छायाशिला
दिदीको बिहे हुने भो। जाने भई अब ऊ। हामी छुट्टिने भयौं। मैले निःसन्देह माया, ठाकठुक र लुछालुछ गर्न सक्ने एकमात्र व्यक्ति अब मबाट टाढिने भई। आँखा ओभाना हुन मानेनन्, मेरा
हाम्रो घर कालाखेतदेखि गाडीमा करिब ४–५ घण्टा टाढा पर्छ, छायाक्षेत्र मन्दिर। त्यहीँ हुँदै थियो दिदी–भिनाजुको बिहे। स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतीदेवीको अन्तिम अंगपतन भएको यस सुप्रसिद्ध मन्दिरमा सल्यानका कति जोडीहरूको बिहे भइसकेको हुँदो हो, मलाई मतलब थिएन। तर थोरै खुसी र मस्तै पीडाले थिल्थिलो बनेको म बबुरोका लागि यो बिहेले भने खास अर्थ राख्दै थियो।
३–४ घण्टाजति लोकल गाडीको ढलकढलक यात्रापछि श्रीनगर बजारबाट रिजर्भ गाडीमा चढियो। पूर्ण दाइ, भाउजू र महिमा दिदीको परिवार थपिनुभो। माहोल थप रसिलो बन्यो। श्रीनगरबाट एकाध घण्टामा मन्दिर पुगियो। पुजारीले बिहे सुरु गरे। प्रक्रिया सकिन अलि समय लाग्ने देखिए पछि पूर्ण दाइ नेतृत्वको हाम्रो टोली मूल मन्दिर परतिरको कुटीतिर लाग्यौं। दाइ अघिअघि, म र आशिष लगायतको जाइन टोली पछिपछि।
कुटीमा एक महाराज बस्दा रै’छन्। उनले आफ्नो कुटीमा स्वागत गर्दै हामी सबैलाई खरानीको टीकाले आशीर्वाद टक्य्राए। पूर्ण दाइ बस्नुभो, हामीले उहाँको सिको गर्यौं। उहाँ महाराजसँग वार्तालाप गर्न थाल्नुभो, हामी बबुरा जाइन कान ठाडा पार्दै वरिपरि बस्यौं।
कुराले कुरा ल्यायो, महाराजले छायाशिला उर्फ छायाढुंगाको कुरा झिके। ‘ऊ त्याँ तलपट्टि भित्तामा तपाईंहरू एउटा शिला देख्न सक्नुहुन्छ। त्यसमा चाइने उहिले उहिले आफ्नो हराएको चिज कहाँ छ भनेर हेर्न सकिन्थ्यो रे ! तर एउटा घटनापछि भने त्यसमा सिर्फ प्रतिविम्ब मात्र देखिन थालेको हो।’
मेरा लामा कान उनको कुराले झन् लामा हुन थाले। फुच्चे हात गालामा राखेर म बस् टाँऽऽ पर्दै महाराजको कथा सुनिरहेँ।
कथासार
परापूर्वकालको कुरा। एउटा किसान असारे खेतीपातीको चटारोमा एक हल बल्ल (गोरु) र हलो–ज्वालीको मद्दतले खेत जोतिरहेको हुन्छ। एक त कालो सिमसार भूमि, त्यसमाथि असारे झरीका कारण बल्ल (गोरु) र मान्छे दुवै आधा डुब्दै जसोतसो खेत जोतिरहेका हुन्छन्। गोरुलाई एकपल्ट भास्सिएका खुट्टा फेरि माथि तान्न हम्मेहम्मे परिरहेको हुन्छ।
अचानक हलोज्वाली सँगै दुवै बल्ल, मानौं सारा जमिन नै भास्सिएझैं त्यो सिमे खेतमा स्वाट्टै डुब्न पुग्छन्। धन्न सुकुटे जीउको किसान भने जसोतसो बच्न सफल हुन्छ। त्यतिन्जेलसम्म वरपर खेतमा काम गरिरहेका किसान पनि जम्मा भइसकेका हुन्छन्। सबै चकित कम चिन्तित बढी हुन पुग्छन्। खेतीपातीको समयमा नै ‘जोडी बल्ल’ यसरी अलौकिक अन्दाजमा हराएको हुँदा उसमा तनावको पारोमिटरले सीमा नाघ्छ। त्यसमाथि ती केवल बल्ल मात्र कहाँ थिए र, वर्षौंदेखि परिवारका सदस्यझैं पालेको थियो उसले तिनलाई। तिर्से र धौलेको बेपत्ताले किसानको निद हराम पारिदिन्छ।
यस्तैमा एक दिन एउटा बुराबाट उसले छायाशीलाको बारेमा सुन्छ— स्वस्थानीमा समेत उल्लेख गरिएको छायाक्षेत्रमा एउटा शीला छ, त्यसमा तिमीले सच्चा मनले पुकारा गर्यौ भने तिम्रो हराएको चिज कहाँ छ, ठ्याक्कै भेट्ने छौ।
भन्नेलाई फूलको माला र सुन्नेलाई सुनको मालाको सुविधा भएका यी वैकुण्ठवासी कथा भन्ने बेला खुरुखुरु त आउँछन् तर केही थप परिमार्जनसहित। फलतः युगैपिच्छे यी नयाँ नौला ताजुबका बन्दै जान्छन्।
बुराले भनेबमोजिम उसले छायाशिलामा गई हेर्दा जमिनमा भास्सिएका आफ्ना बल्ल बुलबुले तालनजिकैको एउटा किसान घरमा प्रकट भई जोत्दै गरेको अवस्थामा देख्छ। ऊ तुरुन्तै त्यहाँबाट हिँड्छ र गाउँका केही मान्छे लिएर बल्ल ल्याउन किसानको घर पुग्छ। त्यहाँ पुगेर वृत्तान्त बताउँदै उसले ती बल्ल आफ्ना हुन् भन्दै हडपेर आफ्नै घरमा ल्याउँछ।
उता अर्को किसानले भने छायाशिलाप्रति रिसले चुर भएर मरेको सिंहको सपेट्टाले छायाशिलामा लपट्ट पारी फ्याल्दिन्छ। आफूले सित्तैमा पाएका बल्ल गुमाइदिएको आवेगमा उसले शिलालाई पत्थरले हिर्काउँदै नानाभाँती गाली गर्न थाल्छ। उसको यो अमर्यादित व्यवहारका कारण तत्काल
प्राकृतिक प्रकोप आई शिला चिराचिरा फुटेर २०० मिटर जति तल सर्न पुग्छ।
र त्यही घटनादेखि शिलामा हराएको चिज देखिन छोड्यो। सिंहको सपेट्टा प्रतीत हुने रातो लाइन भएको छायाशिलामा अचेल केवल पारितिरका जमिन, वनजंगल मात्रै देखिने
गरेका छन्।
दिदीको बिहेले रुन्चे बनेको म, महाराजको कथाले भस्मे चकित हुन पुगेँ। बिहेपछि घरमा आउने बित्तिकै मैले वृत्तान्त आमालाई सुनाइहालेँ। उहाँले कथामा थप परिकार मिसाइदिनुभो ः
‘ओई टोग्या ! तिनी भास्या भन्या एक हल बल्ल त यहीँ तल कालासीममा त हो क्यार। तेरा बाले भन्याउ सुनेइ हुँ मैले, त्याँ तल एउटा खेत उहिल्यैदेखि बाँझो छ तो, देख्याउँछस् ? हो, त्यसमै त हो गरे हलोसँगका बल्ल भास्सिएको। हामची तबदेखि त्यो खेतमा खेतीपाती गर्न छोडेका हुन् अरे ! तर तैंले सुनाउ अरू कथा भने मैले सुनेइ थिइनँ तै।’
आमाका कुरा सुन्नेबित्तिकै म घर तलको कालासीममा दौडिहालेँ। चारैतिर धान झुलेका खेतहरूको बीचमा रहेको घाँसे बाँझो जमिन।
यी कथा हाम्रा कथ्य इतिहास हुन्। लेखिएका र देखिएका कुरा मात्रै सत्य लाग्ने हामीलाई यी केही अजिबका लाग्न सक्लान्। परन्तु यी हाम्रा पुर्खाका सुन्दर फिक्सन हुन्।
भन्नेलाई फूलको माला र सुन्नेलाई सुनको मालाको सुविधा भएका यी वैकुण्ठवासी कथा भन्ने बेला खुरुखुरु त आउँछन् तर केही थप परिमार्जनसहित। फलतः युगैपिच्छे यी नयाँ नौला ताजुबका बन्दै जान्छन्।
@Tirthu_rkP चपए सिभिल इन्जिनियरिङ (चौथो वर्ष) पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत।
(श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ। घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने–दिने’ जुन चलन थियो, त्यो झन्डै लोप हुँदो छ। लोकवार्ताका विभिन्न रूप हाम्रा मौलिक पहिचान हुन्। लोककथा, दन्त्यकथा, किंवदन्तीहरू तत्कालीन समाज हेर्ने आँखीझ्याल हुन्। हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छाप्नेछौँ। यस्ता कथामा जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक अनेक विभेद पनि झल्किन सक्छन्, अन्धविश्वास पनि प्रस्तुत हुन सक्छ। ‘पलिटिकल करेक्ट’ हुने नाममा हामी यिनलाई संशोधन गर्ने छैनौँ, किनभने यिनका आधारमा हामीले हाम्रो समाजको अवलोकन–विवेचन गर्ने हो। सच्चिने हो, न कि यिनैलाई सच्याएर छाप्ने। यहाँहरू पनि आफ्नो क्षेत्रका, समुदायका, पाका पिँढीका लोककथा–मिथहरू संकलन गरी पठाउन सक्नुहुन्छ।)