले कवितालाई खुम्च्याएर यति कमजोर बनाइदिएका छन् कि, अब कविता काम नै गर्न नसक्ने अवस्थामा पुगेको छ । अर्थात् यसको औचित्य टुंगिएको छ ।
डिजिटल र भिजुअल प्रभावका अगाडि कविता सीमित त बन्दै आएको थियो, अब त यसको आयु नै सकिए झैं भएको छ । कविता एक आत्मालाप होस् वा राजनीतिक हतियार । दुवै क्षेत्रमा यसको प्रभावको औचित्य छैन । उदाहरणको लागि आज कुनै पनि देशमा सैनिक कू भएको खण्डमा कसैले पनि कविताको हतियार प्रयोग गरेर सत्ताको विरोध गरिरहँदैन ।

हरेक महिना कहीँ न कहीँ साहित्यबारे बहस, विमोचन र चर्चा त भई नै रहन्छ । तर कविताका विमोचन वा यस्ता बहस हुन छाडिसके । नेपाल मात्रै नभएर संसारमै बहुसंख्यक मानिस कविता न सुन्छन्, न त पढ्छन् ।

कविता साहित्यको एउटा ‘फर्म’ हो । कुनै बेला यो आधुनिक र प्रगतिशील मानिन्थ्यो पनि । तर अहिले कविता लेख्नु र नलेख्नुको खास औचित्य नै छैन । सूचनाको ‘सुपर हाइवे’ले संसारलाई यति तीव्र बनाइदिएको छ कि, मान्छेहरू नीति कथा, उपदेश, लोककथा, पुराण र कविताहरू पढेर बस्न तयार छैन । वा चाहँदैन । यस्तै कविता सुनेर बसिरहन पनि कोही 
तयार छैन ।

आजको दुनियाँमा जसरी छन्द कविताको कुनै उपादेयता छैन, नीति कथाहरूको कुनै औचित्य छैन, यस्तै गद्य कविताकै पनि उपादेयता लगभग टुंगिएको छ । यसको शक्ति र सामथ्र्य निकै कमजोर भएर लगभग मरिसकेको अवस्थामा पुगेको हो । अहिले पनि यदि कसैले कविता लेखेरै आफूलाई रवीन्द्रनाथ टेगोर वा टीएस एलिएट जस्तो भन्ठान्छ भने त्यो उसको आत्मरति मात्रै हो । दुनियाँबाट हराइसकेको वा मरिसकेको चिजलाई आत्मसात् गरिरहन कसैलाई अधिकार त छ, तर औचित्य छैन ।

पुरानै शब्द र विम्बलाई अगाडि वा पछाडि जोडेर राख्नेभन्दा कवितामा नयाँ भएकै छैन।

हामी अझै देख्छौं कि, आज पनि सहरमा सीमित कविहरू कविता सुनाइरहन रुचाउँछन् । कसैले कवि भनिदिओस् भनेर मक्ख पर्छन् । केही त संग्रह नै निकालेर बाँडेरै हिँडिरहन्छन् । तर ती कविता कुनै न कुनै रूपमा पुनरावृत्ति नै हुन् । जस्तो कि, ‘तिमी रातो रातो गुलाफ हौ...’ भनेर दसौं वर्षअघि लेखिसकिएका कुरालाई अचेल ‘तिम्रा गाला गुलाफ जस्ता...’ भनेर लेखिन्छ मात्रै । न त कुनै मजदुर नेताले श्रम हकको कुरा कविता मार्फत उठाइरहनु नै आवश्यक छ ।

कतिसम्म भन्न सकिन्छ भने, पुरानै शब्द र बिम्बलाई अगाडि वा पछाडि जोडेर राख्नेभन्दा नयाँ कवितामा भएकै छैन । पछिल्लो ५० वर्षमै संसारमै प्रभावशाली कवि भनेर चिनिने कोही व्यक्ति छैन भने पनि यो कविताको मृत्युको संकेत हो ।
आज अमेरिकाको कुनै आकर्षक विश्वविद्यालयमा उच्च 
शिक्षा हासिल गर्न छिरेको युवा अनुसन्धाता वा सामाजिक 
अभियन्ता बनेर निस्किन सक्छ । ऊ लेखक वा नेता भएर 
पनि निस्किन सक्छ । तर किन कवि बनेर निस्किँदैन ? दसौं वर्षसम्म कुनै पनि युवक अन्तर्राष्ट्रियस्तरमा आफ्नो छवि हुँदाहुँदै किन कवि बनेर चिनिन चाहँदैन ? 
यसो भन्नुको तात्पर्य के पनि हो भने, आधुनिक समाजलाई ज्ञान वा चेतना निर्माणको तहमा अहिलेसम्म भनिँदै आएका वा यस्तै ‘कर्मकाण्डी’ कविताले काम गर्न छाडिसकेका छन् ।
अब पनि कुनै प्रेमीले आफ्नी प्रेमिकालाई फकाउन ‘गुलाफ’, ‘नदी’, ‘आकाश’, ‘इन्द्रेणी’ वा ‘समुद्र’ जस्ता वस्तुसँग तुलना गरिरहन्छ भने ठान्नुपर्छ कि, त्यो कविता नै हैन । कविता भनेर दाबी गर्छ भने त त्यो उसको आत्मरति मात्रै हो ।

कविताको उद्देश्य

१६औं शताब्दीमा प्रेमिकालाई आफूसँग आकर्षित गर्न वा फकाउन प्रेमीहरू कविता लेख्थे । यसलाई अन्तहृदयको अपिल पनि भनियो । कसैले सत्यको खोजसँग र असल आत्माको आलापसँग जोडेर व्याख्या गरे । सामाजिक सद्भाव वा प्रेम र भ्रातृत्वसँग कविताको उद्देश्य जोडियो । यसरी कविता आफैंमा प्रगतिशील कार्य चाहिँ थियो । जुन अहिले प्रगतिशील र क्रान्तिकारी कार्य बनेर बसिरहन सम्भव नभएको हो ।

जसरी दुनियाँमा कुनै बेला, प्रेमपत्रहरू लेखिन्थे र महिनौं लगाएर पठाइन्थ्यो । अरू केही महिनासम्म जवाफ पर्खेर बसिन्थ्यो । उपदेश सुनाइन्थ्यो, धर्मग्रन्थ पढेर भगवान्को प्रार्थना पढेर सुनाउँदै हिँडिन्थ्यो, नीतिकथा सुनाइन्थ्यो, रामकहानी सुनाइन्थ्यो । धेरै पछिसम्म छन्द कविता र गजलवाचन पनि गरिन्थ्यो । तर ती कुनै पनि अहिले अस्तित्वमा छैनन् । ठीक यसै गरी कविता पनि वर्तमान विश्वबाट गायब हुँदै छ । के अहिलेको आधुनिक संसारलाई नै प्रभाव पार्न सक्ने कुनै कवि छ ? जसरी रोवर्ट फ्रस्ट, डब्लू बी इट्स, टी एस इलिएट, रवीन्द्रनाथ टेगोरजस्ता व्यक्ति यो अत्याधुनिक समाजमा पचासौं वर्षपछि पनि जन्मिएको छैन भने सजिलै कविताको मृत्यु भएको ठान्न सकिन्छ ।

जसरी संसारभर सयौं प्रभावशाली आख्यानकार, वैज्ञानिकहरू आफ्नो प्रभाव जमाउन सक्षम छन् भने कविहरू किन छैनन् ? नोम चोम्स्की, युवल नोआ हरारी, चिनुवा अचिवेजस्ता समकालीन समाजका प्रभावशाली चिन्तक र लेखक जन्मिरहँदा उत्तिकै प्रभावशाली कवि किन जन्मिएनन् त ? अफ्रिकालाई संसारले गर्दै आएको विभेद्लाई लेखनमार्फत उठाउँदै आएकी लेखिका चिमामान्डा अदिचेको प्रभाव संसारभर भइरहँदा किन कोही कवि त्यही भूगोलमा छैन ? 

ज्ञान वा चेतना निर्माणका लागि कविताभन्दा पनि धेरै प्रभावशाली माध्यम अनुसन्धान हो अहिले । बरु सिनेमा हो । कविताभन्दा अन्य काव्यिक आयामको खोजी गर्न बरु सम्भव होला । तर कर्मकाण्डकै रूपमा लेखिँदै आएका कविता अब काम नलाग्ने भइसकेका छन् । तिनले न अभिव्यक्तिलाई प्रभावकारी बनाउँछन्, न त ज्ञान निर्माणको नेतृत्व गर्न सक्छन् ।
वर्तमान विश्वमा हरेक दिन सात वटा भाषा मर्दैछन् भन्ने केही खोजले पुष्टि गर्छन् । यस्तै केहीले त ‘टेक्स्ट’ चाँडै मर्दैछ पनि भन्छन् । यदि भाषा र अक्षर नै मर्छ भने कविता किन मर्दैन ? 
अझै पनि कविता लेखिरहन त पाइन्छ, तर यसले व्यक्त 

गर्न खोजेको आसय वा स्थापित मान्यता र चेतनालाई धक्का दिन कविताले सक्दैन । अर्थात् कविता मात्रै पूर्ण छैन । यति तीव्र र अत्याधुनिक संसारमा कविता मात्रै लेखिरहनु र यसैले संसार परिवर्तन गर्ने विश्वास गर्नु मूर्खता हो । बरु साहित्यका अन्य ‘फर्म’को खोजी गर्न सकिन्छ । अन्य आयाममा काम गर्न सम्भव छ । तर कविताले काम नगर्ने भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.