कुरी र जिरी
कुरी पुग्दा झमक्कै साँझ परिसकेको थियो। बजारसँगै डाँडैभरि हिउँ पनि देखियो। होचोमा भएको कुरी बजारभन्दा अँगालोमा हिउँ बेरेका डाँडा हाम्रा लागि प्यारा भए। यता, उता, जता हेरे पनि हिउँ। हिउँ नै हिउँको संसारमा प्रवेश गर्दाको स्वर्गीय आनन्द मेरा लागि पहिलो थियो। तस्बिर र भिडियोमा देखेको हिउँ बिल्कुलै पृथक् लागिरहेको थियो आज। अत्रीजीले मलाई छोडिदिइन्। सम्भवतः हिउँ मभन्दा प्यारो भयो उनलाई। म भने उनैसँग जीवन साटेको दिन सम्झिरहेको थिएँ।
१७ वर्षअघि फागुन २९ गते सहयात्री बनाएर पाँचथरको फिदिमबाट झापाको गौरादह झर्दै थियौं। बाटोमा हिउँ परेको रहेछ। जन्तीले गाडी रोकेर खेल्न थालेपछि मेरो मन पनि बेहुलोको स्वरूपबाट बाहिरिएको थियो। पहिलो पटक हिउँको स्पर्श आफ्नै बिहेले जुराएको थियो। त्यहाँ हिउँले एकअर्कामा हानाहान गरेको याद ताजा बनेर आयो। त्यो खुसीभित्र गहिरो पीडा मनभरि बोकेर म उनै बेहुली अत्रीसँग झापा झरेको थिएँ। म चाहन्थेँ, बेहुली पनि म बेहुलोसँगै हिउँ खेलिदिएको भए हुने। तर न उनी गाडीबाट झरिन्, न त मैले बोलाएँ। सँगै हिउँमा रमाउन १७ वसन्त पर्खनुपर्ने रहेछ, त्यति बेला मलाई यो के थाहा ?
अचानक झसंग भएँ, जब अत्रीजीले मलाई हिउँले हिर्काइन्। कुरीछेउका डाँडापाखाभरि सुतेको हिउँको संसारले यसरी स्वागत गर्यो कि हामी पनि उसमाथि लडिबुडी नगरी रहनै सकेनौं। झमक्क साँझ पर्दाको अँध्यारोलाई हिउँको सेताम्मे संसारले चुनौती दिइरहेको थियो। कुरी आउने सयौं हामीजस्तै रमाइरहेका थिए। उनीहरूको खुसी र चिच्याहटले हामीलाई हिउँमा खेल्न झन् धेरै हुटहुटी
कुरीको हिउँका लागि हामी गन्तीमा थिएनौं सायद। हामीजस्ता पात्र हजारौं भेट्टाएर होला, उसले स्वागतको मुस्कानबाहेक केही दिएन तर हाम्रा लागि ऊ विशेष थियो। उसलाई सदाका लागि फोटो र भिडियोमा कैद गर्यौं। क्षणभरमै हामीलाई हिउँको ठिहीले काबु बनाइसकेको थियो। चिसोले हात कक्रक्क बनाइदियो। दस मिनेटमै ऊसँग रमाउने वर्षौंको इच्छा र उमंग हिउँजस्तै सेलाइसकेको थियो। तर... तर डाँडैभरि लम्पसार सुतेको हिउँको ‘हुंकार’ भने उस्तै थियो।
कुरीको गन्तव्य हामी दुवैको पहिलो थियो। दोलखाका अन्नपूर्णकर्मी रवीन्द्र गौतमले होटल टासिदेले बुक भइसकेको छ भनेपछि ढुक्क थियौं। हिउँलाई डाँडापाखाले जसरी मनभरि सजाएर कुरी बजारतिर लम्कियौं। नीला टिन र काठले सजाएका चुच्चा परेका होटलहरूको लर्कोले कुरीलाई साँच्चै तरुनो बनाएको रहेछ। वरिपरि डाँडा तल थपक्क बसेको कुरी बजार। जता हेरे पनि हिउँको गहना लगाएको कुरी देखेपछि लाग्यो— यसको चुरीफुरी त्यसै जागेको होइन रहेछ। कालिञ्चोकको दर्शनका लागि आउने सबैलाई स्वागत गर्ने कुरी, कम होस् पनि कसरी ?
यात्राको मुख्य गन्तव्य कालिञ्चोक। भोलि सबेरै त्यसतर्फ लाग्नु छ। सञ्चारकर्मीको नाताले सम्बन्धित ठाउँबारेको गहन बुझाइ आवश्यक थियो। सुनेका सबै कुरा सही नहुन सक्छन्। ‘शंकालु, पत्रकारको अर्को नाम’ भएकाले आधिकारिकताको खोजी गर्ने क्रममा टासिदेले होटलकै मालिक सोनम शेर्पाले प्लास्टिक लेमिनेसन गरेको पृष्ठ निकाले। कालिञ्चोक देवी भगवतीको विशेष पूजाआजा र जात्रापर्व भने वैशाख पूर्णिमा, जनै पूर्णिमा, कात्तिक पूर्णिमा र दसैंको नवरात्रभर लाग्ने र त्यस बेला अत्यन्तै भक्तजनको भीड हुने रहेछ। यसबाहेक मंगलबार, बिहीबार र शनिबार बढी आउने स्थानीयवासीको भनाइ छ। हुन त देवीथान पुग्न कुनै बार र दिनविशेष नै चाहिँदैन।
जति माथि उक्लिँदै गयो कुरी र आसपासका डाँडाको दृश्य उति नै मनमोहक र लोभलाग्दा देखिए।
होटलबाट उकालो लाग्नेबित्तिकै केबुलकार चढ्नेको लाम बाटैसम्म आइपुगेको थियो। परीक्षणकै क्रममा थियो त्यो कार। पाँच मिनेटको कारको यात्रालाई पाँच सय तिर्नुपर्ने रहेछ। मनकामना, चन्द्रागिरि, भारतको उडनखटोला, सिंगापुरको सेन्तोसा सबैमा आकाशे कारको मजा लिइसकेको र स्वास्थ्यका दृष्टिले पहाडी उकालो हिँड्नुको स्वादका कारण हामीले ठाडो त्यो उकालोलाई रोज्यौं। जति माथि उक्लिँदै गयो कुरी र आसपासका डाँडाको दृश्य उति नै मनमोहक र लोभलाग्दा देखिए। ती दृश्यले उकालोको पीडा बिर्साए। थाहै नपाई एक घण्टामै देवीथान पुगिएछ।
दोलखा सदरमुकाम चरीकोटदेखि कालिञ्चोक १५ किलोमिटर उत्तरमा ३८४२ मिटर उचाइमा रहेछ। पहाडको टुप्पोमा अवस्थित कालिञ्चोकको परिवेश आफैंमा मनमोहक छ नै, त्योभन्दा बढी आसपासका डाँडा र हिउँ। आँखा नझिम्क्याई हेरिरहूँजस्तो लाग्यो चारैतिर।
पूर्वतर्फ गौरीशंकर हिमाल देख्दा काखमै पुगेको अनुभूति। यी सबैले कताकता मनभरि काउकुती लगाइरहेको थियो। गुठी संस्थानले मूल पुजारीका रूपमा खटाएका धादिङका शान्तप्रसाद बसौला भेटिए। उनका अनुसार गौरीशंकर शिवपार्वतीकै रूप हुन्।
‘गौरीशंकरमा घाम झुल्किएपछि नेपाली समय प्रमाणीकरण भएको रे’, उनले थपे, ‘कालिञ्चोकमा आइपुग्नु ठूलै अहोभाग्य हो, जंगबहादुर राणा र पृथ्वीनारायण शाहले चढाएका घण्टा, ताम्रपत्र र शिलालेख यहाँ छन् जुन १७५ वर्ष (१९६६ साल) मा चढाइएका हुन्।’
महासरस्वती, महालक्ष्मी र महाकालीकी दिदी रहिछन् काली। शिवपार्वतीले तपस्या गरेको ठाउँ जति बेला एक सय थुम्का भएकाले शैलुंगेश्वर भनिएको बसौला बताउँछन्। त्यही बस्तीमा राक्षसहरूको बस्ती थियो। घुम्दै जाँदा तिनले सुन्दर युवती देखे। राक्षसले भने, ‘हे सुन्दरी, धनवान्, रूपवान् र बलवान् हाम्रा राजाकी अर्धांगिनी छैनन्, त्यसैले तपार्इं रानी बन्दिनु पर्यो।’ युवतीले भनिन्, ‘हुन्छ, तर उसले मलाई युद्धमा जित्नुपर्छ।’ शुम्भ निशुम्भले पक्रेर ल्याउन आदेश दिए। सोही क्रममा युद्ध भयो। राक्षसहरू काटिए, मारिए। रगत बगेर कुरीमा जम्मा भयो। कीरा परे। पछि शब्द अप्रभंश भएर कुरी भयो। त्यसैले अहिले पनि कुरीमा कुनै अन्नबाली हुँदैन। पुजारीको भनाइ र त्यो पृष्ठमा यही सन्दर्भ छ।
देवी थान पुग्ने बेला १९ खुटकले फलामको सिँढी छ। कारण त्यो पहाडलाई बीचमा चिरिएको छ। बसौला यसको अर्थ पापी मन (दुष्ट आत्मा) कालिञ्चोक भगवतीसामु नआइपुगून् भन्ने रहेको बताउँछन्। यहाँ एउटा कुण्ड छ। यो तामाकोसी र सुनकोसीको उद्गम भएको उनको भनाइ छ। दक्षिण–पश्चिम भएर सुनकोसी र पूर्व–दक्षिण भएर तामाकोसी बग्छन्। अचम्म रहेछ, त्यो कुण्डमा जति पानी परे पनि भरिएर नपोखिने अनि जति सुक्खा लागे पनि नसुक्ने। विश्वामित्र ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको तपोभूमि कालिञ्चोक भन्ने बुझेपछि मलाई गौरव लाग्यो। बलि दिने प्रचलन रहेछ तर मूल पुजारीले तर्क र मान्यतासहित कालीलाई बलिको आवश्यकता नरहेको जानकारी गराए। मन्दिरमा भेटीघाटीका समस्याबारे अन्नपूर्ण पोस्माला दर्जनौं समाचार लेखेको मलाई अत्यन्तै खुसी लागेको विषय यहाँ भने पारदर्शी रहेछ। गुठी संस्थानलाई गाउँपालिकामार्फत वार्षिक साढे चार लाख मन्दिर व्यवस्थापनले दिने नियम रहेछ।
धेरै नेताले भाषणमा बोलिरहने शब्द हो, स्विट्जरल्यान्ड। नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भने पनि हुन सकेको छैन। अधिकांश नेपालीलाई न्यूनतम आवश्यकताभन्दा माथि उठ्न हम्मे परिरहेकै छ। जे होस्, दोलखाको जिरीलाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेको सुनेको दशकौं भए पनि पुग्ने अवसर जुरेकै थिएन।
बिनाजुर यात्रा हुन्न रहेछ भन्ने दृष्टान्त सुरुमै पुष्टि गरिसकेँ। कर्णालीका कुना (से–फोक्सुन्डो)सम्म पुगेको मलाई दुई सय किलोमिटर पुग्न बल्ल जुर आएको थियो। कालिञ्चोकपछि चरीकोटको भीमसेनको दर्शन र पूजाआजा गर्नुपर्छ भन्ने मान्यता पूरा गरेपछि हामी जिरीतर्फ लम्कियौं।
यात्रा–शैली आ–आफ्नै हुन्छन्। मलाई मोटरसाइकलको जति रमाइलो यात्रा अरू लाग्दैन, मनमौजी। हिजो दिनभर र आज आधा दिन एक्लो ड्राइभर बनेको मैले अझै ५६ किलोमिटर कसरी पुर्याऊँला र भोलि फेरि जिरीदेखि काठमाडौं दिनभर दौडाउनु थियो नै। अत्रीजीको आँट हराए पनि मेरो जोशजाँगर कायमै थियो।
हुन पनि दुवै मन्दिरमा दर्शन र पूजा सकेर खाइसक्दा पौने ३ बजाइसकेको थियो चरीकोटले। १३ वर्षअघि तस्बिरमा नेपालको स्विट्जरल्यान्ड दोलखाको जिरी भनेर देखेपछि लागेको हुटहुटी सेलाउनु थियो। आज समय मिलेन फेरि जाऊँला भनेका कैयौं ठाउँ त्यसै थन्किने यथार्थको डर थियो।